विश्वकपमा फर्कियो मेस्सीको चमकः मेक्सिकोविरुद्ध अर्जेन्टिनाको जित, मेस्सीको अर्को कीर्तिमान – Janadesh Daily | ePaper

विश्वकपमा फर्कियो मेस्सीको चमकः मेक्सिकोविरुद्ध अर्जेन्टिनाको जित, मेस्सीको अर्को कीर्तिमान


जनादेश स्पोर्ट्स वाच।
अर्जेन्टिनाले विश्वकप फुटबलको समूह ‘सी’ को खेलमा मेक्सिकोलाई पराजित गरेको छ । कतारको लुजेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोविरुद्ध २–० गोलको जित निकालेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गरे ।

अर्जेन्टिनाले पहिलो हाफसम्म मेक्सिकोसँग बराबरी खेलेको थियो । गोल गर्ने केही मौका दुवै टिमले गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा अर्जेन्टिनाले गोल गर्दै जित सुनिश्चित गरेको हो ।

खेलको ६४औँ मिनेटमा कप्तान मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल थप्यो । यो पटक भने इन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए ।

यो जितसँगै अर्जेन्टिनाले विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ । मेक्सिकोविरुद्ध हार ब्यहारेको भए अर्जेन्टिना विश्वकपको समूह चरणबाटै बाहिरिने थियो । तर कप्तान मेस्सी र इन्जो फर्नान्डेजले अर्जेन्टिनालाई बचाएका छन् ।

विश्वकपमा समूह चरणको आफ्नो पहिलो खेलमा नै एसियन राष्ट्र साउदी अरबसँग २–१ गोलको हार ब्यहारेको अर्जेन्टिना ‘गर या मर’ को अवस्थामा आइपुगेको थियो । तर आफ्नो दोस्रो खेलमा जित निकाल्दै अर्जेन्टिनाले विश्वकप फुटबलमा आफ्नो यात्रालाई कायमै राखेको हो ।

दुई खेलबाट तीन अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा उक्लिएको छ । यो समूहमा शीर्ष स्थानमा पोल्यान्ड रहेको छ । पोल्यान्डको दुई खेलबाट चार अंक छ । अब अर्जेन्टिनाले समूह चरणको आफ्नो अन्तिम खेल पोल्यान्डसँग मंसिर १५ गते राति १२ः४५ बजे खेल्नेछ ।

मेस्सीको अर्को रेकर्ड

मेस्सीले कतार विश्वकपमा नयाँ किर्तिमान आफ्नो गराएका छन्। अर्जेन्टिनाबाट सबैभन्दा धेरै विश्वकप खेल्ने कीर्तिमानमा मेस्सीले लिजेन्ड म्याराडोनासँग बराबरी गरेको हुन्। यो सँगै मेस्सीले म्याराडोनाजति नै विश्वकपमा २१ खेल खेलेका छन्। यसअघि म्याराडोनाले सर्वाधिक विश्वकप खेलेको कीर्तिमान बनाएका थिए। शनिबार मध्यराति भएको मेक्सिकोविरुद्धको खेलमा मैदान उत्रदै कप्तान मेस्सीले अर्जेन्टिनी लेजेण्ड स्टार डियगो म्यारोडोनासँगको किर्तिमान बराबरी गरेका छन्। पाँचौँ पटक विश्वकप खेलिरहेका मेस्सी विश्वकपको उपाधि दिलाउन चाहान्छन्। क्लब स्तरका सबैजसो उपाधि दिलाएका मेस्सी टोलीलाई विश्वकप उपाधि दिलाउँदै राष्ट्रिय टिमको यात्रा टुङ्ग्याउन चाहान्छन्। मेस्सीले फिफा विश्वकप छनोटमा २८ गोल गरेका छन्। जारी विश्वकपमा मेस्सीले पहिलो खेलमा १ गोल गरेका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्