कांग्रेसबाट राष्ट्रपति बन्दा को? रामचन्द्र रहेनन् निर्विरोध, पार्टीले नपाए यस्तो छ कांग्रेसको रणनीति – Janadesh Daily | ePaper

कांग्रेसबाट राष्ट्रपति बन्दा को? रामचन्द्र रहेनन् निर्विरोध, पार्टीले नपाए यस्तो छ कांग्रेसको रणनीति


जनादेश वाच।

निर्वाचन आयोगले सोमबार फागुन २५ गतेका लागि राष्ट्रपतिको चुनाव मिति घाेषणा गरेपछि अब दलहरूबीच मतभार आफ्नो पक्षमा पार्न दौडधुप अझ बढ्नेछ । कार्यकारी अधिकार र संसद्‌को निर्णयसमेत प्रमाणीकरण नगरेर बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पद ‘सुपर पावर’ रहेको प्रमाणित गरिदिएपछि दलहरू शीतल निवासमा आफ्नो मान्छे पठाउने प्रतिस्पर्धामा छन् । कांग्रेसले राष्ट्रपतिको चुनाव माघ महिनाभित्रमा चुनाव होस् भन्ने चाहेको थियो । ‘माघ २९ अगावै होस् भन्ने कांग्रेसको ध्यानाकर्षण हो । तर, भएन ठीकै छ,’ राष्ट्रपति चुनावको मितिबारे कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले भने ।

सरकारको नेतृत्व गरेको माओवादी राष्ट्रपतिमा राष्ट्रिय समझदारी होस् भन्ने चाहन्छ । उ न एमालेलाई दु:खी बनाउन चाहन्छ, न कांग्रेलाई पुरानो गठबन्धन पूर्ण रूपमा भत्किएको हो भन्ने पार्न चाहन्छ । प्रधानमन्त्री पाइएन र एमालेसँग मिल्न पुग्यौं भन्ने सन्देश माओवादीको छ । राष्ट्रपतिमा माओवादीको सहयोगले मात्र बहुमत नपुग्ने कांग्रेसमा आकांक्षीले आ–आफ्नोतर्फबाट लबिङ गर्दैछन् । पार्टीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माको नाम राष्ट्रपतिको उम्मेदवारका रूपमा नाम आउने गरेको छ । यीमध्ये पौडेल र सिटौलाले आफूलाई शीतल निवास जाने दौडमा अगाडि उभ्याएका छन् । यी नाममा अन्य दलसँग सहमति नभए गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस तयार छ ।

‘पार्टीभित्र मुख्य रूपमा रामचन्द्र दाइ र कृष्ण दाइको चर्चा छ,’ कांग्रेसका एक सांसदले भने । पौडेलले सरकार गठनअघि सक्रियता बढाएका थिए । अहिले पौडेललाई उछिन्ने गरी सिटौलाले प्रधानमन्त्री प्रचण्डसँग भेट बढाएका छन् । ‘रामचन्द्र दाइलाई सेटल गराउनुपर्छ भन्ने हो । तर, कृष्ण दाइले प्रधानमन्त्रीसँग छलफल गरेर लबिङ बढाइरहनुभएको छ,’ ती सांसदले भने । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक माओवादीसँग संवादमा छन् ।

माओवादीले साथ दिनेमा शंका
माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिनुपर्छ भने पनि कांग्रेस माओवादीले मत दिन्छ भन्नेमा ढुक्क छैन । ‘माओवादी कांग्रेसलाई राष्ट्रपतिमा मत दिनुपर्छ भन्नेमा छ । तर, निर्णय गरेर अघि बढ्न नसकेकाले हाम्रो पार्टीका नेताहरूलाई विश्वास लागेको छैन,’ कांग्रेस सांसदले भने, ‘भावनाले मात्र अघि बढेर हुँदैन, निर्णय नै गरेर अघि बढेको हुन्छ ।’

संसद्‌को सबैभन्दा ठूलो दलको नाताले कांग्रेसको दाबी स्वाभाविक छ । यसले शक्ति सन्तुलन हुने कांग्रेस नेताहरू बताउँछन् । ‘सरकारलाई विश्वासको मत दिएका छौँ । त्यसैले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर भन्ने पक्षमा कांग्रेस छैन,’ कांग्रेस गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले भने, ‘कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्दा शक्ति पृथकीकरणको हिसाबले पनि मिल्छ ।’

प्रधानमन्त्री तथा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक तत्कालीन समयमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाई राष्ट्रपति नबनाउँदा गल्ती गरेको बताउने गरेका छन् । त्यो गल्तीलाई समेत सच्याउने अवसर प्रचण्डसामु आएको सुवेदी बताउँछन् । ‘गिरिजाबाबुलाई राष्ट्रपति नबनाएर गल्ती गर्‍यौँ भन्ने प्रचण्डको रियलाइजेसन हो भने प्रचण्डको अधुरो सपना पूरा गर्ने मौका अहिले आएको छ,’ उनले भने ।

बाबुराम भट्टराईको चर्चा, गैरदलीय राष्ट्रपति बनाउन तयार !
कांग्रेस र एमाले दुवै दललाई विश्वास लाग्ने पात्रको खोजीमा माओवादी छ । त्यसका आधारमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम अघि सारेको बुझाइ कांग्रेस नेतामा देखियो । ‘ओलीजीको औँठाछाप नहोस् । बीचको मान्छे कोही बनाएर एमाले र कांग्रेस दुवैलाई खुसी बनाउने प्रचण्डको रणनीति देखिन्छ,’ एक कांग्रेस नेताले भने ।

राजनीतिक व्यक्तिको नाममा अन्य दलबाट ग्रीन सिग्नल नआए गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस तयार छ । ‘राजनीतिभन्दा बाहिर अन्य पेसाबाट आएका वरिष्ठ व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बाध्यात्मक अवस्था पनि आइपर्न सक्छ । त्यसका लागि कांग्रेस तयार छ,’ कांग्रेसका एक पदाधिकारीले भने । अन्य दलबाट साझा व्यक्तिको खोजी भएमा गैरदलीय व्यक्तिमा सहमति गराउन कांग्रेस तयार देखियो । ‘कांग्रेसबाट राजनीतिक व्यक्तिको नाममा सहमति भएन भने गैरदलीय व्यक्ति राष्ट्रपति नबनाई हुँदैन,’ कांग्रेसका अर्का सांसदले भने ।

संविधानको रक्षा गर्ने मूलभूत जिम्मेवारी राष्ट्रपतिको भएकाले कांग्रेसले उम्मेवारी दिने प्रवक्ता महत बताउँछन् । ‘अहिले राष्ट्रपतिबाट पदको दुरुपयोग भएको देखियो । संविधानको रक्षाका लागि कांग्रेसले उम्मेदवारी दिन्छ,’ उनले भने, ‘हामीले सबै दलहरूलाई अनुरोध गरेका छौँ, संविधानको रक्षाका लागि राष्ट्रपतिको चुनावमा कांग्रेसलाई सघाउनुस् भनेर ।’

प्रधानमन्त्री प्रचण्ड कांग्रेसबाट राष्ट्रपति बनाउन सकारात्मक देखिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘कांग्रेसको उम्मेदवार नै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो भन्नुभएको छ । यसमा कसरी विकसित हुन्छन् घटनाक्रमहरू ।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्