माओवादी योद्धाको लोभलाग्दो कृषि कर्म:वार्षिक चार लाख रुपियाँ आम्दानी – Janadesh Daily | ePaper

माओवादी योद्धाको लोभलाग्दो कृषि कर्म:वार्षिक चार लाख रुपियाँ आम्दानी


बैतडी।  माओवादीको सदस्यता लिएको आरोपमा पक्राउ परेर चरम यातनापछि मर्‍यो भनेर छाडिएका चिन्तामणि भट्ट अहिले गाउँका अगुवा किसान बन्नुभएको छ । 

blog

रोजगारीका लागि गाउँका सयौँ युवा विदेश गइरहेका बेला मेलौली नगरपालिका–६, हतरङ्गाका भट्टले एक रोपनी जग्गामा तरकारी खेती गरेर वार्षिक चार लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

उहाँले २५ जना किसानलाईसमेत तरकारी खेती सम्बन्धी तालिम दिएर आत्मनिर्भर बन्न प्रेरित गर्नु भएको छ । विगत सात वर्षदेखि उहाँले जिल्ला भित्र र बाहिर गरेर हजारौँ किसानलाई तालिमसमेत दिइसकेको बताउनुभयो ।

तरकारी खेतीसँगै कुखुरा पालन गरेर स्थानीय बजारमा आपूर्ति गर्दै आइरहनु भएका उहाँले कृषि कर्मबाटै दुई छोरालाई प्राविधिक शिक्षा पढाउन सफल हुनुभएको छ ।

वि.सं.२०५९ सालमा माओवादीको आरोपमा गिरफ्तारीमा पर्नुभएका उहाँले मरणासन्न हुनेगरी  कुटपिटपछि छाडिएको बताउनुभयो । तत्कालीन सुरक्षाकर्मीले मार्न भनेर वनतर्फ लैजाँदै गर्दा बीच बाटोमा त्यत्तिकै छाडेर गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रवीणता पत्रमाण पत्र तहको दोस्रो वर्ष अध्ययन गर्ने बेला २०५६ सालमा मैले माओवादी पार्टीको सदस्यता लिएको थिएँ । २०५९ पुस २९ गते गिरफ्तारीमा परेँ । मरणासन्न हुनेगरी कुटपिट गरियो । होसमा आउँदा म कतै वनको बाटो छेउमा थिएँ । पछि थाहा भयो, मलाई एक जना शिक्षकले यो त माओवादी होइन भनेर बचाएका रहेछन् ।” 

त्यसपछि गाउँ छाडेर कञ्चनपुर र पाँच महिना भारतमा भूमिगत जीवन बिताएर शान्तिप्रक्रियापछि आफ्नै गाउँ फर्केर बाँझो जग्गा स्याहार्न थालेको उहाँले बताउनुभयो । पार्टीको सदस्यता लिए पनि सक्रिय राजनीति भन्दा कृषिकर्ममै रमाउन थालेका चिन्तामणि अहिले अगुवा किसानको रूपमा परिचित हुनुहुन्छ ।

चिन्तामणि माओवादी आन्दोलनपछि गाउँ फर्कँदा कृषि क्रान्ति सुरु भएको मेलौली नगरपालिका–६, हतरङ्गाका अगुवा किसान दशरथ भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “चिन्तामणिले हामीलाई व्यावसायिक तरकारी खेती गर्न सिकाएपछि गाउँका २५ जना किसान तरकारी खेतीमा लागेका छौँ ।”

चिन्तामणिको सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेपछि सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत २५ वटा पोलिहाउस टनेलसमेत पाएको उहाँले बताउनुभयो ।

प्रदेश सरकार र स्थानीय सरकारले गत वर्ष गाउँका किसानलाई प्रविधि र उपकरण सहयोग गरेपछि मेलौली नगरपालिका–६, हतरङ्गा गाउँमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन सुरु भएको अर्का अगुवा किसान द्रोपति भट्टले बताउनुभयो ।

गाउँमा उत्पादन भएको तरकारी स्थानीय मेलौली बजारमा आपूर्ति गरेर आयआर्जन सुरु भएको गाउँका किसानले बताएका छन् । गाउँमा उत्पादन भएको रायो, मुला, धनियाँ, टमाटर, काउली र बन्दा बेचेर यहाँका किसान गाउँमै आत्मनिर्भर बनेका छन् । गोरखापत्र अनलाईनबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्