प्रचण्डले किन दाबी गरिरहेका छन् प्रधानमन्त्रीः यस्तो थियो प्रचण्ड, देउवा र नेपालबीचको सहमति – Janadesh Daily | ePaper

प्रचण्डले किन दाबी गरिरहेका छन् प्रधानमन्त्रीः यस्तो थियो प्रचण्ड, देउवा र नेपालबीचको सहमति


जनादेश वाच।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । त्यस्तै नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बन्ने देखिएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दललाई प्रतिनिधिसभामा बहुमत जुटाउन हम्मेहम्मे परिरहेको परिस्थितिमा सरकार गठन कसरी होला भन्ने प्रश्न उठिरहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा आफ्नो दाबी गरिरहेका छन् ।

तर, चुनावअघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच २, २ र १ वर्ष प्रधानमन्त्री भागवण्डा गर्ने मौखिक सहमति भएको स्रोतले दाबी गरेको छ । स्रोतको दाबी अनुसार चुनावपछि पहिलो खेपमा प्रचण्ड प्रधानमन्त्री बन्ने र उनले दुई वर्ष सरकार चलाउनेमा देउवा र नेपाल सहमत भएका थिए । त्यस्तै दोस्रो खेपमा देउवा प्रधानमन्त्री बनेर २ वर्ष चलाउने अनि अन्तिम खेपमा माधव नेपाल १ वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको स्रोतको दाबी छ ।

देउवाले गरेको सोही मौखिक सहमतिलाई आधार मानेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । तर, चुनावको परिणाम आउँदै गर्दा माओवादी केन्द्रले अपेक्षाकृत नतिजा ल्याउन नसकेपछि कांग्रेसमा देउवाइतरका नेताहरूले प्रचण्डलाई प्रधानमन्त्री दिन नहुने अडान लिएका छन् । अर्कातर्फ संस्थापन पक्षकै केही नेताहरूले कांग्रेसले प्रधानमन्त्री छाड्न नहुने लबिङ गर्न थालेका छन् ।

प्रचण्डको मुभ
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गगन थापा र शेखर कोइरालाले प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन् । रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाको पनि मसिनो स्वर सार्वजनिक भएको छ । एमालेले यसअघि नै अध्यक्ष केपी शर्मा ओली नेतृत्त्वमै सरकार बनाउने निर्णय गरेको थियो । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्रीमा दाबी गरेका छन् । निर्वाचनलगत्तै प्रचण्डले प्रधानमन्त्रीका लागि सुरुवाती ‘मुभ’ सुरु गरेका छन् । उनले जेलमा रहेका रेशम चौधरीलाई कारागारमै गएर भेटे । कारण कैलालीमा चौधरी पत्नी संयोजक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा ३ सिट जितेको छ भने एक सिट स्वतन्त्र सांसद पनि सोही पार्टी निकट छन् । यसबाहेक उनले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि भेटेका छन् । राउत उपेन्द्र यादवलाई पराजित गर्दै सांसद निर्वाचित भएका हुन् भने उनको पार्टीले समानुपातिकमा ५ सिट प्राप्त गर्ने सम्भावना छ ।

माओवादी नेताहरुका अनुसार प्रचण्ड निर्वाचनपछिको पहिलो प्रधानमन्त्री बन्न चाहन्छन् । प्रचण्ड निकट उच्च स्रोतले दिएको जानकारीअनुसार कुनै पनि दलले सहजै बहुमत पुर्‍याउने अवस्था नभएपछि प्रचण्डले आफुलाई सक्रिय बनाएका हुन् । उनको चाहना सरकारको नेतृत्त्व पहिले लिने रहेको ती नेताको दाबी छ । माओवादीले सरकार गठनका लागि सबैसँग सहकार्यको ढोका खुला राखेको बताएको छ । प्रचण्डनिकट एक नेताले भने,“प्रधानमन्त्री नै हाम्रो पहिलो प्राथमिकता हो । यसका लागि जे–जे गर्नुपर्छ गर्ने भन्ने छ । प्रधानमन्त्री बन्ने अवस्था आए अहिलेको सत्ता गठबन्धनको विकल्पमा पनि जान सकिन्छ ।”

सत्ता गठबन्धनका उमेदवार बनेका अधिकांश नेताहरु हारेपछि माओवादीभित्रै प्रचण्डलाई सहकार्य तोड्न दबाब छ । केही नेताहरुले एमालेसँग मिलेर जानुपर्ने पनि सुझाव दिएका छन् । प्रचण्डले भने औपचारिक रुपमा गठबन्धनविरुद्ध बोलेका छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्