इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति: फुटबल स्टार क्रिस्टियानो रोनाल्डो – Janadesh Daily | ePaper

इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति: फुटबल स्टार क्रिस्टियानो रोनाल्डो


काठमाडौँ  । पछिल्ला केही दिनयता पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल र समाचारहरूमा सर्वाधिक छाइरहेका छन् । विश्वकप फुटबल प्रतियोगितामा बिहीबार घानासँगको खेलमा रोनाल्डोले गोल गरेपछि उनको चर्चा अझै चुलिएको छ । पछिल्ला पाँचवटा विश्वकपमा लगातार गोल गर्ने पहिलो खेलाडीका रूपमा उनले कीर्तिमानी कायम गरेको भन्दै प्रशंसकले वाहवाही गरिरहेका छन् ।

घानासँगको खेलअघि उनीबारे आएको अर्को समाचारले पनि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी सिर्जना गरेको थियो । आफ्ना प्रशंसकको मोबाइल फोन भुँइमा फालिदिएको घटनालाई लिएर फुटबल एसोसिएनले बुधबार क्रिस्टियानोलाई कारबाहीको निर्णय सुनाएको थियो । उनलाई ५० हजार पाउन्ड जरिवाना तिराइएको छ भने क्लबबाट खेलिने दुई खेलमा निलम्बन गरिएको एसोसिएनले जनाएको छ । गत अप्रिलमा एभर्टनसँगको खेलपश्चात ग्राउन्डबाट बाहिरिने क्रममा क्रिस्टियानोले आफ्ना एक फ्यानको मोबाइल फोन हातले पन्छ्याउँदा भुँइमा खसेर फुटेको थियो ।

त्यसबारे फुटबल एसोसिएनले अनुसन्धान गरिरहेको थियो । हाल उक्त गतिविधिलाई एसोसिएनले ‘अनुचित तथा उग्र’ आचरणको संज्ञा दिँदै क्रिस्टियानोलाई कारबाही गरेको हो । यसबारे क्रिस्टियानोले त्यतिबेलै माफी मागेर इन्स्टाग्राममा भावुक पोस्ट लेखेका थिए । ‘कठिन समयमा भावनाहरूसँग जुध्न सजिलो हुँदैन,’ उनले लेखेका थिए, ‘आवेशपूर्ण व्यवहारका लागि म क्षमा माग्न चाहन्छु ।’

यस्तै अनेक गतिविधि र विवादका कारण यी भेटरान खेलाडी पछिल्लो समय लगातार समाचारमा छाइरहेका छन् । अघिल्लो हप्ता मात्रै उनले म्यानचेस्टर युनाइटेड क्लब छोड्ने खबरले ठूलै होहल्ला भएको थियो । सम्झौता अवधिभन्दा सात महिनाअघि नै क्लबबाट बाहिरिएका उनले बेलायती पत्रकार पियर्स मोर्गनसँगको अन्तरवार्तामा क्लबबाट ‘धोका’ पाएको बताएका थिए । उनले आपसी सम्झौतामा क्लब छोडेको बताए पनि सामाजिक सञ्जालमा अनेक टिप्काटिप्पणी गरिएको थियो ।

हालै उनको इन्स्टाग्राम खातामा ५० करोड फलोअर पुगेको कुराले पनि समाचारमा ठाउँ पाएको छ । खेल क्षेत्रमा अब्बल मानिएका उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति बन्न सफल भएका छन् । उनीपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएका अर्का व्यक्ति हुन्, लिओनल मेस्सी । यी दुवैले चेस खेल्दै गरेको तस्बीर पनि विश्वकपअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । एनी लेइबोभिचले खिचेको उक्त तस्बीरलाई क्रिस्टयानोको इन्स्टामा मात्रै झण्डै ४ करोडले लाइक गरेका छन् । चेसका गोटीको ठाउँमा चियाको कप, पिज्जा, ट्रफी राखेर अनेक मिम पनि बनाइएका छन् ।

क्रिस्टियानोबारे साना–ठूला सबै घटनाहरू सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गरेका छन् । बिहीबार खेलअघि राष्ट्रगान गाउने क्रममा उनले आँखाबाट आँसु खसालेको भन्दै कतिपय सञ्चार माध्यमले ‘जुम’ गरेर देखाएका थिए । ब्रान्ड भ्यालुका कारण पनि उनी समाचारका विषय बनिरहन्छन् । त्यही भएर यत्रो विश्वकप चलिरहँदा पनि सामाजिक सञ्जाल भने रोनाल्डोमय बनेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्