रेखा शर्मा युद्धको मोर्चादेखि संसदसम्मः जसले जोगाइन् दाङमा पार्टीको इज्जत र महराको विरासत – Janadesh Daily | ePaper

रेखा शर्मा युद्धको मोर्चादेखि संसदसम्मः जसले जोगाइन् दाङमा पार्टीको इज्जत र महराको विरासत


जनादेश वाच।
दाङकाे तीनवटै प्रतिनिधि सभा र छ प्रदेश सभाकाे मत परिणाम सार्वजनिक भएको छ । यस पटककाे निर्वाचनमा जिल्लामा गठबन्धन फापेकाे छ । स्थानीय तह निर्वाचनमा दुई उपमहानगरपालिकामा भएको गठबन्धन फेल भएको थियाे । तर, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन फापेकाे हाे ।

गठबन्धनका कारण एमालेले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन । एमाले महासचिव शंकर पाेख्रेल समेत पराजित हुन पुगे । दाङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणी चाैधरी, प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु र प्रदेश सभा २ मा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित भए ।

मेटमणिले एमाले उम्मेदवार शान्ता चाैधरीलाई हराए भने इन्द्रजितले गंगाराम भट्टराई र अनुराग खड्काले कुलबहादुर केसीलाई पराजित गरे । क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका रेखा शर्माले झिनाे मतान्तरले एमाले महासचिव शंकर पाेख्रेललाइ हराइन् । प्रदेश १ मा कांग्रेसका राजु खनाल र प्रदेश २ मा कांग्रेसकै प्रचण्ड न्याैपानेले जिते ।

खनालले एमालेका बलिभद्र रानालाई र न्याैपानेले गिरीराज केसीलाई हराए । क्षेत्र नम्बर ३ मा कांग्रेसका दिपक गिरीले एमालेकी उम्मेदवार काेमल वलिलाइ हराए । गठबन्धनबाट प्रदेश १ मा कांग्रेसका डिल्लीबहादुर चाैधरी प्रदेश २ मा माओवादीका धनबहादुर मास्कीले चुनाव जिते । चाैधरीले एमालेमा घनश्याम पाण्डे र मास्कीले हुकुम बस्नेतलाई पराजित गरेका हुन् ।

युद्धको मोर्चादेखि संसदसम रेखा शर्माको सफलता
दाङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिँदै गर्दा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माका दुई चुनौती थिए, पहिलो, त्यस क्षेत्रमा आफ्नो पार्टीको विरासत जोगाउनु, दोस्रो, हेभिवेट नेतालाई हराएर पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष चुनाव जित्नु।

२०७४ को चुनावमा त्यही क्षेत्रबाट माओवादीका कृष्णबहादुर महराले जितेका थिए। त्यसबेला नेकपा एमाले–नेकपा माओवादी केन्द्र गठबन्धन थियो। तर, यसपटक थियो, प्रतिस्पर्धी दल एमाले र उम्मेदवार थिए–प्रभावशाली महासचिव शंकर पोखरेल ।

यही दबाब र चुनौतीको विश्लेषण गरेकी शर्माले उम्मेदवारी दिएदेखि आफूलाई दाङ २ मै केन्द्रित गरिन्। मतदाताको घरघर पुगिन्। भाषण र ठूला कार्यक्रमभन्दा किसानकै घर आँगनमा देखिइन्। उनीहरुकै सुख दु:ख बुझिरहिन्। ४ मंसिरमा मतदान सकिएलगत्तै रेखाले सुनाएकी थिइन्, ‘मैले जनताको घरघर पुगेर अनावश्यक आश्वासन दिएकी छैन, प्रायः सबै मतदातालाई भेटेर सक्ने काम गर्छु, तपाईँहरुसँग रहन्छु भनेको छु, उहाँहरुको (जनता) माया कति छ, अब व्यालेटबक्सकै भरोसा छ।’

८ मंसिर विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले जनताको न्यानो माया पाइन्। उनी जनतासँग गरेको बाचा कार्यान्वयन गराउने ठाउँमा अर्थात् संसद पुग्न सफल भइन्।
एमालेका प्रभावशाली महासचिव शंकर पोखरेललाई पराजित गर्दै पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष चुनाव जितेकी छन्। शर्माले एमालेको सांगठनिक जनाधार भएको, सांगठनिक शिल्पी भएका र पार्टी संगठन हाक्न सबैभन्दा बढी क्षमता भएका पोखरेलाई हराएकी हुन्। यसअघि २०६४ को पहिलो संविधान सभामा उनी उठिनन्। तर त्यसपछि २०७० र २०७४ मा रेखा समानुपातिक सांसद बनिन्।

२०७२ सालमा सामान्य प्रशासन मन्त्री भएकी उनी सरल जीवनशैली, सांगठनिक कौशल भएकी नेता हुन्। २०२६ साल असोज ९ गते घोराहीको मसिनामा जन्मेकी रेखा २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति थालेकी हुन्। महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उतीर्ण गरेकी रेखा जिल्ला उपाध्यक्ष भइन्। उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन भने, २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य र माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य भइन्। २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष भएर काम गरेकी रेखाले २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र काठमाडौं उपत्यका उपब्युरोको प्रमुखको जिम्मेवारी पाइन।

महिला संगठनको अध्यक्ष भएकै बेला रक्सी विरोधी, दाइजो विरोधी अभियान चलाएकी उनी भाषण र संगठन कला भएकी नेताका रुपमा माओवादीमा चिनिन्छिन्। युद्धको बेला तत्कालीन सरकारले लगाएको संकटकालको बेला २०५८ साल चैतमा उनी काठमाडौंको चाहविलबाट पक्राउ परिन्। २०५९ सालमा सरकार र माओवादीको वार्ता शुरु भएपछि रिहाई भएसँगै उनी पार्टीको नियमित लागिन्। २०७० मा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएकी उनी माओवादीको प्रमुख सचेत पनि भइन्। सामान्य प्रशासनमन्त्री भइसकेका उनी खारिएकी एक कुशल नेताका रुपमा उदाएकी छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्