मध्यपूर्वमा नयाँ तनावको संकेतः इजरायल र प्यालेस्टाइनको सम्बन्ध फेरि भयानक हिंसाको चरणमा – Janadesh Daily | ePaper

मध्यपूर्वमा नयाँ तनावको संकेतः इजरायल र प्यालेस्टाइनको सम्बन्ध फेरि भयानक हिंसाको चरणमा


जनादेश अन्तर्राष्ट्रिय वाच।

लामो समयदेखि तनावग्रस्त रहेको इजरायल र प्यालेस्टाइनको सम्बन्ध पुनः नयाँ हिंसाको चरणमा प्रवेश गरेको छ । गत बिहीवार इजरायली कमान्डोहरूले पश्चिम किनारस्थित जेनिनमा रहेको शरणार्थी शिविरमा छापा मारेर नौजना प्यालेस्टाइनीको हत्या गरेका थिए भने २० जनालाई घाइते बनाएका थिए । सन् २००९ पछिको त्यो सबभन्दा ठूलो हिंस्रक कारवाही भएको बताइएको छ ।

पश्चिम किनार भन्नाले जोर्डन नदीको पश्चिमी भाग हो र त्यो पहिला जोर्डनको अधीनमा थियो । त्यहाँ प्यालेस्टाइनीहरू १६५ वटा क्षेत्रमा बसोबास गर्छन् । सन् १९६७ मा भएको ६ दिवसीय युद्धमा विजय प्राप्त गरेपछि पश्चिम किनारमा इजरायलले आधिपत्य कायम गर्दै लाखौं यहुदीहरूलाई बस्ती बसाल्न प्रेरित गरेको छ । यहुदीका २३० बस्तीहरू अहिले त्यहाँ विद्यमान छन् । वर्तमान इजरायली सरकारले पश्चिम किनारको भित्री भागमा रहेका यहुदी बस्तीहरूलाई वैध बनाउने प्रतिज्ञा गरेको छ ।

प्यालेस्टाइनीहरूले स्वतन्त्र राज्य पश्चिम किनारमा बनाउने परिकल्पना गरेको भए पनि इजरायलले यहुदीको बस्ती विस्तारमा जोड दिएर त्यहाँ कुनै पनि प्यालेस्टाइनी राज्यको सम्भावनालाई तुहाउन कोशिश गरिरहेको छ । अहिले त्यहाँ प्यालेस्टाइनीहरू दोस्रो दर्जाका नागरिकका रूपमा बस्न बाध्य छन् । उनीहरूलाई अर्को ठाउँबाट पश्चिम किनारमा आउँदा इजरायली सुरक्षाकर्मीको अनुमति लिनुपर्ने हुन्छ र उनीहरू पश्चिम किनारमै पनि खुलेर हिँडडुल गर्न पाउँदैनन् । त्यसमाथि इजरायली सैनिकहरूले प्यालेस्टाइनीको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गर्ने अनि कुनै पनि अभियोग नलगाइकन महिनौंसम्म कैद गर्ने गरेका छन् ।

बिहीवार छापा मारिएको घरमा इस्लामिक जिहाद समूहको आतंकवादी सेल रहेको खबर पाएर आफूहरूले कारवाही चलाएको इजरायलको भनाइ छ । प्यालेस्टाइन सरकार (अथोरिटी) ले छापामारीको उक्त घटनालाई सामूहिक हत्याको संज्ञा दिएको छ । त्यसको भोलिपल्ट पश्चिम किनारमै पर्ने पूर्वी जेरुसेलममा रहेको यहुदीहरूको पवित्र स्थल साइनागगमा एकजना प्यालेस्टाइनी बन्दूकधारीले कम्तीमा सातजना इजरायलीहरूको हत्या गरे । सन् २००८ पछिको त्यो सबभन्दा ठूलो हत्याको घटना भएको बताइएको छ । इजरायली अधिकारीहरूले त्यसलाई आतंकवादी घटनाको संज्ञा दिएका छन् ।

