समानुपातिकको परिणाम पनि अन्तिम तिरः के हो थ्रेसहोल्ड कसरी हुन्छ दलहरूलाई सिट बाँडफाँट – Janadesh Daily | ePaper

समानुपातिकको परिणाम पनि अन्तिम तिरः के हो थ्रेसहोल्ड कसरी हुन्छ दलहरूलाई सिट बाँडफाँट


जनादेश वाच।
नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक मत २५ लाख नाघेको छ । हालसम्म भएको मतगणना अनुसार एमालेले २५ लाख ७ हजार ४०३ मत पाएको छ भने नेपाली कांग्रेसले २३ लाख ७७ हजार ४९८ मत पाएको छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ हजार ८८५ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ४६ हजार १८६ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४३ हजार १७१, जनता समाजवादी पार्टीले ३ लाख १४ हजार २९४, जनमत पार्टीले २ लाख ५१ हजार, नेकपा एकीकृत समाजवादीले २ लाख ४७ हजार १७७ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ३४ हजार ४१४ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २४ हजार ९३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ६३१ मत, हाम्रो नेपाली पार्टीले ५२ हजार ६७७ मत, मंगोल नेसनल अर्गनाइजेसनले ४५ हजार २९१, राष्ट्रिय जनमोर्चाले ४४ हजार ७२४ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

के हो ‘थ्रेसहोल्ड’ ?
मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेसँगै पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसद् (संविधानसभा) मा दलीय उपस्थिति निकै बाक्लो हुन पुगेको थियो। प्रत्यक्षमा एउटा सिट नजिते पनि देशभरको मतमा समानुपातिकमा २१ हजार मत ल्याउँदा पनि दलले सांसद पाउन थालेपछि त्यसको आलोचना हुन थालेको थियो। उपस्थिति मात्रै थिएन, त्यसले निर्माण गरेको संसदीय गणितले सत्ता समीकरणमा पनि विकृत रूप देखाउन थालेको थियो। यसकारण संविधान निर्माणका क्रममा ‘थ्रेसहोल्ड’ को व्यवस्थाबारे छलफल भएको थियो। तर साना दलले समझदारी नदेखाएपछि संविधानमा त्यो कुरा अटेन।

पछि सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ल्याउँदा भने उक्त विषयलाई घुसायो। ऐनको दफा ५२ मा राष्ट्रिय दलसम्बन्धी प्रावधान राखेर थ्रेसहोल्डको व्यवस्था ल्याइएको थियो। यो व्यवस्थामा ‘प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गर्ने’ उल्लेख छ।

यो व्यवस्था लागु भएपछि संसद्मा दलहरूको भद्रगोल उपस्थिति घटेको छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि पाँचवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाए। एमाले, कांग्रेस, माओवादी केन्द्र, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम मात्रै राष्ट्रिय दलका रूपमा समेटिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायत राष्ट्रिय दल हुनबाट वञ्चित भए।

त्यतिबेला निर्वाचनमा समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७ सय २९ मत सदर भएको थियो। जसमध्ये सबैभन्दा बढी एमालेले ३१ लाख ७३ हजार ४ सय ९४, कांग्रेसले ३१ लाख २८ हजार २ सय ८९, माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१, राजपाले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २ सय १ मत प्राप्त गरेका थिए। प्रतिशतका हिसाबमा एमालेले सदर मतमा ३३.२४, कांग्रेसले ३२.७७, माओवादी केन्द्रले १३.६५, राजपाले ४.९४ र संघीय समाजवादी फोरमले ४.९२ प्रतिशत पाएका थिए। राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपाजस्ता पार्टी प्रत्यक्षमा सिट जित्न सफल भए पनि समानुपातिकतर्फ सदर मतमा ३ प्रतिशत नपाएपछि राष्ट्रिय दल हुनबाट वञ्चित भए। राप्रपाले २ प्रतिशत, राष्ट्रिय जनमोर्चाले ०.६५ प्रतिशत र नेमकिपाले ०.५८ प्रतिशत मत पाएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्