नेकपा एस पार्टीको औकात कतिः नेता मात्र कि कार्यकर्ता पनि, गठबन्धनविना १ सिट पनि असम्भव – Janadesh Daily | ePaper

नेकपा एस पार्टीको औकात कतिः नेता मात्र कि कार्यकर्ता पनि, गठबन्धनविना १ सिट पनि असम्भव


जनादेश वाच।
एमालेबाट छुट्टिएर २०७८ भदौ २ मा नयाँ दल दर्ता गर्दैगर्दा नेकपा एकीकृत समाजवादीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा आठ सांसद थिए। गण्डकीबाहेक ६ वटा प्रदेशसभामा ५३ सांसद थिए। तर, आमनिर्वाचनको परिणाम अन्तिम चरणमा पुग्दा यो पार्टीको अवस्था फेरिएको छ। प्रत्यक्षतर्फ सत्ता गठबन्धनले १९ क्षेत्र दिएकोमा एकीकृत समाजवादीका १० जनाले विजय हासिल गरे। प्रदेशतर्फ गण्डकी, लुम्बिनी र कर्णालीमा एक सिट पनि जित्न सकेन भने अन्य चार प्रदेशमा जम्मा १४ सिट जितेको छ। प्रत्यक्षतर्फ प्रदेश १ मा तीन, मधेशमा चार, बागमतीमा पाँच र सुदूरपश्चिममा दुई सिट जितेको हो। एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वमा नयाँ पार्टी बनेको १५ महिनामा एकीकृत समाजवादी थप खुम्चिने निश्चित भएको छ। स्थापनाकालमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा गरेको पार्टी झनै खुम्चिएको हो। गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पनि कतिपय पालिकामा एमालेलाई हराउनबाहेक एकीकृत समाजवादीले उल्लेख्य जित हासिल गर्न सकेको थिएन।

एमालेबाट छुट्टिएपछि राष्ट्रिय दलको मान्यता पाउन शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को प्रावधान नै अध्यादेशमार्फत् संशोधन गरेको थियो। केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुगे मात्रै दल विभाजन गर्न सकिने व्यवस्थालाई अध्यादेशले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए हुने व्यवस्था गरेको थियो। उक्त दलले मान्यता पाइसकेपछि अध्यादेश निष्कृय बनाइएको थियो। तर, आमनिर्वाचनपछि राष्ट्रिय पार्टी बन्न प्रत्यक्षमा कम्तीमा एक सिट ल्याएर समानुपातिकमा सदरमतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने हुन्छ। यद्यपि, मतगणना जारी रहेकाले राष्ट्रिय दल बन्नेमा आफूहरू आशावादी भएको सचिव नागेन्द्र चौधरी बताउँछन्। समानुपातिकतर्फ करिब एक करोड चार लाख मत गनिसक्दा एकीकृत समाजवादीले करिब दुई लाख ९४ हजार मत पाएको छ।

एकीकृत समाजवादीको नेतृत्व गरेका नेपालले १५ वर्ष एमाले हाँकेका थिए। अर्का नेता झलनाथ खनाल तत्कालीन नेकपा माले र एमालेको गरी १२ वर्ष नेतृत्वमा रहे। वेदुराम भुसाल, मुकुन्द न्यौपाने, घनेन्द्र बस्नेतजस्ता पाका र रामकुमारी झाँक्रीजस्ता युवा नेता पनि पार्टीमा छन्। तर, पार्टीलाई स्थापित गर्न नसक्दा कार्यकर्ता समेट्न गाह्रो भएको एक पदाधिकारीले बताए।

संगठन परिचालनमा भएको कमीका कारण समानुपातिकमा मत कम आएको उनले बताए। पार्टी गठनसँगै सात प्रदेश, ७७ वटै जिल्ला कमिटीदेखि तल्लोस्तरसम्म संगठन निर्माण भएको दाबी एकीकृत समाजवादीको थियो। तर, कार्यकर्ता नै सक्रिय नहुँदा समानुपातिकमा मत ल्याउन नसकिएको ती पदाधिकारीले बताए। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पार्टीले १९ मध्ये १४ स्थानमा जित हासिल गर्ने अनुमान गरेको थियो। समाजवादीले जित्ने सूचीमा इलाम–१, मकवानपुर–२, पाल्पा–२ र ललितपुर–२ लाई पनि राखेको थियो। ती क्षेत्रमा उम्मेदवार बनेका नेता क्रमशः झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे र कृष्णलाल महर्जन पराजित भए। सचिव चौधरी गठबन्धनमा रहेका अन्य दलको असहयोगका कारण जित्ने आकलन गरिएका चार क्षेत्र गुमाएको बताउँछन्।