शुक्रवार (२७ जनवरी) नै प्यालेस्टाइनीहरू बस्ने गाजाबाट तीनवटा रकेट प्रहार गरिएका थिए । अनि इजरायलका लडाकू विमानहरूले प्यालेस्टाइनी समूह हमासले भूमिगत रूपमा चलाउँदै आएको बम निर्माण स्थलमा आक्रमण गरेको जानकारी दिएको छ । त्यस्तै शनिवार जेरुसेलममा इजरायली बस्तीबाहिर प्यालेस्टाइनीले गोली चलाएर दुईजनालाई घाइते बनाएको खबर पनि छ ।

सातजना इजरायलीको ज्यान जाने घटनापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पश्चिमी किनारमा यहुदी बस्ती विस्तार गर्ने अनि प्यालेस्टाइनीहरूका विरुद्ध दण्डात्मक कारवाही चलाउने बताएका छन् । उता प्यालेस्टाइन अथोरिटीका नेता महमूद अब्बासले शान्ति प्रयासप्रति इजरायल प्रतिबद्ध नरहेको तथा उसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको आरोप लगाएका छन् । हालैका हिंसाहरूको सम्पूर्ण दोष इजरायललाई लाग्ने उनको भनाइ छ ।

पछिल्लो हिंसा विगत एक वर्षमा भएका गतिविधिको परिणाम हो । यस अवधिमा प्यालेस्टाइनीहरूले आफूलाई विस्थापित गरिरहेका इजरायलीहरूमाथि लगातार घातक आक्रमण गर्दै आएका थिए । त्यसको प्रतिकारका लागि इजरायली सेनाले अपरेसन ब्रेकवाटर नामक कारवाही चलाउन थालेको थियो । उक्त कारवाहीका क्रममा इजरायली सेनाले पश्चिम किनारका विभिन्न स्थानमा लगभग दिनहुँजसो छापा मार्ने गरेको थियो । लडाकू भनिएका व्यक्तिलाई पक्राउ गर्न र हतियारहरू बरामद गर्न ती छापा मार्ने गरिएका थिए । त्यसक्रममा लगभग प्रत्येक साता प्यालेस्टाइनीहरू मारिने गरेका थिए ।

सन् २००४ पछि एकै वर्षमा यति धेरै संख्यामा प्यालेस्टाइनीहरू मारिएको यो पहिलो अवसर हो । इजरायलको मानवअधिकार समूह बीटीसेलेमले सन् २०२२ मा लगभग १५० जना प्यालेस्टाइनीलाई इजरायली सैनिकहरूले मारेको दाबी गरेको छ ।

त्यसक्रममा बन्दूकधारीहरू मात्र नभई सर्वसाधारण प्यालेस्टाइनी पनि मारिएका छन् । इजरायली सैनिकमाथि ढुंगा प्रहार गर्ने प्यालेस्टाइनी किशोरहरू पनि आक्रमणमा मारिएका छन् । प्यालेस्टाइनी मूलकी अमेरिकी पत्रकार शिरीन अबु अक्लेह जेनिन शरणार्थी शिविरमा मारिनु पोहर सालको सबभन्दा चर्चित घटना थियो । इजरायल स्वयंले अक्लेह इजरायली सेनाको गोलीबाट मारिएको तर जानाजान उनको हत्या नगरिएको बताएको छ ।

इजरायली फौजले पश्चिम किनारमा प्यालेस्टाइनीहरूका घरमा छापा मारी हत्या कारवाही गरिरहँदा प्यालेस्टाइनी सुरक्षा बलहरू चाहिँ कमजोर बनिसकेको स्थिति छ । खासमा तिनीहरूलाई अमेरिका र अन्य मुलुकका सेनाले पश्चिम किनारको गश्ती गर्न, प्यालेस्टाइनी लडाकूहरूलाई पक्राउ गर्न तथा इजरायलीहरूमाथिको आक्रमण रोक्नका लागि तालिम दिएका हुन् । तर प्यालेस्टाइनी फौजहरूलाई स्वयं प्यालेस्टाइनीहरूले नै मन पराउँदैनन् ।

इजरायलले भनेमुताबिक काम गर्ने अनि इजरायलको आधिपत्यलाई प्रतिकार गर्नुको साटो कायम गर्न मद्दत गर्ने गरेको भन्दै प्यालेस्टाइनी सुरक्षाबलको वैधतामाथि सर्वसाधारणले प्रश्न उठाउने गरेका छन् । स्थिति धेरै बिग्रिसकेकाले पश्चिम किनारका कतिपय इलाकाहरूमा प्यालेस्टाइनी अथोरिटीका सुरक्षाबल जान समेत नसक्ने भएका छन् । जेनिन शरणार्थी शिविर पनि त्यस्तै जानै नसकिने खतरनाक स्थान हो । त्यहाँ इजरायलविरुद्ध लड्नका लागि प्रतिबद्ध लडाकू समूहहरूको बाक्लो उपस्थिति छ ।

