लुसैल रंगशालाको सन्देशः मेस्सीका करियरमा विश्वकपको उपाधि उचाल्ने आशा जीवितै – Janadesh Daily | ePaper

लुसैल रंगशालाको सन्देशः मेस्सीका करियरमा विश्वकपको उपाधि उचाल्ने आशा जीवितै


जनादेश स्पोर्ट्स वाच।

विश्वकपबाट बाहिरिने खतराकाबीच अर्जेन्टिनाका हजारौँ समर्थक कतार विश्वकपको सबैभन्दा ठूलो लुसैल रंगशालामा उपस्थित हुँदा उनीहरूको मस्तिष्कमा एकमात्र खेलाडी थिए । फुटबलका लागि ‘पागल’ राष्ट्रको विश्वकप आशा लियोनल मेसीले बोकिराखेका थिए । तर, शनिबार रंगशालाको कानै खाने होहल्लापूर्ण वातावरणमा अर्जेन्टिनाको डरको स्तर अझै बढी थियो । कारण, अर्जेन्टिना आफ्नो पुरानो प्रतिद्वन्दी मेक्सिकोविरुद्ध खेल्दै थियो । र, यही खेलले अर्जेन्टिनाको आगामी यात्रा तय गर्ने थियो ।

पहिलो खेलमा साउदी अरेबियासगको अप्रत्यासित हारपछि मेक्सिकोसँगको हारले विश्वकप यात्रा समूह चरणका दुई खेलपछि नै समाप्त हुनेबारे अर्जेन्टिनालाई थाहा थियो । यसको अर्थ विश्वकपको उपाधिसहित आफ्नो करियरलाई चम्किलो बनाउने सपना सामथ्र्यभन्दा परको कुरा बन्ने मेसी पनि जान्दथे ।

तर, फेरि एकपटक मेसीले अर्जेन्टिनाको ठूलो आशालाई काँधमा बोके । र, पुनः एकपटक अर्जेन्टिनालाई अत्यावश्यक रहेको समयमा जादुमयी प्रदर्शन प्रस्तुत गरे । अनि अर्जेन्टिनाको विश्वकप यात्रालाई अझै कायम राखे ।

घडीले ६४ मिनेटको समय देखाइसकेको थियो । चलिरहेको प्रत्येक सेकेन्डले अझ दबाब थपिरहेको थियो, अर्जेन्टिनामाथि अनि मेसीमाथि पनि । उनलाई थाहा थियो, विश्वकपको यो चरणमा हार बेहोर्नु न्यायोचित भएपनि वा नभएपनि मेसीको असफलतामा गनिन्छ ।

तर, मेक्सिकोलाई उनले बायाँ खुट्टाको जादुयी प्रभावको मुकदर्शक बनाए । यो प्रहारले उनका कैयौँ विरोधीहरूको मुख टालिदियो । एन्जल डी मारियाबाट आएको पासमा मेसीले पहिलो टचमा बललाई मिलाए । दोस्रो टचमा आएको प्रहारले सोझै ‘बटम कर्नर’ को जाली चुम्यो । मेक्सिकोका गोलकिपर गुर्येमो ओचाअको बायाँ हात पूरै तन्किएपनि उनले बल बचाउन सकेनन् ।

यो गोलसँगै अर्जेन्टिनाको समर्थकबाट प्रस्फुटन भएको खुसीको ठूलो हल्लासँगै मेसी दुई हात फैल्याउँदै उनीहरूकै नजिक दौडिए । जुन मेसीको गोलपछि हुने स्वभाविक ‘सेलिब्रेसन’ थियो ।

मेसी निकै भावुक रूपमा केही राहत महसुस गरिरहेको देखिन्थे । टिमका सहकर्मीले उनलाई घेरेका थिए । टिमका सबैभन्दा धेरै भरोसा गरिएका खेलाडीले एकपटक फेरि अर्जेन्टिनालाई खेलमा अघि राखेका थिए । खुसीयाली केही कम भएपछि मेसी समर्थकको अघि उभिए । उनलाई थाहा थियो, समर्थकका लागि यो कत्ति महत्वपूर्ण छ भन्ने । अनि समर्थक पनि मेसीको महत्वबारे राम्रो जानकार थिए । यो दुवैका लागि पारस्परिक आनन्दको अनुभव थियो ।