गठबन्बन्धनविना एक सिट पनि नजित्ने
एकीकृत समाजवादीले उम्मेदवारी दिएका १९ निर्वाचन क्षेत्रमा यो दलले समानुपातिकतर्फ पाएको मत र दलका उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत हेर्दा अत्यधिक मत ट्रान्सफर भएको मात्र देखिन्छ। त्यति मात्र होइन, मत ट्रान्सफर नभएको भए यो चुनावमा एकीकृत समाजवादीको हातमा अहिलेजस्तो १० सिट होइन, शून्य सिट हुन सक्थ्यो। समानुपातिक र प्रत्यक्ष दुवैतर्फ मतगणना सकिएका १९ वटा निर्वाचन क्षेत्रमध्ये १७ निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ सो दलले जम्मा ५७ हजार ९ सय ५८ मत ल्याएको छ। यी १७ निर्वाचन क्षेत्रमा सो दलका उम्मेदवारले प्रत्यक्षतर्फ भने ३ लाख ९४ हजार ८ सय ४१ मत प्राप्त गरेका छन्।

अर्थात् समानुपातिकमा एकीकृत समाजवादीले पाएको मतभन्दा प्रत्यक्षतर्फ उसका उम्मेदवारले सात गुणा बढी मत प्राप्त गरेका छन्। तर गठबन्धन दलबाट यति धेरै मतको सहयोग पाएको दल नै ‘मत ट्रान्सफर’ भएन भनेर दुखेसो पोखिरहेको छ! मत परिणामको विश्लेषण गर्दा बरू के दखिन्छ भने, गठबन्धन दलको राम्रो मत नपाएको भए एकीकृत समाजवादी दलका कुनै पनि उम्मेदवारले निर्वाचन जित्ने थिएनन्। उदाहरणका लागि १९ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादी सबभन्दा बलियो रहेको सो दलका अध्यक्ष माधव नेपाल उठेको रौतहट-१ हो।

रौतहट १ मा समाजवादीका अध्यक्ष नेपाल ३३ हजार ५ सय २२ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याए। तर यहाँ एकीकृत समाजवादीले समानुपातिकमा जम्मा ९ हजार ५ सय ७८ मत ल्याएको छ। यही क्षेत्रमा कांग्रेसले समानुपातिकमा १९ हजार १ सय १९ र माओवादी केन्द्रले २ हजार ७ सय ९१ मत ल्याएका छन्। एकीकृत समाजवादीलाई कांग्रेसको अधिकांश मत ट्रान्सफर भएको मत परिणामले देखाएको छ। त्यसै कारण अध्यक्ष नेपालले एमालेका उम्मेदवार गुप्तालाई हराउन सके। एकीकृत समाजवादीले जितेका कैयन क्षेत्रमा त उसले पाएको मतको ८० प्रतिशतभन्दा बढी मत गठबन्धनका सहयात्री दलहरूको हो। उदाहरणका लागि, बझाङमा एकीकृत समाजवादीले समानुपातिकमा ४ हजार ८ सय ६३ मत मात्र ल्याएको छ। जबकि विजयी भएका सो दलका उम्मेदवार भानुभक्त जोशीले २८ हजार ४ सय १३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २७ हजार ४ सय १२ मत ल्याएका छन्। यहाँ कांग्रेसले समानुपातिकमा २० हजार ९३ र माओवादी केन्द्रले ८ हजार ५ सय १६ मत ल्याएका छन्। कांग्रेसलाई जाने अधिकांश मत एकीकृत समाजवादीलाई ट्रान्सफर नभएको भए यहाँ एमालले चुनाव जित्थ्यो।

अर्को उदाहरण, अछाम पनि हो। एकीकृत समाजवादी विजयी भएको अछाम १ मा शेरबहादुर कुँवरले १९ हजार ५ सय ३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहोराले १५ हजार ४५ मत ल्याएका छन्। अछाम १ मा एकीकृत समाजवादीले समानुपातिकमा जम्मा २७ सय ४७ मत ल्याएको छ। यो क्षेत्रबाट कांग्रेसले समानुपातिकमा १४ हजार ५ सय २५ ल्याएको छ भने माओवादी केन्द्रले ७ हजार २ सय २८ मत ल्याएको छ। गठबन्धनको मत ट्रान्सफर नभएको भए एकीकृत समाजवादीका बाँकी उम्मेदवारले पनि एमालेका उम्मेदवारसँग कसरी नराम्ररीसँग हार्थे भन्ने हेरौं।

