निर्णायक तेस्रो शक्ति र पहिलो कार्यकालको प्रधानमन्त्रीमा अडानः यस्तो छ प्रचण्डको रोडम्याप – Janadesh Daily | ePaper

निर्णायक तेस्रो शक्ति र पहिलो कार्यकालको प्रधानमन्त्रीमा अडानः यस्तो छ प्रचण्डको रोडम्याप


जनादेश वाच।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मतपरिणाम आउनेक्रम जारी रहेका बेला १२ मंसिरमा डिल्लीबजार कारागार पुगेर नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जेलजीवन बिताइरहेका रेशम चौधरीलाई भेट्न पुगे । प्रचण्डले भेटेर फर्किएको अर्को दिन १३ मंसिरमा चौधरीलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुगेका थिए ।

भेटमा बाबुराम र नेपालले नयाँ सरकार निर्माणमा साथ दिन चौधरीलाई आग्रह गरेका थिए । जेलजीवन बिताइरहेका चौधरीलाई भेट्न तीन पूर्वप्रधानमन्त्री कारागार नै पुग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रतिनिधिसभामा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । सत्ता गठबन्धनमा आवद्ध पाँच दल गठबन्धन गरेर चुनावमा गए पनि सत्ता गठबन्धनको बहुमत आएन । सरकार बनाउन आवश्यक पर्ने बहुमत नआएपछि साना दललाई समेट्नु पर्ने बाध्यतामा सत्ता गठबन्धन छ ।

तर, प्रचण्ड भने सरकार बनाउनेभन्दा पनि मिल्न सक्ने साना दलहरूसँग पार्टी एकता गरेर माओवादीलाई बलियो शक्तिका रूपमा उभ्याउने रणनीतिमा रहेको उनीनिकट स्रोतको दाबी छ । सबैभन्दा पहिला नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने रणनीतिमा लागेको एक नेताले बताए । केही दिनअघि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले माओवादीसँग पार्टी एकता गर्न नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी तयार रहेको आफूनिकट नेताहरूलाई बताएका थिए । ‘अध्यक्ष कमरेडले रेशमजी माओवादी पार्टीसँग पार्टी एकता गर्न तयार हुनुहुन्छ । अब छिट्टै पार्टी एकता गरेर जानुपर्छ । माधवजीहरूसँग पनि एकता गरेर जानुपर्छ,’ ती नेताले भने । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभाका तीन सिट जितेको छ । बर्दिया २ बाट रेशम चौधरीले दिएको उम्मेदवारी खारेज भएपछि उनका बुवा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

लालवीर चौधरीले बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लालवीर पनि नागरिक उन्मुक्ति पार्टीमै आउने निश्चित छ । कैलाली र बर्दियामा जनाधार गुमाउँदै गएको माओवादी केन्द्र नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेर शक्ति बढाउन चाहन्छ । चौधरीले माओवादीसँग नजिक भएर काम गर्ने इच्छा देखाएको प्रचण्डले आफूनिकटहरूसँगको भेटमा बताएका छन् ।फरार रहेका रेशम चौधरीले प्रचण्डको दिल्ली भ्रमणमा भेटको फोटो सार्वजनिक भएपछि प्रचण्ड विवादमा तानिएका थिए । २०७२ साल भदौमा भएको आन्दोलनका क्रममा टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपद प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मी र दुई वर्षीय नाबालक टेकेन्द्र साउदको हत्याको घटनामा अदालतले दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएपछि चौधरीले जेल चलान भएका हुन् ।

नेकपाकालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, नेता महेश बस्नेतलगायत नेताहरूले पनि चौधरीलाई कारागारमै पुगेर भेटेका थिए । २०७७ जेठमा रेशमलाई नेकपा प्रवेश गराउने अन्तिम तयारी पनि भएको थियो । तर, ओली सरकार आफैँ विवादमा परेपछि त्यो काम रोकिएको थियो । जसको मध्यस्थता तत्कालीन कैलालीका सांसद नारदमुनि रानाले गरेका थिए । प्रचण्ड अहिले जसरी पनि प्रधानमन्त्री हुन चाहन्छन् । प्रधानमन्त्री बन्न चाहेका प्रचण्ड मा‌ओवादीले सोचेजस्तो सिट नजित्दा झन् तनावमा छन् । प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू माओवादीबाहेक कांग्रेस र एमाले कसैको नेतृत्वमा पनि सरकार नबनोस् भन्ने चाहन्छन् । यदि कांग्रेस र एमाले मिलेर सरकार बनेन भने माओवादीबिना सरकार बन्न असम्भव देखिन्छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले कसैको पनि प्राथमिकतामा परेको छैन ।

