चुनावी परिणामपछि रिफ्रेस हुन प्रचण्डको सुकुटे यात्राः सधैं जस्तै फेरि कुनै बोल्ड डिसिजन गर्न लागेको संकेत – Janadesh Daily | ePaper

चुनावी परिणामपछि रिफ्रेस हुन प्रचण्डको सुकुटे यात्राः सधैं जस्तै फेरि कुनै बोल्ड डिसिजन गर्न लागेको संकेत


जनादेश वाच।

दुई दिनअघि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनमा अपेक्षा अनुसारको नतिजा नआएको बताएका थिए। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि प्रमाणपत्र लिन गोरखा पुगेका प्रचण्डले उक्त अभिव्यक्ति दिएका थिए।

‘यो निर्वाचनमा जे भए पनि परिणामत सुखद भएकै छ। सबै हाम्रा उम्मेदवारहरु विजयी हुनु भएको छ। त्यसकारण परिणाम सुखदै भन्ने छ,’ प्रचण्डले भनेका थिए,‘तर हाम्रो अपेक्षाअनुसार जसरी परिणाम भन्ने थियो त्यस्तो अलि भएन भन्ने छ। नसोचेको, नसोचेको के–के कुरा भए भन्ने पनि छ।’ प्रचण्डले दलहरु सच्चिएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औँल्याएका थिए।

यसैबीच नेकपा अध्यक्ष प्रचण्ड बुधबार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। सभामुख अग्निप्रसाद सापकोटा तथा परिवारका सदस्यहरूसहित प्रचण्ड सुकुटे पुगेका हुन्। प्रचण्ड, सभामुख अग्नि, सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद माधव सापकोटा, सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरल सहयात्री पौडेल, भरतपुर महानगरकी मेयर रेनु दाहाललगायत भोटेकोसी नदीमा र्‍याफ्टिङसमेत गरेका थिए।

प्रचण्ड यसअघि पनि केही तनाव परेमा सुकुटेमा रिफ्रेसका लागि जाने गर्दथे। यस पटक चुनावमा माओवादीको सिटक कम आएका कारण प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका प्रचण्ड निराश रहेको बताइन्छ। उनले सहयोगीहरूसँग एमाले आफ्नो रणनीतिमा सफल भएको तर माओवादी हुन नसकेको बताएका छन्।

जहिले तनाव भए पनि सुकुटे
त्यसो त तनावमा हुँदा प्रचण्ड सुकुटे पुगेको यो पहिलो पटक होइन । उनी बारम्बार सुकुटे पुगेकाले नै अहिले उनी निकट केही नेताहरु प्रचण्ड र सिन्धुपाल्चोकको भोटेकोसीस्थित ‘सुकुटे’ बीचको सम्बन्ध गहिरो रहेको टिप्पणी गर्छन् । हुन पनि प्रचण्ड पटक–पटक ‘रिफ्रेस’ हुन भन्दै सुकुटे जाने गरेका छन् । राजनीतिक दबाब, चाप र थकान महसुस हुनासाथ प्रचण्डले आफैं सुकुटे सम्झने गरेको उनीनिकट स्रोत बताउँछ ।

यसअघि मोहन वैद्यसहितको ठूलो पार्टी हुँदा माओवादीमा अन्तर्विरोध चर्केको बेला, बाबुरामसँगको अन्तरसंघर्षको बेला वा एमाले माओवादी पार्टी एकतामा आएका सामान्य खटपटका बेला नै किन नहोस्, प्रचण्ड सुकुटे पुगेका छन् । बाबुराम र वैद्यले पार्टी छोड्दा पनि प्रचण्ड सुकुटे पुगेका थिए । अब त उनले केही महत्वपूर्ण राजनीतिक निर्णय लिनु परेमा सुकुटे जाने गरेको उनी निकटका नेताहरुले नै पनि अनुभूत गर्न थालेका छन् । प्रचण्डका विश्वासपात्र मानिने सिन्धुपाल्चोकका सांसद अग्नि सापकोटा चाहिँ प्रचण्डको सुकुटे यात्रामा सँगै देखिएका हुन्छन् । यसपटक पनि उनी प्रचण्ड परिवारसँग त्यहाँ पुगेका छन् ।

