एमालेमा एकताविरोधीहरू पराजित, ओलीको किचन क्याबिनेटको विघटन – Janadesh Daily | ePaper

एमालेमा एकताविरोधीहरू पराजित, ओलीको किचन क्याबिनेटको विघटन


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको किचन क्याबिनेटका आधा दर्जन नेता पराजित भएका छन् । अध्यक्ष ओलीको उत्तराधिकारी मानिएका महासचिव शंकर पोखरेलसमेत पराजित भएका छन् ।

माओवादी केन्द्रकी नेतृ रेखा शर्माले झिनो मतान्तरले शंकरलाई पराजित गरेकी छिन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं ५ मा पराजित भएका छन् । कांग्रेस युवा नेता प्रदीप पौडेलसँग पराजित भएका पोखरेल नेकपाकालमा अध्यक्ष ओलीको कडा समर्थक बनेका थिए ।

त्यहीबेला विश्वासमा परेका पोखरेल चितवन महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष भएका थिए । त्यही महाधिवेशनमा ओलीको उत्तराधिकारीको रूपमा महासचिवमा शंकर पोखरेललाई अगाडि सारिएको थियो । त्यसैगरी, एमालेका नेता महेश बस्नेत पनि भक्तपुर २ मा कांग्रेस नेता दुर्लभ थापासँग पराजित भएका छन् । ओलीको किचन क्याबिनेटमा रहेका बस्नेत भक्तपुरमा निकै बलियो उम्मेदवार मानिन्थे ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार रहेका राजन भट्टराई पनि पराजित भएका छन् । काठमाडौं ४ मा गगन थापासँग भट्टराई दोस्रोपटक पराजित भएका छन् । त्यसैगरी, ओलीले विश्वासमा लिएका भानुभक्त ढकाल पनि पराजित हुने निश्चित भएको छ । मोरङ ३ मा ढकाललाई कांग्रेसका सुनिल शर्माले भारी मतान्तरसहित पछि पारेका छन् ।

यता, ओलीले नेताको रूपमा स्थापित गर्न खोजेका अग्नि खरेल पनि पराजित भएका छन् । प्रधानमन्त्री हुँदा ओलीको सल्लाहकार बनेका खरेलले झापा २ मा टिकट नपाउने स्थितिमा पुगेपछि क्षेत्र फेरेर झापा १ मा लगिएको थियो । त्यसरी स्थापित गराउन खोजेका खरेल पनि कांग्रेस नेता महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भएका छन् । ओलीको किचन क्याबिनेटमै रहने युवा नेता ऐन महर पनि पराजित भएका छन् । भोजपुरमा शेरधन राई र विशाल भट्टराई अहिलेसम्म पछाडि परेका छन् ।

मुख्यमन्त्री छँदा लुम्बिनी प्रदेशको राजधानी बुटबलबाट दाङ सार्न सफलता प्राप्त गरेकाले पनि एमालेको आन्तरिक राजनीतिमा पौडेलविरुद्ध पोखरेल निर्णायक रूपमा हावी भएको विश्लेषण गर्न थालिएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग हार्दिक सम्बन्ध बनाएका कारण पौडेलको विकल्पमा ओलीले पोखरेललाई अघि बढाएको हुनसक्ने विश्लेषण एमाले पंक्तिभित्र हुने गरेको छ।

तर, लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेका पोखरेल आम निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रमा माओवादी नेतृ रेखा शर्मासँग हारेका हुन्। आफ्नै निर्वाचन क्षेत्रका मतदाताको विश्वास जित्न नसकेका पोखरेल कसरी ओलीको उत्तराधिकारी बन्न सक्छन् भन्ने प्रश्न अब एमालेभित्र उठ्न सक्छ।

महासचिव पोखरेल आफू मात्र हारेका छैनन्, पछिल्लो समय उनले अघि सारेको राजनीतिक मान्यताको समेत यो निर्वाचनमा पराजय भएको छ। एमालेको मार्ग निर्देशक सिद्धान्त ‘जबज’ले बहुदलीय प्रतिस्पर्धाको वकालत गरे पनि नेकपा विभाजनयता पोखरेलले ‘दुई दलीय व्यवस्था’ वकालत गर्न थालेका थिए।

महासचिव पोखरेलको यस्तो वकालतका कारण उनलाई एमालेभित्रै ‘जनताको बहुदलीय जनवादका व्याख्याता’ होइन, ‘दुई दलीय जनवादका वकालतकर्ता’ भन्न थालिएको थियो। उनको मान्यता ‘दक्षिणपन्थी–उदारवादी’ धारको नेतृत्वकर्ता नेपाली कांग्रेस र वामपन्थी धारको नेतृत्वकर्ता एमाले गरी नेपालमा दुई राजनीतिक दलको मात्रै अस्तित्वमा रहनुपर्छ भन्ने थियो।

यही मान्यताका आधारमा उनले स्थानीय तह निर्वाचन–२०७९ पछि नेपालको राजनीति विस्तारै यिनै दुई दलतर्फ धु्रवीकृत हुने र अरु पार्टी लोप हुँदै जाने विश्लेषण गरेका थिए। उनको विश्लेषणलाई पछ्याउँदै एमाले अध्यक्ष ओलीले पनि यो निर्वाचनपछि नेपालको राजनीति नेपाली कांग्रेस र एमालेतर्फ धु्रवीकृत हुने र अन्य शक्तिहरु लोप भएर जाने जाने दाबी गरेका थिए।

पोखरेलको दाबी स्थानीय तह निर्वाचन परिणामले नै असत्य साबित गरेको थियो। तर, असत्य भइसकेको यस्तो दाबी त्यसयता अध्यक्ष ओली र महासचिव पोखरेल दुवैले दोहोर्याइरहेका थिए। माओवादीलगायत साना दलको औचित्यमाथि प्रश्न उठाउँदै शंकर पोखरेलले बलियो राष्ट्रिय शक्तिको वकालत गरेका थिए । चुनावअघि यो पंक्तिकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘माओवादीको औचित्य छैन। यो कांग्रेसको सहयोगी मात्रै हो, पार्टी होइन । देश अब कांग्रेस र एमाले रहेको दुई दलीय प्रणालीमा जानुपर्छ ।’

माओवादीको औचित्यमाथि प्रश्न उठाउँदै उदाएका पोखरेल माओवादीकै उम्मेदवार रेखा शर्मासँग पराजित हुन पुगेका छन् । विश्लेषकको विचारमा एमालेका दुई वरिष्ठ नेताहरु ईश्वर पोखरेल र शंकर पोखरेलको पराजयले एमाले र माओवादीबीच सहकार्य हुनुपर्छ भन्ने मत राख्नेहरुको औचित्य फेरि स्थापित हुने ढोका खोलिदिने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्