दैलेख १ मा विजयी अम्बरबहादुर थापाले १८ हजार २ सय ९७ मत ल्याउँदा समानुपातिकमा उनको दलको जम्मा ३१ सय ६६ मत छ। थापाका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले १७ हजार ४ सय ४५ मत ल्याएका छन्। दैलेख १ मा कांग्रेसको समानुपातिक मत १५ हजार ८ सय ३७ र माओवादीको २ हजार ६ सय ४५ छ। डोल्पामा ११ हजार २ सय ९२ मतसहित धनबहादुर बुढा विजयी हुँदा समाजवादीले समानुपातिकमा १८ सय २४ मत मात्र प्राप्त गरेको छ। त्यहाँ कांग्रेसको समानुपातिकमा ३ हजार ५ सय ९१ मत छ भने माओवादी केन्द्रको ४ हजार ७ सय २१ मत छ। माओवादी र कांग्रेसकै मत ट्रान्सफर भएका कारण यहाँ समाजवादी फराकिलो अन्तरले विजयी भएको हो।

त्यस्तै सल्यानमा पनि प्रकाश ज्वाला ३५ हजार ७ सय मतले विजयी हुँदा समानुपातिकमा उनको दलको जम्मा ५ हजार ९ सय ७० मत छ। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिद्रोही राजेन्द्र बहादुर साहले १९ हजार ७ सय ९२ मत ल्याएका छन्। सल्यानमा कांग्रेसले समानुपातिकतर्फ १९ हजार ९ सय ६६ मत ल्याएको छ भने माओवादी केन्द्रले २१ हजार ३ सय २५ मत ल्याएको छ। माओवादी केन्द्र र कांग्रेसको मत ट्रान्सफर हुँदा प्रकाश ज्वालाको जीत सुनिश्चित भएको हो। दाङ १ मा कमजोर देखिएका मेटमणि चौधरी गठबन्धनकै मतका कारण विजयी भएका हुन्। उनी २६ हजार ५ सय ६३ मत ल्याएर विजयी भएको दाङ १ मा हुँदा समाजवादीले समानुपातिकमा ३२ सय १८ मत पाएको छ। मेटमणिकी निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता चौधरीले २१ हजार ४ सय ९३ मत ल्याएकी थिइन्। त्यहाँ कांग्रेसको मत १५ हजार ६७ र माओवादी केन्द्रको मत ११ हजार ४ सय ५२ छ। माओवादी र कांग्रेसकै मत ट्रान्सफर हुँदा ५ हजार ७० मतले मेटमणि विजयी भएका हुन्।

बारा ४ मा कृष्णकुमार श्रेष्ठ १६ हजार ४ सय ३९ मतसहित विजयी भए भने समानुपातिकमा समाजवादीले जम्मा ४ हजार ६ सय ९१ मत प्राप्त गर्‍यो। त्यहाँ कांग्रेसको समानुपातिक मत ६ हजार ५ सय ७२ र माओवादीको मत ६ हजार ५ सय ६१ छ। त्यस्तै अर्को गठबन्धन दल लोकतान्त्रिक समाजवादी पार्टीको मत १० हजार ९ सय ११ मत थियो। कांग्रेस, माओवादी र लोसपाको मत ट्रान्सफर हुँदा कृष्णकुमार श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी हुन सफल भए। धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे पनि ३५ हजार ९ सय ६४ मतसहित विजयी भए। त्यहाँ समानुपातिकको मतगणना हुन बाँकी छ।

एकीकृत समाजवादी आफूले उम्मेदवारी दिएका जम्मा ९ वटा निर्वाचन क्षेत्रमा पराजित भएको छ। समाजवादीले हारेका यी निर्वाचन क्षेत्र; पाल्पा २, गुल्मी २, कास्की २, मकवानपुर २, ललितपुर २ र उदयपुर २ र इलाम १ बाट समानुपातिकमा सो दलले जम्मा १८ हजार ३७ मत ल्याएको छ। जबकि त्यहाँ पराजित उम्मेदवारहरूले १ लाख ११ हजार ९ सय ३७ मत ल्याएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्