‘प्रचण्ड’लाई पहिलोपटक सुकुटेसँग उनैले परिचय गराएका थिए । राजधानीबाट धैरै टाढापनि नभएको, वातावरणीय सुन्दरता र टे«किङ्, र्याफ्टिङ, स्विमीङ जस्ता सुविधाका कारण प्रचण्डले सुकुटेलाई रुचाएको उनी बताउँछन् । पार्टी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड पहिलोपटक सुकुटे गएका थिए । २०६३ सालमा सापकोटाको पहलमा नै सुकुटे पुगेका प्रचण्डले त्यस वर्षको दशैं सापकोटाको घरमा नै मनाएका थिए ।

यसअघि प्रचण्डको सुकुटे यात्रापछि जे भयो
प्रचण्डको सुकुटे यात्रा माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको हो । २०६३ सालको दशैंको पूर्वसन्ध्यामा उनका विश्वासपात्र सापकोटाले उनलाई त्यहाँ पुर्याएपछि उनलाई सुकुटे जानी लत नै बसेको टिप्पणी गर्नेहरु पनि छन् ।

त्यसपछि उनी २०६८ असोज ८ मा सुकुटे पुगेका थिए । प्रचण्ड त्यतिखेर पत्नी सिता दाहाल र केही नेतासँग सुकुटे गएका थिए । ‘रिफ्रेस’को लागि नै भनेर प्रचण्ड २०६९ कात्तिक ४ मा फेरी सुकुटे पुगे । सुकुटेसँग गहिरो प्रेम राखेका प्रचण्ड, त्यतिबेला कुनै राजनीतिक एजेण्डा बोकेर त्यहाँ पुगेका थिएनन् । प्रचण्ड आफूलाई मन पर्ने र मनमा धेरैकुराको शान्ति महसुस हुने भएकाले त्यहाँ जाने गरेको बताउँदै आएका छन् ।

प्रचण्ड २०७२ कार्तिक २६ मा पनि आराम गर्नकै लागि भनेर सुकुटे पुगेका थिए । पार्टीभित्र भएको आन्तरिक छलफलका लागि उनी त्यहाँ पुगेका थिए । २०७३ असोजमा उनी फेरी त्यहाँ पुगे । त्यतिखेर पनि उनी त्यहाँ आफू ‘रिफ्रेस’ हुन मात्र गएको बताए । तर, उनी संविधान संशोधन र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावबारे पार्टीमा सहमति नभएको तनावमा त्यहाँ पुगेका थिए । त्यस्तै, २०७४ वैशाख १२ गते उनी सुकुटे पुगे । त्यतिखेर उनी निकट नेता अग्नि सापकोटा र झक्कु सुवेदी पनि सँगै थिए । विशेषतः स्थानीय चुनावको पूर्वसन्ध्यामा त्यहाँ पुगेका प्रचण्ड पार्टीबाट क–कसलाई उम्मेद्वार बनाउने भन्नेमा केन्द्रित रहेका थिए ।

त्यतिखेर, उनका अङ्गरक्षक भएर लामो समय काम गरेका हाल सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा ‘क’का सांसद् युवराज दुलाल ‘शरद’ को उम्मेद्वारीको विषयमा केन्द्रित रहेको थियो । चौतारा–साँगाचोक नगरपालिकाको मेयरमा उनको नाम चर्चामा आएपनि अन्ततः उनले मेयरको उम्मेद्वारी छाडेका थिए ।

त्यसैले पनि यसपटकको सुकुटे यात्राले प्रचण्डबाट केही नयाँ कुरा आउने हो कि भन्ने विश्लेषण बढेको छ । मंसिर चारको चुनावपछि सत्ता गठबन्धन कायमै रहने कि नयाँ बाम गठबन्धन बन्ने भन्ने अनुमान चलिरहँदा प्रचण्डको सुकुटे यात्रालाई उत्सुक्तापूर्वक हेरिएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्