गठबन्धनलाई दबाबमा पार्दै नागरिक उन्मुक्ति पार्टी, बार्गेनिङमात्रै कि कांग्रेससँग मिल्ने तयारी ! – Janadesh Daily | ePaper

गठबन्धनलाई दबाबमा पार्दै नागरिक उन्मुक्ति पार्टी, बार्गेनिङमात्रै कि कांग्रेससँग मिल्ने तयारी !


जनादेश वाच।
नागरिक उन्मुक्ति पार्टीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी रहेको सत्ता गठबन्धनलाई एकै दिन दुई झट्का दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले बुधबार दुई झट्का दिएको हो । पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षको प्रतिनिधि सभामा प्रतिपक्षको बेञ्चमा बसिरहेको नागरिक उनमुक्ति पार्टीले बुधबार दाङमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त एक सदस्यमा उम्मेदवारी दिने क्रममा दुई झट्का दिएको हो ।

पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीका तर्फबाट उम्मेदवार उठाएको छ भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङ पुगिन् । सत्तारूढ गठबन्धनबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रायको प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन् । लुम्बिनीको प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीको चार सांसद छन् । उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा दाङ पुगेकी अध्यक्ष श्रेष्ठले आफूहरूले उठाउदै आएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई सहयोग नरहने र आफूहरूले दिएको उम्मेदवारी फिर्ता नलिने बताइन् ।

राष्ट्रिय सभाको रिक्त सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरे । अध्यक्ष श्रेष्ठले आफूहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई पनि विश्वासको मत दिन नसक्ने सञ्चारकर्मीहरूसँग बताएकी छन् । नागरिक उन्मुक्तिको समर्थनमा एमाले नेता रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए ।

 उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने भए पनि नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । बुधबार सञ्चारकर्मीहरूसँग अध्यक्ष श्रेष्ठले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेका छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पूरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’

सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिएर अल्झाएको नागरिक उन्मुक्तिलाई एक प्रदेश प्रमुख र राष्ट्रियसभा सदस्य दिएर मिलाउन सक्ने सम्भावना रहेको सत्तारुढ दलकै भनाइ छ । त्यसैले पनि उसले उम्मेदवारी दिएको हुनसक्ने बताइएको छ । सत्तारुढ दलबाटै दुई जनाको उम्मेदवारी परेपछि विपक्षी नेपाली कांग्रेसले भने पासा पल्टाउन सकिने आशा गरेको छ । कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले गठबन्धनकै मत तानेर जित्ने योजनामा पार्टी लागेको बताए ।

एमाले र कांग्रेसबाट उम्मेदवार बनेका दसौदी र आचार्य दुवै रोल्पाली हुन् । उन्मुक्तिका राय पहाड सल्यान भए पनि अहिले बाँकेमा बस्छन् । एमाले–कांग्रेसका दुवै जना पार्टीका पुराना नेता भए पनि अवसर पाएका छैनन् । दसौदी पार्टी केन्द्रीय सदस्य हुन् भने आचार्य पूर्वपार्टी सभापति हुन् । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त एक सीटमा उपनिर्वाचन हुने भएको हो । उपनिर्वाचनअन्तर्गत माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

नागरिक उन्मुक्ति सत्ता गठबन्धनमै भए पनि बार्गेनिङका लागि उम्मेदवारी दर्ता गरेको सत्तारुढ अन्य दलको बुझाइ छ । सत्तारुढ दललाई दबाब दिन उसले उम्मेदवारी दिएको क्रममा नागरिक उन्मुक्तिका नेताहरुले व्यक्त गरेको धारणाबाट प्रस्ट पारेको छ ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्