सर्वश्रेष्ठ खेलाडीले चाहिने बेला नै नतिजा दिने गर्दछन् र मेसीले त्यस्तै अवस्थामा अर्जेन्टिनालाई अग्रता दिलाउँदा त्यहाँ अचम्म मान्नुपर्ने कुनै कारण छैन । खेलको यो क्षणअघि मेक्सिकोविरुद्धको रात मेसीका लागि सहज थिएन । पहिलो हाफमा मेसीको प्रदर्शनलाई मेक्सिकोले रोकेर राखेको थियो । उनले पहिलो हाफमा प्रभाव पार्न सकेनन् ।

अर्जेन्टिनाको विश्वकपमा आगामी यात्राको सम्भावना कायम हुनु मेसीको प्रेरणादायी प्रदर्शनको उपज थियो । जो यो टिमका सुरक्षा कवज बनेका छन् । र, इन्जो फर्नान्डेजले ८७औँ मिनेटमा उत्कृष्ट दोस्रो गोल थपे ।

यो खेल हेर्नका लागि लुसैल रंगशालामा ८८ हजार ९ सय ६६ दर्शक उपस्थित थिए । जुन सन् १९९४ मा भएको विश्वकपको फाइनल खेलपछिकै सबैभन्दा ठूलो दर्शक संख्या थियो । खेलको अन्तिम ‘ह्विसिल’ बजेपछि पनि लगभग एक घण्टासम्म समर्थकहरू आफ्नो टिमको खुसीमा साथ दिन रंगशालामा बसेका थिए । विशेषगरी मेसीको खुसीमा साथ दिन ।

मेसीले अर्जेन्टिनाको विश्वकप सम्भावनालाई बचाइराखे । उनीहरूलाई अझै पोल्यान्डविरुद्ध जितको खाँचो छ । पोल्यान्ड, जोसँग आफ्नै राष्ट्रिय स्टार स्ट्राइकर रोबर्ट लेवान्डोवस्की छन् । तर, मेसीको बायाँ खुट्टाको एक उत्कृष्ट प्रहारले अर्जेन्टिनाको विश्वास बढाएको छ ।

“हामी अहिल्यै हार मान्न सक्दैनौँ,” मेसीले भने, “हामीले खेल्ने सबै खेलहरू फाइनलसरह हुन् । हामीलाई अब गल्तीका लागि छुट छैन । हामीलाई जित्नैपर्छ भन्ने थाहा थियो । हाम्रा लागि छुट्टै विश्वकप सुरु भएको थियो र यसमा कसरी प्रस्तुत हुनुपर्छ भन्ने हामीलाई थाहा थियो ।”

उनको यो अन्तिम विश्वकपको हो भन्ने मेसीलाई थाहा छ । मेसीका लागि फुटबलको त्यो माथिल्लो प्रतियोगिता, जसको उपाधि जित्न बाँकी नै छ । मेसीले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँगको हारको सामना गरेका थिए । विश्वकपको उपाधिका लागि मेसीको यो सबैभन्दा नजिकको अवसर थियो ।

मेसीले आफ्नो करियरमा चार च्याम्पियन्स लिग, सात बालोन डी‘अर र बार्सिलोनाबाट १० ला लिगाको उपाधि जितेका छन् । हालको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट एक लिग वानको उपाधि जिते पनि मेसीले फ्रेन्च क्लबबाट ठूलो उपाधि जित्न बाँकी नै छ ।

पछिल्लो वर्ष, मेसीले आफ्नो लामो खडेरी तोड्दै अन्तर्राष्ट्रिय उपाधि जितेका थिए । महादेशीय प्रतियोगिता कोपा अमेरिकाको उपाधि जित्दा अर्जेन्टिनाले फाइनलमा आयोजक ब्राजिललाई हराएको थियो । मेसीका करियरमा विश्वकपको उपाधि थपिन अझै बाँकी छ र यो नै उनको अन्तिम मौका हो ।

उपाधिका लागि अर्जेन्टिनाले अझै विश्वस्त बन्न सकिने प्रदर्शन देखाउन सकेको छैन । विश्व वरीयताको तेस्रो स्थानलाई न्याय गर्ने ‘फर्म’ अर्जेन्टिनाले अझै देखाउन सकेको छैन र अझै पनि विश्वकबाट बाहिरिने खतरा कायमै छ । बुधबार पोल्यान्डविरुद्ध खेल्दा अर्जेन्टिना जित्नैपर्ने दबाबमा हुनेछ । तर, अहिलेका लागि भने अर्जेन्टिनाको विश्वकप ‘शो’ पुन लयमा फर्किएको छ । किनभने जहाँ मेसी छन्, त्यहाँ आशा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्