सत्ता गठबन्धन जोगाउने सहमतिको भित्री कथाः पहिलो कार्यकालमा प्रधानमन्त्री प्रचण्ड बन्ने संकेत – Janadesh Daily | ePaper

सत्ता गठबन्धन जोगाउने सहमतिको भित्री कथाः पहिलो कार्यकालमा प्रधानमन्त्री प्रचण्ड बन्ने संकेत


जनादेश वाच।

दलहरू नयाँ सरकार गठनको चरण्मा प्रवेश गरेका छन् । योसँगै ठूला दलका नेताहरूको दौडधुप सुरू भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पहिलो, दोस्रो र तेस्रो दलका रूपमा क्रमशः नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बनेका छन् । यी नै मध्ये कुनै दलको नेतृत्वमा नयाँ सरकार गठन हुनेमा द्विविधा रहेन । वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस र केही निर्वाचन क्षेत्रमा जसपा, राप्रपा लगायतका दलसँग चुनावी तालमेल गरेको एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भन्दै छलफल तीव्र पारेका छन् ।

तर, त्यसमा सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना उच्च देखिन्छ । यसअघि सोमबार मात्रै गठबन्धनको निर्वाचन समीक्षा बैठक बसेको थियो । बैठकले अरु दलहरूको सहभागितामा आफैँले सरकार बनाउने निर्णय गरेको छ । तर, सरकार भने कसको नेतृत्वमा गठन गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई दलले साढे दुई वर्षको दरले सरकारको नेतृत्व गर्ने अनौपचारिक सहमति भएको बताइन्छ । तर सुरूको साढे दुई वर्ष को प्रधानमन्त्री बन्ने भन्ने विषय अहिले पेचिलो बनेको देखिन्छ।

कांग्रेस प्रचण्डलाई दिन तयार
कांग्रेसले सबैभन्दा ठूलो दल भएकाले सुरूको साढे दुई वर्ष सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताउँदै आएको छ । ‘सबैभन्दा ठूलो दल कांग्रेस नै हो,’ प्रवक्ता प्रकाशशरण महतले भने, ‘त्यसकारण सुरूमा कांग्रेसले नै सरकार चलाउनु पाउनुपर्छ भन्ने स्वाभाविक दाबी छ ।’ राजनीतिक विश्लेषकले भने सुरूको साढे दुई वर्ष सरकारको नेतृत्व गर्नमा कांग्रेसले माथापच्ची नगर्ने विश्लेषण गर्छन् । विश्लेषक डा. विजय मिश्र भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा कांग्रेसले सुरूको साढे दुई वर्ष सरकारको नेतृत्व पाउनैपर्छ भनेर धेरै लफडा नगर्ला ।’

नेता चन्द्र भण्डारी पनि जसरी हुन्छ, त्यसरी नै सहमति गरेर अगाडि बढ्नुपर्ने बताउँछन् । ‘सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे संवाद भइरहेको छ,’ उनले भने, ‘मिलेर अगाडि जाने हो । बलमिच्याइँ गर्ने कुरै रहेन । गठबन्धन नफुट्नेगरी अगाडि जान्छौँ ।’ देउवानिकट एक नेताले भने आफूहरूले सम्झौता गर्न सक्ने बताए । ‘गठबन्धन रहनुपर्छ भन्ने शर्तमा कांग्रेस सम्झौता गर्न सहमत हुनसक्छ । सुरूको साढे दुई वर्ष अरुले चलाएर त्यसपछि पुनः कांग्रेसलाई प्राप्त भए त्यो स्वीकार्य हुनसक्छ ।’ यसमा थप आफूहरूले संवाद गर्ने भन्दै उनले भने, ‘जसरी भएपनि प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अगाडि जाने भन्ने हाम्रो ध्येय हो, गठबन्धनको ध्येय हो ।’

‘सुरूमै माओवादी केन्द्रले सरकारको नेतृत्व गर्छ’
माओवादी केन्द्र भने सरकारको नेतृत्वका लागि अडान लिने योजनामा देखिन्छ । यसअघि दुई पटक संसद् विघटन भएपछि सर्वोच्च अदालतको दिएको परमादेशपछि गठित सरकार पनि कांग्रेसकै नेतृत्वमा बनेकाले यसपटक सुरूमै माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भनाइ महासविच देव गुरुङ बताउँछन् । ‘सरकारको नेतृत्व गर्ने विषयमा माओवादी केन्द्रको स्वाभाविक दाबी छँदैछ । त्यसमा संवाद हुँदै जाला । माओवादी केन्द्रले सुरूमै सरकारको नेतृत्व गरोस् भन्ने हाम्रो प्रस्ताव हो ।’ त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफू सुरूको साढे दुई वर्ष नै प्रधानमन्त्री बन्ने ‘सन्देश’ प्रवाह गरिरहेका छन् ।

निर्वाचनअगाडि नै आफूलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहनेहरू धेरै रहेको बताउने गरेका प्रचण्डले अहिले सरकार गठनको सबै विकल्प खुला राख्ने निर्णय गरेर कांग्रेसलाई देखाइरहेका छन् । अर्का नेता राम कार्की स्वाभाविकरूपमा आफूहरूले सरकारको नेतृत्व पाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘गठबन्धनको सहयोगमा नेपाली कांग्रेसले लामो समय सरकारको नेतृत्व गरेको हो । अहिलेचाहिँ माओवादी केन्द्र अर्थात् दोस्रो ठूलो दलले पाउनुपर्छ भन्ने हो । संख्याको हिसाबले हेर्ने हो भने त हिजो शेरबहादुरजी प्रधानमन्त्री हुँदा उहाँहरूको संख्या कति थियो ?’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्