सरकार बनाउन एमालेले कुरिरहेको राजनीतिक परिदृष्यः यस्तो भएमा अघि बढ्ने छन् ओली – Janadesh Daily | ePaper

सरकार बनाउन एमालेले कुरिरहेको राजनीतिक परिदृष्यः यस्तो भएमा अघि बढ्ने छन् ओली


जनादेश वाच।
वर्तमान सत्ता गठबन्धनको जन्म हुनुको कारण हो– अघिल्लो संसद्काे ठूलो दल नेकपा एमाले । एमाले चुनावअघि नै याे गठबन्धन हरहालतमा फुटाउन चाहन्थ्याे । तर, जसपाबाहेक अरू दल सिट बाँडफाँट गरेर चुनाव लडे । आफ्नै बुतामा लड्ने सामर्थ्य रहेको भन्दै गठबन्धनकाे नाम लिन नचाहेकाे एमाले अन्तिम समयमा आवश्यकताअनुसार चुनावी तालमेल भन्दै जसपा र राप्रपाकाे साथ लिएर मैदानमा उत्रियो ।अहिले पनि सत्ता गठबन्धनका हरेक गतविधि नियालिरहेको छ– एमाले । सकभर गठबन्धन भत्काउने र गठबन्धन अप्राकृतिक रहेको भाष्य प्रमाणित गराउने प्रयत्नमा देखिन्छ ।

मंसिर ४ को चुनावअघि अध्यक्ष केपी शर्मा ओलीले २०७० मा कांग्रेससँग गरेको गठबन्धनको उदाहरण दिँदै ‘मंसिरको निर्वाचनपछि कांग्रेस र एमाले सरकार पनि बन्न सक्छ’ भनेका थिए । चुनावी नतिजा आइसक्दा एमाले गठबन्धन कसरी अघि बढ्छ र त्यसबाट पार्टीले के नीति लिने भन्ने गृहकार्यमा छ । सरकार र प्रतिपक्ष दुवै विकल्पका लागि एमाले खुला देखिएकाे छ ।

‘हामी केही पनि गरिरहेका छैनौँ, गठबन्धन हेरेर बसिरहेका छौँ । गठबन्धनको आफ्नै बहुमत पुगेसम्म तालमेलको कुरै गर्दैनन्,’ एमाले उपमहासचिव विष्णु रिमालले भने, ‘हिजो मात्र गठबन्धनको बैठक बसेर झन् बलियो बनाउने भनेको छ । त्यसमा हाम्रो के भूमिका रहन्छ र ?’

प्रत्यक्षमा ४४ सिट जितेको एमाले दोस्रो पार्टी बन्दैछ । ‘जनमत प्रतिपक्षमा बस्ने भन्ने छ । त्यसकाे विकल्प छैन । हाम्रो इच्छाले काम गर्दैन । गठबन्धन एकठाउँ भएसम्म कसैको केही लाग्दैन,’ उपमहासचिव रिमालले भने, ‘बहुमतका लागि ६ सिट अपुग छ उसलाई । गठबन्धन तलमाथि भएपछि मात्र अन्य विकल्प खुला हुन्छ ।’

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा छन् । उनीहरूसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि चुनावी गठबन्धन गरेको थियो । यी दलले प्रत्यक्षमा पाएको र समानुपातिकमा पाउने सम्भावित सिट संख्याले बहुमत पुग्दैन । त्यसैले सीके राउत नेतृत्वकाे जनमत पार्टीलाई पनि सत्ता गठबन्धनमै जोडेर सरकार बनाउने कसरत भइरहेको छ । चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा कांग्रेस तयार भए एमाले सहकार्य गर्न तयार रहेको अभिव्यक्ति रिमालले दिएका थिए । तर, एमाले उपाध्यक्ष युवराज ज्ञवाली वर्तमान समयमा कांग्रेस एमाले सहकार्यको सम्भावना नरहेको बताउँछन् । ‘अहिलेको अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना कम छ,’ ज्ञवालीले भने ।

