नेकपा एसमा अन्तरसंघर्षः माओवादीमा मर्जर हुने कि एक्लै रहने, एकता एमालेरहित कि एमालेसहित! – Janadesh Daily | ePaper

नेकपा एसमा अन्तरसंघर्षः माओवादीमा मर्जर हुने कि एक्लै रहने, एकता एमालेरहित कि एमालेसहित!


जनादेश वाच।

नेकपा (एकीकृत समाजवादी) जुम्लाका अध्यक्ष आदिप्रसाद न्यौपानेसहितका नेता चुनावअघि नै पुरानै पार्टी नेकपा (एमाले) मा फर्किए। कात्तिक २१ गते एमाले र एकीकृत समाजवादी जुम्लाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो -कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा समाहित भयौँ। न्यौपाने मात्रै होइन गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारीले पनि एकीकृत समाजवादी छोडेर एमालेमै फर्किएको घोषणा गरे।

न्यौपाने र भण्डारी लगायतका नेता एमालमै फर्कनुको एउटा कारण थियो -एकीकृत समाजवादीको माओवादी केन्द्रसँग एकता गर्ने निर्णय। चुनावअघि नै माओवादी र एकीकृत समाजवादीको एकता गर्ने निर्णयसम्बन्धी विवाद समाजवादीभित्र भुसको आगोसरी फैलिसकेको थियो। जिल्ला तहमा मात्रै होइन अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहेका नेता मुकुन्द न्यौपाने पनि असन्तुष्ट बने, माओवादी केन्द्रसँग एकता गर्ने निर्णयप्रति।

‘माओवादीमा जाने भन्ने निर्णय न स्थायी कमिटीले गरेको हो न केन्द्रीय कमिटीले। कमिटीको बैठक बोलाएर छलफल गरौं भन्ने मेरो कुरा हो,’ न्यौपानेले भने, ‘बैठक नै नबोलाइ केन्द्रीय कार्यालयमा केही मान्छे बसेर निर्णय गर्ने, सर्कुलर गर्ने काम गर्नुभयो। यो उपयुक्त छैन। यसलाई कार्यकर्ताले स्वीकार गर्दैनन् भन्ने मेरो मत हो।’ न्यौपाने लगायतका नेताहरुले एकता गर्ने निर्णयमाथि प्रश्न उठाएपछि नेपाल त्यतिबेला माओवादीसँग पार्टी एकता गर्न हच्किए।

‘एकता प्रक्रिया अहिले चकमन्न छ’
चुनावका बेला पार्टीमा विवाद बढेपछि पार्टीले थप क्षति व्यहोर्ने एकताका लागि लबिङमा लागेका नेताहरुको मत थियो। एकताका पक्षमा रहेका नेताहरुको जोड कहाँसम्म रह्यो भने चुनावमा माओवादी र एकीकृत समाजवादीको एउटै घोषणापत्र बनाएर जाने। एउटै घोषणापत्र बनाएर चुनावमा होमिँदा मुख्यगरी रणनीतिक दुई लाभ हुने बुझाइमा थिए नेपाल निकट नेताहरु।

पहिलो, सत्ता गठबन्धनमा नेपाली कांग्रेससँगको बलियो ‘बार्गेनिङ’। दोस्रो, दुबै पार्टी एक भएर चुनावमा जाँदा एमालेका अध्यक्ष ओलीमाथिको प्रहार अझ सशक्त हुन्छ। तर त्यतिबेला उक्त एकता प्रक्रिया थाती राखेरै माओवादी र एकीकृत समाजवादी चुनावमा होमिए। एक्लाएक्लै सत्ता गठबन्धनबाट चुनावमा गएपछि दुबै पार्टीले क्षति ब्यहोरेका छन्। एकीकृत समाजवादीलाई समानुपातिक निर्वाचनमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन मुस्किल छ भने माओवादीले २०७४ को तुलनामा प्रत्यक्षमा ठूलो क्षति ब्यहोर्नुपर्‍यो।

माओवादी केन्द्रले प्रत्यक्षमा १७ सिटमात्रै जितेको छ, गठबन्धनबाट ४६ ठाउँमा उम्मेदवारी दिएकोमा। २०७४ मा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ३६ सिट जितेको थियो। १० ठाउँमा चुनाव जितेको एकीकृत समाजवादीले प्रतिनिधि सभामा २१ ठाउँमा उम्मेदवार उठाएको थियो। चुनावको परिणाम आउने क्रम अन्तिम अवस्थामा पुगेसँगै सत्ता गठबन्धन र नेकपा एमालेभित्र सत्ता समीकरणका लागि कसरत भइरहेको छ। तर माओवादी र एकीकृत समाजवादीको एकता प्रक्रिया अघि बढ्न नसकेको दुबै पार्टीका नेताहरुले बताएका छन्।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले संसदीय समीकरणपछि मात्रै एकताबारे छलफल हुने बताए। ‘अहिले एकताबारे कसले ध्यान दिएको छ र? पहिला संसदीय समीकरण बनोस्। एकताबारे अहिले केही भएको छैन। चकमन्न छ,’ खतिवडाको भनाइ छ।

