जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने – Janadesh Daily | ePaper

जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने


बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ ।

सो उद्योग ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो । यसअघि कूल ४४ मेगावाट लिँदै आएकामा अब थप चार मेगावाट लिने जनाइएको छ ।

प्राधिकरणले परवानीपुर १३२ केभी सवस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति दिने छ । थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ । उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।

योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताउनुभयो । “उद्योगले अहिले चार दशमल आठ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोडबमोजिम थप विद्युत् दिन सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिकरुपमा रु २० करोडभन्दा बढी महसुल तिर्ने छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्