फुटबल महाकुम्भः को को छन् यस पटक गोल्डेन बुटका दाबेदार, १२ खेलपछिको प्रक्षेपण – Janadesh Daily | ePaper

फुटबल महाकुम्भः को को छन् यस पटक गोल्डेन बुटका दाबेदार, १२ खेलपछिको प्रक्षेपण


जनादेश स्पोर्ट्स।
कतारमा जारी फिफा विश्वकपमा समूह चरणअन्तर्गत सुरुआती खेल भइरहेका छन््। समूह चरणमा ए, बी, सी, डी र ईका पहिलो खेल सकिएका छन् भने एफ र जी समूहको सुरुआती खेल आज हुँदै छन्। पहिलो चरणको १२ खेलमध्ये दुई खेलमा ठूला नतिजा देखिएका छन्। चार खेलमै १४ गोल भइसकेको विश्वकपमा १२ खेल सकिँदा ३३ गोल भइसकेका छन्। विश्वकपमा गोल गरेर जित निकाल्ने टिमसँगै गोल गर्ने खेलाडीको पनि धेरै चर्चा हुन्छ। हरेक विश्पकपमा उपाधिसँगै गोल्डेन बुटको व्यक्तिगत अवार्डलाई पनि महत्त्वपूर्ण उपाधिका रूपमा लिइन्छ। त्यसैले समूह चरणको सुरुबाटै गोल्डेन बुटको रेससमेत सुरु भएको छ।

विश्वकपमा अझै ५२ खेल बाँकी छन्। धेरै गोल हुन बाँकी छन्। १२ खेल सकिँदासम्म कुनै पनि खेलाडीले ह्याट्रिक गर्न सकेका छैनन्। आउँदा खेलमा त्यो पनि देखिएला। अहिले नै गोल्डेन जित्ने सक्ने खेलाडीको अनुमान गर्ने समय भइसकेको छैन। यद्यपि खेलाडीको प्रदर्शन हरेर दावेदार अनुमान लगाउन सकिने अवस्था बन्दै गएको छ। अहिलेसम्म २८ खेलाडीले गोल गरिसकेका छन्। त्यसमध्ये पनि ५ खेलाडीले दोहोरो गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी सुरु गरिसकेका छन्। दोहोरो गोल गर्नेमध्ये दुई युवा खेलाडी हुन्। त्यस्तै, धेरै खेलाडीले गरेको गोल अफसाइड भएको छ।

अघिल्लो विश्वकपमा ६ गोल गरेका ह्यारी केनले गोल्डेन बुट जितेका थिए। यो वर्ष उनी पनि गोल्डेन बुटका मुख्य दावेदारमध्ये एक हुन्। तर पहिलो खेलमा केनले गोल गर्न सकेनन्। अघिल्लो संस्करणमा ५ गोल गरेका एम्बाप्पेले फ्रान्सलाई उपाधि दिलाएका थिए। उनी यो वर्ष पनि उत्तिकै फर्ममा छन् र एक गोल गरिसकेका छन्। उनीसँगै क्रिस्टियानो रोनाल्डो, नेयमार, भिनिसियस जुनियर, रोबर्ट लेवान्डोस्की (पेनाल्टी मिस गरिसकेका), मेन्फिस डिपाय, मेहेदी तारेमी, इनर भ्यालेन्सियालगायत खेलाडी गोल्डेन बुटको रेसमा देखिएका थिए। यसैभित्र रहेका छन्, एक गोल गरिसकेका अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी पनि।