सत्ता समीकरणका लागि भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गृहकार्य सुरु गरिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेपालसँगको संवादलाई प्रचण्डले तीब्र पारेका छन्। नेपालसँगको एकता चाँडो गर्नसके आफ्नै नेतृत्वको सरकारका लागि बलियो लबिङ गर्न सकिने बुझाइ प्रचण्डमा छ। तर माओवादी केन्द्रका महासचिव देव गुरुङले तत्काल एकताको सम्भावना नभएको बताए। ‘तत्काल एकताको सम्भावना छैन। पछि त अब के हुन्छ अहिले तत्काल भन्न सकिने अवस्था छैन। छलफल गृहकार्य भएपछि यसबारेमा भनौला,’ गुरुङको भनाइ छ।

एमालेरहित कि एमालेसहितको एकता?
२०७९ साउन ३१ को माओवादी केन्द्रको स्थायी कमिटी र २०७९ भदौ १ गतेको एकीकृत समाजवादीको सचिवालयको बैठकले दुबै पार्टीका नेता सम्मिलित एकता संयोजन समिति बनाउने निर्णय गर्‍यो। वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको परिणाम आएलगतै प्रचण्ड र नेपालबिच अनौपचारिक छलफल भए पनि साउन अन्तिममा मात्रै त्यसले औपचारिकता पाएको थियो।

चुनावअघि नै एकताबारे निर्णयमा पुगिसकेका प्रचण्ड-नेपाल त्यसअघि नै राजनीतिक रुपमा भने एकै कित्तामा उभिसकेका हुन्। २०७७ मा भएको तत्कालीन नेकपाभित्रको विवादका बेलादेखि नै प्रचण्ड-नेपालको दोस्ती जमिसकेको थियो। ओलीले गरेको दुई पटकको प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतले २०७७ फागुन २३ मा गरेको नेकपा एकता बदरपछि पनि प्रचण्ड-नेपालले मोर्चाबन्दी गरे। तर एउटै पार्टीमा रहने स्थिति भने बनेन। एमालेमा फर्किएका नेपालले २०७८ भदौमा एकीकृत समाजवादी गठन गरे पनि उनको राजनीतिक हिसाब भने प्रचण्डसँगै मिल्छ।

नेपालले प्रचण्डसँग दोस्ती जमाए पनि प्रचण्डसँग एकताका लागि उनलाई आफ्नै पार्टीका नेताका कारण अप्ठेरो परिरहेको छ। हाल पनि एकीकृत समाजवादीभित्र नेपाल इतरका नेताहरुले एमालेरहित कम्युनिस्ट एकता हुन नसक्ने आवाजलाई चर्को बनाइरहेका छन्। एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राईले एमालेसहितको कम्युनिस्ट एकता गर्नुपर्ने बताइन्। माओवादीसँग मात्रै एकता गर्न नहुने नेता न्यौपानेको मतसँग राईको विचार मिल्छ।

एकीकृत समाजवादी गठनका बेलामा नेपाल पक्षमा उभिएका नेताहरुले ओलीको चर्को विरोध गरेका थिए। ओली प्रवृतिका कारण कम्युनिस्ट एकता हुननसक्ने निचोडमा पुगिसकेका नेताहरु नै अहिले एमालेबिना एकता हुन नसक्ने बुझाइमा छन्।

तत्कालीन नेकपामा अप्ठेरोमा पर्दा मात्रै होइन सत्ता गठबन्धको सिट बाँडफाँटमा कांग्रेसको चेपुवामा परेपछि प्रचण्डले समाजवादी केन्द्रको गृहकार्य गरेका थिए। वामदेव गौतमदेखि नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईसम्म समाजवादी केन्द्रमा अटाउने भन्दै नेताहरुले गृहकार्य गरेका थिए। भट्टराई हाल भने माओवादी केन्द्रसँग सहकार्य गरिरहेका छन्। हुन त त्यति बेला ओलीसहितका कम्युनिस्ट पार्टी मिलेर चुनावमा जाने बारेमा पनि चर्चा नभएको होइन। तर त्यो फलदायी हुन भने सकेन। जसरी ओलीसँगको लडाईंमा नेपाललाई प्रचण्डले आफ्नो कित्तामा उभ्याएका थिए त्यसरी नै अहिले सत्ता समीकरणका लागि प्रचण्डले एकता प्रक्रियामार्फत नेपालको साथ खोजिरहेका छन्।

जसप्रति एकीकृत समाजवादीका नेताहरु नै असन्तुष्ट बनेपछि नेपाललाई पनि प्रचण्डसँग एकता गर्ने कि नगर्ने भन्नेमा सकस परेको छ। वाम एकता गर्नुपर्ने वहसमा उत्रिएका एकीकृत समाजवादीका असन्तुष्ट पक्ष नेताहरु एमालेप्रति नरम र माओवादीप्रति कठोर हुनुले पनि एकीकृत समाजवादीभित्रै वैचारिक संघर्ष भइरहेको पुष्टि गर्छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्