पोलिटब्युरो सदस्य विशाल भट्टराई भने राजनीतिमा सहकार्यकाे सम्भावना सधैँ रहिरहने बताउँछन् । उनले भने ‘राजनीति अनन्त सम्भावनाको खेल हो । हुन पनि सक्छ ।’

चुनावी नतिजाको सुरुवात र अन्तिममा एमालेका नेताहरूको बोली फेरिएकाे देखियो । सुरुवातमा कांग्रेससँग सहकार्य गर्ने र अन्तिमतिर प्रतिपक्षमा बस्ने दुईखाले तर्क नेताहरूको छ । ‘हामी मात्र तयार भएर हुँदैन, द्विपक्षीय कुरा भयो । कांग्रेस पनि तयार हुनुपर्छ । सम्भावना के हुन्छ, दुई/तीन दिनभित्र थाहा हुन्छ,’ एमालेका एक केन्द्रीय नेताले भने, ‘पर्ख र हेरको अवस्थामा रहेकाले दुई थरी विचार आउनु स्वाभाविक छ ।’

प्रत्येक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको कांग्रेसलाई एमाले फकाउने फुर्सद छैन । सोमबार बालुवाटारमा गठबन्धनको बैठकमा आफ्नो पार्टीलाई घाटा भएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कड्किँदा कांग्रेस सभापति शेरबहादुर देउवाले छानबिन हुने बताएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलाले प्रचण्डलाई थामथुम पार्ने प्रयास गरे । कांग्रेस आफ्नो नेतृत्वमा वर्तमान गठबन्धनलाई निरन्तरता दिन चाहन्छ । त्यसैले एमालेसँग कुरा गर्न नेता प्रकाशमान सिंह देउवाको सन्देश बोकेर गए पनि बाँकी कुरा थमौती भएको छ ।

कांग्रेसनेता रामचन्द्र पौडेल अहिले एमालेसँग सहकार्यको विकल्पको विषयमा कुरा अघि नबढेको बताउँछन् । वर्तमान गठबन्धनको उद्देश्य पूरा हुन बाँकी रहेको उनले बताए । ‘गठबन्धन अघि बढ्छ । अहिले हामी दोस्रो विकल्पमा पुगिसकेका छैनौँ । एमालेसँग सरकारका विषयमा छलफल भएको छैन,’ पौडेलले भने, ‘गठबन्धन संविधान रक्षा र कार्यान्वयनका लागि बनेको थियो । त्यो उद्देश्य नै पूरा भइसकेको छैन । त्यस कारण यो गठबन्धनको विकल्प अहिले छैन ।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महत गठबन्धनभित्र विश्वास र छलफलको वातावरण सकारात्मक भइरहेकाले अन्य विकल्प सोच्नु नपर्ने बताउँछन् । ‘गठबन्धनभित्रै कुरा सकारात्मक ढंगले अघि बढिरहेको छ । हामीले सरकार बनाउने विषयमा एमालेसँग छलफल गरेका छैनौँ र त्यो विकल्पसम्म पुग्ने गरी सोच बनाएको पनि छैन,’ महतले भने, ‘त्यसकारण अहिले यो विषयमा हामी बोल्दा हतारो हुन्छ । यो विकल्पमा हामी अघि बढिसकेको छैनौँ ।’

२०६६ मा कांग्रेसको समर्थनमा तत्कालीन एमाले नेता माधव नेपालकाे नेतृत्वमा सरकार बनेको थियो । तत्कालीन संविधानसभाका दाेस्राे र तेस्राे दल मिलेर बनेकाे सरकारविरुद्ध पहिलाे दल माओवादी सडकमा उत्रिएकाे थियाे । २०७० मा चुनावपछि पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिलेर सरकार बनाएका थिए । त्यतिबेला संविधान निर्माणलाई यी पार्टीले उद्देश्य बताएका थिए । चुनावमा धाँधली भएकाे भन्दै माओवादी सडक आन्दोलनमा गएको थियो । त्यसअघि दाेस्राे जनआन्दाेलनकाे सफलतापछि कांग्रेसबाट गिरिजाप्रसाद काेइराला प्रधानमन्त्री भएका बेला एमालेबाट केपी ओली उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्