यस्तो हुँदा कांग्रेस र एमाले मिलेनन् भने माओवादीबिना सरकार बन्न सम्भव छैन । यही कुरा बुझेका प्रचण्ड पहिला आफ्नो शक्ति बढाउने रणनीतिमा छन् । आइतबार अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने भनेर चार दलले विज्ञप्ति जारी गरे पनि प्रचण्डको पहिला प्रधानमन्त्री बन्ने चाहनाले गठबन्धनमाथि नै बादल लागेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । त्यही भएर पनि प्रचण्ड मिलेसम्म पार्टी एकता गर्ने र नमिलेकासँग मोर्चा बनाएर अघि बढ्ने तयारीमा छन् । नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने रणनीतिमा रहेका प्रचण्ड जसपा र जनमत पार्टीलाई समेटेर मोर्चा बनाउने आन्तरिक तयारीमा जुटेका छन् । त्यसका लागि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सहमत रहेको माओवादीका एक नेता बताउँछन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको साथ पनि प्रचण्डलाई रहने ती नेताले दाबी गरे । विराटनगरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उपेन्द्रले एमालेसँगको गठबन्धनको औचित्य अन्त्य भएको घोषणा गरिसकेका छन् ।यादव मनोनयन दर्ताको अघिल्लो दिन सत्ता गठबन्धनबाट बाहिरिएका थिए । सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जसपाले मधेस प्रदेशमा ठूलो धक्का ब्यहोरेको छ । जसपाबाट उम्मेदवार बनेका प्रदेश १ को सुनसरी १ बाट अशोक राई र मधेस प्रदेशबाट अन्य ६ जनाले प्रतिनिधिसभा सदस्यको चुनाव जितेका छन् । एमालेसँग गठबन्धन गर्दा पनि चुनाव हारेका अध्यक्ष यादवले एमालेसँग गठबन्धनको औचित्य समाप्त भएको बताएकाले माओवादी केन्द्रसँग सहकार्य गर्न सक्ने आकलन पनि कतिपयले गरेका छन् ।

बलियो तेस्रो शक्ति निर्माण गर्ने रणनीतिमा जुटेका प्रचण्डलाई यादवले साथ दिने सम्भावना बढेको माओवादी केन्द्रका एक नेताले बताए । नेकपा एस, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चालाई एकै ठाउँमा ल्याएर आफ्नै नेतृत्वमा मोर्चा बनाउन सके बार्गेनिङ पावर बढ्ने बुझाइ प्रचण्डको छ ।

प्रचण्ड स्वतन्त्रबाट जितेका प्रभु साह र किरणकुमार साहलाई पनि मोर्चामा समाहित गर्ने योजनामा छन् । पार्टी र स्वतन्त्रबाट जितेकासहितको मोर्चा बनाउँदा प्रचण्डसँग करिब ६५ सांसद हुने देखिन्छ । प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपतिकतर्फ १४ सिट पाउने देखिन्छ । राष्ट्रिय पार्टी बन्न असफल नेकपा एकीकृत समाजवादीसँग १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने नागरिक उन्मुक्ति पार्टीसँग चार (स्वतन्त्र जितेका लालवीर चौधरीसहित) सांसद छन् । यसैगरी, प्रत्यक्ष ७ सिट जितेको जसपाले समानुपातिकतर्फ ५ सिट पाउने देखिएको छ भने प्रत्यक्ष एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ चार सिट पाउने लगभग पक्का छ । प्रत्यक्ष एक सिट जितेको राष्ट्रिय जनमोर्चा र रौतहटबाट निर्वाचित प्रभु साहसहित स्वतन्त्र २ सांसद पनि छन् ।

एमालेले पनि माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन कसरत गरिरहेको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फकाउन आफूनिकट नेताहरूलाई खटाएका छन् । चुनावको मतपरिणाम आएपछि एमाले उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा सचिव रघुवीर महासेठले प्रचण्डसँग भेटवार्ता गरेका थिए । तर, तत्कालै प्रचण्डले केही प्रतिक्रिया नदिए पनि माओवादीका अन्य नेताहरू भने एमालेसँग पनि निकट रहेको बताउँछन् ।जता अवसर आयो प्रचण्ड त्यही जाने तयारीका साथ संसदमा मोर्चा बनाएर जाने रणनीतिमा जुटेको माओवादीका एक नेताले बताए । देउवालाई प्रधानमन्त्री बनाउँदा नै चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको प्रचण्डनिकट एक नेता बताउँछन् । तर, पहिलो पार्टी बनेको कांग्रेस प्रचण्डलाई पहिले प्रधानमन्त्री बनाउन नसकिने अडानमा छ । प्रचण्ड भने पहिलो कार्यकालमै नेतृत्व सम्हाल्ने योजनामा दृढ रहेको बताइन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्