बौद्ध विश्वविद्यालय सन् २०३० सम्म अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी – Janadesh Daily | ePaper

बौद्ध विश्वविद्यालय सन् २०३० सम्म अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी


जनादेश, भैरहवा। लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो ।

blog

विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रूपमा स्थापित गर्ने जनाएको छ । मुलुककै एकमात्रै विशिष्टीकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृतिसहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ ।

रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताउनुभयो । अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुसरणसहितको शिक्षा प्रवर्द्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रमुख तीन आधार रहने उहाँले बताउनुभयो । यी आधारभित्रै रहेर अनुसन्धान, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीति विश्वविद्यालयको रहेको बज्राचार्यले बताउनुभयो ।

भिजन २०३० प्लस कार्यान्वयनका सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगका नीति, अन्तर्राष्ट्रिय शिक्षासँगको स्तरमिलान, गुणस्तरीयता र अनुसन्धानमा आधारित शिक्षालाई नीतिका रूपमा अङ्गीकार गरिने रणनीतिक योजनामा छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले मुलुकको सातौँ स्तरमा रहेको विश्वविद्यालयलाई कम्तीमा तेस्रो स्थानसम्म अबको केही वर्षभित्रै पुर्‍याउने लक्ष्य राखिएको बताउनुभयो । अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रम सञ्चालन गर्दै दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गर्ने रणनीति विश्वविद्यालयले अङ्गीकार गरेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयले यसअघि प्राज्ञिक तथा भौतिक गुरुयोजना निर्माण गरेको थियो । त्यो गुरुयोजनाका मूलभूत पक्षहरूलाई अङ्गीकार गर्दै विश्वविद्यालयले यो रणनीति बनाएको हो । विश्वविद्यालयले अबको केही समयमै तीन सङ्कायमा १० वटाभन्दा बढी विभाग स्थापना गर्ने लक्ष्य बनाएको छ ।

कार्यक्रममा बोल्दै बयोद्धकुशुम धर्म महासङ्घका अध्यक्ष महायोगी श्रीधर राणा रिम्पोछेले बौद्ध दर्शनको अनुयायी हुनु मात्रै नभई यसको दार्शनिक चेतना सबैमा हुनुपर्ने बताउनुभयो । “विश्वविद्यालयले बौद्ध दर्शनको खास मर्मलाई आम जनताबीच सुसूचित बनाउनुपर्छ”–उहाँले भन्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बौद्ध दर्शनको सतही जानकारी मात्रै फैलिरहेको भन्दै यसको गहिराई बाहिर आउन नसकेको बताउनुभयो । “बौद्ध दर्शनको प्रभाव यति धेरै छ कि हामीले त्यसको मूलसम्म खोतल्न सकिरहेका छैनौँ”– उहाँले भन्नुभयो–“बौद्ध विश्वविद्यालयले अनुसन्धानलाई नै केन्द्रमा राखेर यसको उजागरमा प्राथमिकता दिनुपर्छ ।”

धर्माेदय सभाका अध्यक्ष केशवमान शाक्यले बौद्ध विश्वविद्यालयको १० वर्षे प्रगतिले जो कोही आकर्षित हुने भन्दै खुसी प्रकट गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले प्रकाशन गरेका पाँच वटा पुस्तक विमोचन गरिएको थियो । अनुसन्धान केन्द्रबाट धम्मपद अट्टकथा, स्वयम्भू पुराण, त्रिशिंखा, बोधि चाइनिज भाग १ र २ विमोचन गरिएको हो ।

पुस्तकका विषयमा बोल्दै अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले यी पुस्तकले बौद्ध अध्ययन अनुसन्धानमा लागेका अध्येतालाई महत्त्वपूर्ण सहयोग गर्ने भन्दै नेपाली वाङमयमा बौद्ध पुस्तकको बलियो उपस्थिति गराउने बताउनुभयो ।

नेपाली भाषामा बौद्ध ग्रन्थका पुस्तकहरू अध्ययन नहुँदा भारतीय पुस्तकमा निर्भर हुनुपर्ने बाध्यता रहेको भन्दै स्वदेशकै अनुसन्धानकर्ताबाट अनूदित पुस्तकले बौद्ध दर्शनलाई जनतामाझ बुझाउन सजिलो हुने उहाँले बताउनुभयो । उहाँले अनुसन्धान केन्द्रबाट पछिल्लो दुई वर्षमा साढे दुई दर्जन पुस्तक प्रकाशन गरेको बताउनुभयो ।

विश्वविद्यालयले स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको थियो । नेपालका लागि इजरायली राजदूत हनान गोदारको उपस्थितिमा देवदहमा गुरुयोजना तथा शैक्षिक कार्यक्रमका विषयमा छलफल गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्