विश्वकप क्वार्टरफाइनलः ब्राजिल क्रोएसियासँग भिड्दा र मेस्सीसँग बदला लिने नेदरल्याण्डको चाहाना – Janadesh Daily | ePaper

विश्वकप क्वार्टरफाइनलः ब्राजिल क्रोएसियासँग भिड्दा र मेस्सीसँग बदला लिने नेदरल्याण्डको चाहाना


जनादेश स्पोर्टस् वाच।

कतारमा चलिरहेको फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

नकआउट चरणमा ब्राजिलले दक्षिण कोरियालाई हराएको थियो । यस्तै साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो । यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ । नकआउट चरणमा अर्जेन्टिनाले अष्ट्रेलियालाई र नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो

मेस्सीसँग बदला लिने नेदरल्याण्डको चाहाना

विश्वकप फुटबलका चिर प्रतिद्वन्द्वी नेदरल्यान्ड्स र अर्जेन्टिना आज राति १२:४५ बजे आमनेसामने हुँदै छन्। लुसेल रंगशालामा नेदरल्यान्ड्स ८ वर्ष पहिलेको हारको बदला लिने दाउमा हुनेछ भने लियोनल मेस्सीको टिम अर्जेन्टिना फेरि उसलाई निराश बनाउन चाहन्छ।

लियोनल मेस्सीले तेस्रोपटक नेदरल्यान्ड्सविरुद्ध विश्वकप खेल्न लागेका हुन्। २००६ मा मेस्सीले विश्वकपमा डेब्यु गर्दा पनि नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए। समूह चरणको त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यतिबेला दुवै टोली नकआउट पुगेका थिए।

२०१४ मा अर्जेन्टिनाले सेमिफाइनलमा हराएपछि घर फर्किएको नेदरल्यान्ड्स ८ वर्षपछि विश्वकप खेल्न कतार पुगेको हो। २०१८ को विश्वकपमा छनोट भएको थिएन। ८ वर्षपछि फर्किंदा पनि पुरानै प्रतिस्पर्धी पाएको छ।

नेदरल्यान्ड्सले नकआउटमा अमेरिकालाई ३–१ पराजित गरेको थियो। अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले हरायो। ३६ खेलको अपराजित यात्रा यही विश्वकपमा आएर टुंग्याएको अर्जेन्टिना फेरि पुरानै लयमा फर्किएको छ।

पहिलो खेलमा साउदी अरेबियासँग अनपेक्षित २–१ को पराजय बेहोरेपछि उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना समूह विजेताका रुपमा नकआउट पुगेको थियो। अस्ट्रेलियाविरुद्ध कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजको गोलमा क्वार्टरफाइनलमा स्थान बनाएको हो।

खेलको सुरुमा हाबी भए पनि अन्ततिर लियोनल स्कालोनीको टिमले केही दबाबको सामना गर्नुपरेको थियो। ७७औं मिनेटमा इन्जो फर्नान्डेजलाई लागेर बल अर्जेन्टिनाको पोस्टमा पुग्यो। तर पनि २–१ को जितले अर्जेन्टिनाले चौथोपटक क्वार्टरफाइनलमा स्थान बनाएको हो।

यसअघि २०१८ को विश्वकपमा अन्तिम १६ बाटै बिदा भएको थियो। नेदरल्यान्ड्स र अर्जेन्टिना छैटौंपटक विश्वकपमा भिड्न लागेका हुन्। समग्रमा ९ पटक खेलेका छन्। अन्तिमपटक २०१४ को विश्वकप थियो। जुन खेल निर्धारित समय र अतिरिक्त समयमा पनि गोलरहित भएको थियो।

अर्जेन्टिनाका गोल रक्षक सर्जियो रोमेरोले उत्कृष्ट दुई प्रहार बचाउँदै टोलीलाई फाइनलमा पुर्‍याएका थिए। तर अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले हारेको थियो।

यी दुई टोली पहिलोपटक १९७४ मा भिडेका थिए। त्यही वर्ष एउटा मैत्रीपूर्ण र अर्कोपटक विश्वकपमा भेट भएको थियो। त्यतिबेला दुवै खेलमा अर्जेन्टिनाविरुद्ध डच टोली हाबी भयो। मैत्रीपूर्ण खेल ४–१ ले जितेको नेदरल्यान्ड्स विश्वकपमा ४–० ले विजयी भयो।

तर ४ वर्षपछि विश्वकपमै अर्जेन्टिनाले बदला लियो। १९७८ को विश्वकपमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ३–१ ले हराएको थियो। दोस्रोपटक फाइनलमा पुग्दा अर्जेन्टिनाले उसको उपाधि जित्ने सपना चकनाचुर बनाएको थियो। दोस्रोपटक फाइनलमा पुगेको अर्जेन्टिनाले भने पहिलोपटक उपाधि जित्यो।

पहिलोपटक फाइनलमा पुग्दा १९७४ मा नेदरल्यान्ड्स जर्मनीसँग हारेको थियो। पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले भने उपाधि जित्न सकेन।

१९८६ मा अर्जेन्टिनाले दोस्रोपटक उपाधि जित्यो। अर्को विश्वकपमा जर्मनीसँगै हार्दै उपाधिबाट बाहिरियो। अर्जेन्टिना र नेदरल्यान्ड्स समान तीनपटक फाइनलमा पुगेर उपाधिविहीन भएका छन्। पाँचपटक फाइनलमा पुग्दा अर्जेन्टिनाले दुईपटक भने उपाधि जितेको छ। तर नेदरल्यान्ड्स सधैं खाली हात छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्