किन टार्दैछन् देउवाले कांग्रेस केन्द्रीय समितिः आलोचनाको डर, प्रचण्डलाई नबिच्क्याउने रणनीति – Janadesh Daily | ePaper

किन टार्दैछन् देउवाले कांग्रेस केन्द्रीय समितिः आलोचनाको डर, प्रचण्डलाई नबिच्क्याउने रणनीति


जनादेश वाच।

नेपाली कांग्रेसले यही माघ १५ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक अनिश्चित समयका लागि सारेको छ। योसँगै अब अर्को बैठक कहिले बस्छ भन्ने यकिन छैन। १० पुषको नाटकीय राजनीति घटनाक्रमपछि संसद्को पहिलो दल हुँदाहुँदै सत्ताबाट बाहिरिएपछि कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित कतिपय पदाधिकारीले पार्टी नेतृत्वप्रति प्रश्न उठाएका थिए।

पार्टीका पदाधिकारीहरुले नै निर्वाचन पछिको राजनीतिक संवादका बारेमा आफूलाई थाहा नभएको भन्दै सार्वजनिक रुपमै प्रश्न उठाउन थालेपछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर २२ पुषमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षा र समसामयिक राजनीतिका विषयमा छलफल गर्न केन्द्रीय समिति बोलाएको सूचना सम्प्रेषण गरेका थिए।

पार्टी उपसभापति पूर्णबहादुर खडकाले त वर्तमान राजनीतिका सन्दर्भमा उठेको सवालमा गहिरो गरी समीक्षा गर्न भनेर केन्द्रीय समिति बैठक बोलाइएको समाजिक सञ्जालमा नै सम्प्रेषित गरेका थिए। तर, २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने वातावरण आन्तरिक रुपमा निर्माण भएपछि २२ गतेको केन्द्रीय समिति बैठक स्थगित भएको सूचना काग्रेस पार्टी कार्यलयले जारी गर्यो। २२ पुषको बैठक स्थगित गर्दैगर्दा कांग्रेसले २९ पुषमा बैठकको मिति घोषणा गर्यो। तर उक्त मितिमा पनि काग्रेसले बैठक गर्न सकेन। सभामुख र उपसभामुख निर्वाचनको बाहाना देखाउँदै कांग्रेसले माघ १५ गते बैठक गर्ने अर्को सूचना जारी गर्यो।

तर, बिहीबार कांग्रेसले पुनः सूचना जारी गर्दै यही माघ १५ गतेको बैठक अनिश्चितकालका लागि सारेको छ। योपटक कांग्रेसले अर्को कुनै मिति घोषणा गरेको छैन। हुन त १५ माघको बैठक सार्ने जानकारी कांग्रेस सभापति देउवाले गत सोमबारको पदाधिकारी बैठकमै गराइसकेका थिए। पदाधिकारी बैठकमा देउवाले राष्ट्रपति निर्वाचनसम्म केन्द्रीय समिति बैठक गर्न सम्भव नरहेको जानकारी दिएका थिए। त्यहीभएर सोमबारको पदाधिकारी बैठकमा सहभागी नेताहरुले १५ माघको बैठक हुँदैन भन्ने गत सोमबार नै थाहा पाएका थिए। यद्यपि, कांग्रेस पार्टी कार्यालयले बिहीवार बैठक स्थगितको सूचना जारी गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले १५ माघको केन्दी्रय समिति बैठक किन सरेको भन्ने आफूलाई थाहा नभएको बताए। ‘यसरी बैठक पटक–पटक सार्नु ठीक भएन,’ उनले भने, ‘बैठक बोलाउँदा नै सबै कुरा ख्याल गरेर बोलाउनु पथ्र्यो, यसरी पटक–पटक सारेर राम्रो सन्देश प्रवाह हुँदैन।’

पार्टीको आन्तरिक बहस पन्छाउने नियत
गत ४ मंसिरको निर्वाचनमा कांग्रेस माओवादी केन्द्रसहित एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर सहभागी भएको थियो। पार्टीभित्रैको ठूलो तप्काले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत राख्दाराख्दै नेतृत्वले माओवादीसहितका दलहरुबीच गठबन्धन बनाएर निर्वाचनमा गएका बहुमत ल्याउने दाबी गरेको थियो। साथै, सरकार पनि आफ्नै पार्टीको नेतृत्वमा हुने निश्चित भएको भन्दै फरक धारणा राख्ने श्वरहरुलाई खासै महत्व दिइएन। बरु उल्टै गठबन्धनको विरोध नगर्न पदाधिकारी र केन्द्रीय सदस्यसहित सबै पंतिमा निर्देशन जारी गरियो। जसकाकारण १६५ सिट मध्ये कांग्रेसले जम्मा ९१ क्षेत्रमा मात्रै आफ्नो उम्मेदवारी दिन पायो।

