रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको फैसलाः सांसद पद खारेजीको आदेश – Janadesh Daily | ePaper

रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको फैसलाः सांसद पद खारेजीको आदेश


जनादेश वाच।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता प्रमाणपत्र विवादमा सर्वोच्च अदालतले उनको विपक्षमा फैसला गरेको छ । अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्ति नगरेको सर्वोच्चले ठहर गर्दै उनी सांसद हुन अयोग्य भएको फैसला गरेको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहितको संवैधानिक इजलासले शुक्रबार फैसला सुनाउँदै विदेशको नागरिकता त्यागे स्वतः नेपाली नागरिकताको प्रमाणपत्र सक्रिय नहुने बताएको छ ।

लामिछानेले सुरुमा नेपाली नागरिकताको प्रमाणपत्र लिए पनि अमेरिका जाँदा उताको नागरिकता लिएका थिए । त्यसपछि उनको नेपाली नागरिकता स्वतः खारेज भएको थियो । पछि नेपाल आउँदा उनले अमेरिकी नागरिकता त्यागेका थिए । तर, नेपाली नागरिकता पुनः लिएका थिएनन् ।

उनी चितवन २ बाट चुनाव लड्दा नागरिकता विवाद निर्वाचन आयोगमा पुगेको थियो । तर, आयोगले समयमै सो प्रकण किनारा नलाउँदा लामिछाने चितवन २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सांसदबारे निर्वाचन आयोगले निर्णय लिन नपाउने भएपछि सो प्रकण सर्वोच्च पुगेको थियो । उनले नेपाली नागरिकता नलिएको भन्दै उनी उम्मेदवार नै हुन नपाउने दाबीसहित सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्चले उनी सांसद हुन अयोग्य भनेपछि उनको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुम्ने भएको छ । यद्यपि सांसद नरहेको व्यक्ति पनि मन्त्री हुन सक्ने संविधानमा व्यवस्था छ । त्यसका लागि उनले मन्त्रीको फेरि शपथ लिनुपर्ने हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्