विश्वकपमा गोल वर्षाः स्पेनले कोस्टारिकाको पोष्टमा ठोक्यो ७ गोल – Janadesh Daily | ePaper

विश्वकपमा गोल वर्षाः स्पेनले कोस्टारिकाको पोष्टमा ठोक्यो ७ गोल


जनादेश स्पोर्ट्स वाच।
पूर्वविश्व विजेता स्पेनले कतारमा जारी विश्वकपको सुरुवात उत्कृष्ट ढंगले गरेको छ। उसले समूह ‘इ’ अन्तर्गत पहिलो खेलमा कोस्टारिकालाई ७–० को विशाल गोलअन्तरले पराजित गरेको छ। जारी विश्वकपमा अहिलेसम्म कुनै टिमले विपक्षी टोलीविरूद्ध गरेको यो पहिलो फराकिलो गोल अन्तर हो। स्पेनले पनि पहिलो पल्ट कुनै टोलीलाई यति ठूलो अन्तरले पराजित गरेको हो।

स्पेनको जितमा युवा स्ट्राइकर फेरान टोरेसले २, डानी ओमो, मार्को असेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले १/१ गोल गरे। पहिलो हाफको ३१ मिनेटमा पेनाल्टीबाट गोल गरेका टोरेसले दोस्रो हाफको ५४ मिनेटमा अर्को गोल थपेका थिए।

स्पेनले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो। उसले दोस्रो हाफमा ४ गोल थप्यो। स्पेनका लागि डानी ओमोले ११ मिनेटमा सुरुवाती सफलता दिलाएका थिए।

दोस्रो गोल मार्को असेन्सियोले गरे। तेस्रो र चौथो गोल टोरेसको नाममा रहयो। १८ वर्षको उमेरमा विश्वकपमा डेब्यु गरेका गाभीले ७४ मिनेटमा गोल गरे। उनी विश्वकपमा कम उमेरमा गोल गर्ने तेस्रो युवा खेलाडी बन्न पुगेका छन्। उनले बुधबार राती स्पेनलाई पाँचौ गोलको सफलता दिलाउने क्रममा १८ वर्ष ११० दिनमा गोल गरेका थिए।

यसअघि विश्वकपमा ब्राजिलका पेलेले १७ वर्ष २४९ दिनमा गोल गरेका थिए। मानुअल रोसासले पनि १८ वर्ष ९९ दिनमा गोल गरेका थिए। स्पेनका लागि कार्लोस सोलेरले ९० मिनेटमा र मोराटाले निर्धारित ९० मिनेटपछि थप भएको दोस्रो मिनेटमा गोल गरे।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्