ती लडाकूहरूलाई प्यालेस्टाइनी सुरक्षाबलले रोक्न नसकेकाले आफू स्वयं जानुपरेको इजरायली सुरक्षाकर्मीहरू बताउँछन् । त्यहाँ पुगेका इजरायली सुरक्षाकर्मीसँग हमास, इस्लामिक जिहाद र अन्य लडाकू समूहको भिडन्त भई जनधनको क्षति हुने गरेको छ । पछिल्लो घटनाक्रमपछि इजरायली सुरक्षाबलसँग प्यालेस्टाइनी सरकारले गर्दै आएको समन्वय तोड्ने महमूद अब्बासले बताएका छन् । तर उनले यस्तो किसिमको धम्की पहिला पनि दिने गरेको तर कहिल्यै कार्यान्वयन नगरेको भन्दै सर्वसाधारणले पत्याएका छैनन् ।

प्यालेस्टाइनी सरकार कमजोर बन्दै गइरहेकोमा इजरायलमा चाहिँ प्यालेस्टाइनविरोधी उग्रदक्षिणपन्थीहरूको सरकार बनेको छ । त्यसले इजरायली सेनालाई थप आक्रामक हुने अवसर दिएको छ । अहिलेको सरकारले प्यालेस्टाइनीहरूलाई भगाएर यहुदी बस्तीको विस्तारलाई द्रुत गतिमा अघि बढाउने योजना बनाइरहेको छ । त्यसमाथि इजरायलले प्रभावशाली अरब मुलुकहरूसँग अब्राहम एकर्ड्स गरी आर्थिक तथा सैन्य सम्बन्ध विस्तार गरिरहँदा अरबीहरूले प्यालेस्टाइनका पक्षमा बयान निकाल्नेबाहेक उनीहरूको दुःखपीडा शमन गर्ने अर्को कुनै उपाय अपनाइरहेका छैनन् । यसले गर्दा प्यालेस्टाइनीहरूको असन्तुष्टि र आक्रोश चुलिँदो छ ।

इजरायली र प्यालेस्टाइनीहरूबीचको तनाव उच्च स्तरमा रहँदा अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन सोमवार जेरुसेलम पुग्दैछन् । उनले इजरायली प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । अनि मंगलवार ब्लिन्केनले प्यालेस्टाइनी नेता अब्बासलाई पनि भेट्ने भएका छन् । बाइडन प्रशासनले इजरायल र बेग्लै स्वतन्त्र प्यालेस्टाइन राज्य बनाउने ‘टु स्टेट सोलुसन’ मा जोड दिँदै आएको छ । ब्लिन्केनले अहिलेको भ्रमणमा पनि त्यही कुरा उठाउने अपेक्षा छ ।

तर सन् २०१४ पछि नै दुई राज्य समाधानको प्रस्ताव अघि बढ्न सकेको छैन । त्यसमाथि इजरायलले अब्राहम एकर्ड्सपछि त दुई राज्य समाधानको औचित्य नै नरहेको ठान्न थालेको छ । इजरायलमा उग्रदक्षिणपन्थीको सरकार त झन् दुई राज्य समाधानको नाम पनि सुन्न चाहँदैन । त्यसैले ब्लिन्केनको अहिलेको भ्रमण सफल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन् ।

स्थायी समाधानमा इजरायली र प्यालेस्टाइनी दुवै पक्षले सहमति नजनाउन्जेल हिंसाको शृंखला चलिरहनेछ । अहिलेको हिंसा तेस्रो विद्रोह (इन्तिफादा) मा परिणत हुन सक्ने आशंका पनि कतिपयले गरिरहेका छन् । अझ आगामी अप्रिल महिनामा मुसलमानहरूको पर्व रमजान अनि यहुदीहरूको पर्व पासओभर पनि आउने भएकाले धार्मिक द्वन्द्व चर्किने सम्भावना प्रबल रहेको आकलन गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्