त्यसमा अहिले थपिएका छन्, ओलिभिए जिरु र फरान टोरेस। कोस्टारिकाविरुद्ध ७–० को जित निकाल्ने क्रममा फरानले दुई गोल गरेका थिए। यो जितसँगै स्पेनले चर्चा कमाएको छ। त्यसैगरी विश्वकपमा धेरै गोल गर्न सक्ने सम्भावित खेलाडी देखिने क्रम चहिलरहेको छ। २–० ले हराउने क्रममा भ्यालेन्सियाले कतारी मैदानमै घरेलु टिमविरुद्ध दुई गोल गरे। पहिलो गोललाई भीएआरको मद्दतले रेफ्रीले अफ साइड बताएको चार मिनेटमै उनले कतारविरुद्ध अर्को गोल गरेका थिए। बेस्ट ह्याम र एभर्टनका पूर्वखेलाडी भ्यालेन्सिया ह्याट्रिक गर्नबाट चुकेका थिए।

कतार विश्वकपमा हालसम्म २८ खेलाडीले गोल गरिसकेका छन्। त्यसमध्ये ५ खेलाडीले दोहोरो गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।
त्यस्तै, दोस्रो खेलमा इंग्ल्यान्डले इरानलाई हराउने क्रममा २१ वर्षीय बुकायो साकाले पनि दुई गोल गरे। इंग्ल्यान्डले एकपक्षीय पारेको खेलमा साकाले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए। साका इंग्लिस क्लब आर्सनलका खेलाडी हुन्, जसबाट उनले प्रिमियर लिगमा चार गोलसँगै १४ खेलमा ६ एसिस्ट गरिसकेका छन्।

युरोकप फाइनलमा पेनाल्टी मिस गरेपछि उनलाई सबैले आलोचना गरेका थिए। तर उनले विश्वकपमा सानदार सुरुआत गरे। यो वर्ष आर्सनलले उनलाई गोल्डेन बुटको प्रबल दावेदार बनाइसकेको छ। इंग्ल्यान्डविरुद्धको खेलमा इरानका मेहेदी तारेमीले दुई गोल नै फर्काएका छन्। त्यो दुई गोलसँगै तारेमी पनि गोल्डने बुटको रेसमा होमिए। पोर्चुगलमा पहिले रियो एभ र अहिले पोर्टोमा खेलिरहेका उनले इंग्ल्यान्डविरुद्ध आफूलाई सावित गरे। च्याम्पियन्स लिगमा पनि चम्किएका तारेमीले इरानलाई राम्रो स्थानमा पु¥याउन सक्नछन् भन्ने विश्वास गरिएको छ।

त्यस्तै, अस्ट्रेलियालाई ४–१ ले हराउँदा ओलिभिए जिरुले पनि दुई गोल गरेका थिए। उनको गोलसँगै साविक विजेता फ्रान्स लगातार तीन पटक विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा होमिएको कुरालाई सार्थक बनाएको छ। यीबाहेक २३ खेलाडीले विश्वकपमा एक–एक गोल गरेका छन्। नेदरल्यान्ड्सका डाबी क्लासिन र कोडी गाक्पोले समान १–१ गोल गरेका छन्। राम्रो लयमा रहेको भनिएको नेदरल्यान्ड्स अघि बढ्न सके यी खेलाडीले गोल्डेन बुट जित्ने अवसर रहन्छ।

इंग्ल्यान्डका हाई रेटेड खेलाडी ज्यान ग्रिलिससँगै मार्कस रासफर्ड, जुड बेलिङ्घम र रहिम स्टार्लिङले गोल गरेका छन्। अमेरिकाका टिमोथी वेह र वेल्सका ग्यारेथ बेलले पनि समान १–१ गोल गरेका छन्। एक–एक गोल गर्नेमा स्पेनका मार्को एसेन्सियो, ड्यानी ओल्मो, कार्लोस सोलार, पावलो गाभी र अल्भेरो मोराटा, बेल्जियमका मिची बत्सुई, साउदीका सलेह अल–शेहिरी र सलिम अल दावासरी, अस्ट्रेलियाका क्रेग गुडविन, फ्रान्सका रोबाइट, जापानाका असानो र रित्सु दोआनसँगै जर्मनीका इल्केय गुन्डोगन पनि छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्