तर, निर्वाचनका परिणामपछि कांग्रेसको केन्द्रदेखि प्रदेशहरुसम्म नै विपक्षमा पुगेको अवस्था छ। यस्तोमा पार्टी सभापति देउवाले लिएको नीतिको पार्टीमा चर्को विरोध हुने अवस्था देखिन्छ। कतिपय जानकारहरुले केन्दी्रय समिति बैठक त्यही भएर सभापति देउवा र उनी निकटस्त नेताहरु सक्दो पन्छाउने रणनीतिमा छन्। सभापति देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार कसरी जित्न सकिन्छ भन्ने विषय प्राथमिकतामा रहेकाले बैठक सारिएको बताए। राष्ट्रपतिको निर्वाचन सकिएलगत्तै केन्द्रीय समिति बैठक हुने कार्कीको भनाइ छ। निर्वाचनको समीक्षा गर्न बस्न भनिएको बैठक केही लामो समयसम्म चल्ने भएकाले पनि अहिले सभापतिले बैठक सार्नु परेको उनको स्पष्टोक्ति छ।

यद्यपि, जानकारहरु सभापति देउवा ०७४ कै निर्वाचन पछिको रणनीति अपनाउँदै बैठक सारेर पार्टीका आन्तरिक मद्दाहरु सकभर पन्छाउने दाउमा रहेको बताउँछन्। आफनै नेतृत्वमा भएको ०७४ को निर्वाचनमा कांग्रेस पराजय भएपछि उनले समीक्षा गर्न यसैगरी नौ महिना लगाएका थिए। निर्वाचन मंसिरको पहिलो हप्तामा थियो। तर, सभापति देउवाले कांग्रेसले चैतको दोस्रो हप्तायता पार्टी केन्दी्रय समितिको बैठक राख्न आवश्वक ठानेनन्। चैतमा भएको बैठक पनि देउवाले झण्डै डेढ महिना लम्ब्याएर आफू अनुकुलका पदाधिकारी चयन गर्दै सकाएका थिए।

हुन त निर्वाचनपछि कांग्रेस संघीय संसद्सँगै चारवटा प्रदेशमा पहिलो दल बनेको छ। आफ्नो नेतृत्वमा सरकार बनाउनकै लागि भनेर तालमेलसहित चुनानी मैदानमा होमिएको कांग्रेस अहिले रक्षात्मक अवस्थामा पुगेको छ। केन्द्रसँगै कुनै पनि प्रदेशमा कांग्रेसको सरकार बनेन। ठूलो पार्टी हुनका बाबजुद पनि कांग्रेस अलिे हात लाग्यो शून्यको अवस्थामा पुगेको छ। यदि, केन्द्रीय समितिको बैठक बसेका यो विषय जोडतोडले उठ्ने निश्चित छ। यस्तोमा सभापति देउवा जतिसक्दो केन्द्रीय समिति बैठक पर धकेलेर आलोचनाबाट बच्नेमात्र नभएर आन्तरिक विवाद पनि सामसुम पार्ने रणनीतिमा देखिएको विश्लेषण गरिएको छ।

प्रचण्डलाई नबिच्क्याउने रणनीति
एक पदाधिकारीका अनुसार सभापति देउवा तत्काल केन्द्रीय समिति बैठक राख्ने पक्षमा छैनन्। यसो हुनुमा तीन कारण छन्।

पहिलो, गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा पार्टीभित्र आलोचना होला भन्ने डर सभापति देउवालाई छ। चुनावअघिसम्म सभापति देउवा चार दलीय गठबन्धन जोगाएर जाने पक्षमा थिए। कांग्रेसले चुनावमा गठबन्धनविरूद्ध उभिनेलाई कारबाहीसमेत गर्न निर्देशन दिएर नेता/कार्यकर्तालाई कारबाहीसमेत गरेको थियो। तर चुनावपछि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने भन्ने विवादले गठबन्धन भत्कियो। नेकपा एमालेसहित ७ दलको समर्थनमा पुस १० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने।

दोस्रो, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकोले पार्टीभित्र थप आलोचना हुने र यसले राष्ट्रपति चुनावका बेला प्रचण्ड झन् बिच्किन सक्ने भय देउवालाई परेको छ।

तेस्रो, पार्टीभित्र हुने विवाद बाहिर छताछुल्ल हुँदा राष्ट्रपति पनि गुम्ने गरी परिस्थिति बनेमा थप रक्षात्मक हुनुपर्ने अवस्थाको सिर्जना हुन सक्ने भएकोले पनि सभापति देउवा अहिले केन्द्रीय समिति बैठक राख्न नचाहेका हुन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्