फिनल्याण्डका प्रधानमन्त्रीको दाबी: युक्रेन युद्धले युरोप ‘पर्याप्त शक्तिशाली छैन’ भन्ने देखाएको छ – Janadesh Daily | ePaper

फिनल्याण्डका प्रधानमन्त्रीको दाबी: युक्रेन युद्धले युरोप ‘पर्याप्त शक्तिशाली छैन’ भन्ने देखाएको छ


फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध एक्लै उभिन यूरोप पर्याप्त बलियो नभएको बताउनुभएको छ ।

अस्ट्रेलियाको भ्रमणमा रहेका नेटो सदस्य राष्ट्रका नेताले भ्लादिमिर पुटिनको आक्रमण र छिमेकी युक्रेनमाथिको कब्जाले रूससँग व्यवहार गर्ने ‘युरोपेली कमजोरी र रणनीतिक भूल’ दुवैलाई उजागर गरेको बताउनुभयो ।

“म तपाईंसँग धेरै इमानदार हुनुपर्छ, निर्ममतापूर्वक इमानदार हुनुपर्छ, युरोप अहिले पर्याप्तरूपमा शक्तिशाली छैन । हामी संयुक्त राज्य अमेरिका बिना समस्यामा पर्नेछौं,” उहाँले सिड्नीको लोवी इन्स्टिच्युटका थिङ्क ट्याङ्कसँगको छलफलमा भन्नुभयो ।

मारिनले युक्रेनलाई युद्ध जित्नका लागि ‘जे चाहिए पनि’ दिनुपर्नेमा जोड दिँदै युद्धमा रूसको सफलतालाई निस्तेज पार्न आवश्यक हतियार, आर्थिक र मानवीय सहायता उपलब्ध गराउन अमेरिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले युरोपेली रक्षा र युरोपेली रक्षा प्रणालीको कुरा गर्दा यो सुनिश्चित गर्नु पर्दछ आवश्यक ती क्षमताहरू पनि निर्माण गरिरहेका छौं र हामी विभिन्न प्रकारका परिस्थितिहरूको सामना गर्न सक्दछौं ।”

फिनल्यान्डले लगभग १०५ वर्षअघि रूसबाट स्वतन्त्रता प्राप्त गरेको थियो र आक्रमणकारी सोभियत सेनालाई ठूलो सङ्ख्यामा मारिएको भए तापनि त्यसको केही समयपछि रूसले फिनल्याण्डको ठूलो जनधनको क्षति पु¥्याएको थियो ।

फिनल्यान्डका ३७ वर्षीय नेताले पुटिनसँगको सम्बन्धको महत्वमा जोड दिने युरोपेली सङ्घको नीतिको निन्दा गर्दै सोभियत सङ्घको पतनपूर्वका सङ्घका सदस्य राष्ट्रहरूको कुरा सुन्नुपर्ने बताउनुभयो ।

सन् २००४ मा युरोपेली सङ्घमा सामेल भएदेखि नै इस्टोनिया र पोल्याण्डजस्ता देशले रूसका सदस्य राष्ट्रलाई पुटिनविरुद्ध कडा कदम चाल्न आग्रह गर्दै आएका छन् ।

“हामीले बाल्टिक र पोलिश साथीहरूको कुरा धेरै चाँडो सुन्नुपथ्र्योे,” मरिनले भन्नुभयो ।

उहाँले थप्नुभयो, “लामो समयदेखि युरोपले रूससँग हाम्रो आर्थिक सम्बन्ध बन्द गर्ने, रुसबाट ऊर्जा किन्ने रणनीति बनाइरहेको थियो । हामीले सोचेका थियौं कि यसले युद्धलाई रोक्नेछ । तर यो दृष्टिकोण ‘पूर्णतया गलत साबित भएको’ छ ।”

रूसीहरूलाई आर्थिक सम्बन्ध र प्रतिबन्धको कुनै वास्ता नभएको उहाँको भनाइ थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्