मोदीको साथ पाएका गौतम अदानीको समाम्राज्यमा प्वाल, गुम्यो सय अर्ब डलर, धनाढ्य सूचीमा घटुवा – Janadesh Daily | ePaper

मोदीको साथ पाएका गौतम अदानीको समाम्राज्यमा प्वाल, गुम्यो सय अर्ब डलर, धनाढ्य सूचीमा घटुवा


जनादेश अन्तर्राष्ट्रिय वाच।

स्कुलको पढाइ छाडेर विश्वकै सबैभन्दा धनी व्यक्तिहरुको सूचीको तेस्रो स्थानमा पुग्न सफल भारतका गौतम अदानीले भयंकर हार बेहोरेका छन्। अमेरिकाको एउटा सानो लगानी कम्पनीले उनको व्यावसायिक अभ्यासहरुमाथि प्रश्न उठाउँदै आक्रमण गरेपछि अदानी थला परेका हुन्। कतिसम्म भने उनी आफ्नो एउटा प्रमुख कम्पनीको सेयर अफरिङबाट समेत हात झिक्न बाध्य भएका छन्।

बन्दरगाह, कोइला खानी, खाद्य व्यवसाय, विमानस्थलदेखि पछिल्लो समय सञ्चारमाध्यममा समेत हात हालेका अदानीको यो दसा अमेरिकाको हिन्डेनबर्ग नामक सर्ट सेलर कम्पनीले २४ जनवरीमा एक रिपोर्ट सार्वजनिक गरेपछि सुरु भएको हो। अदानीले स्टक म्यानुपुलेसनदेखि लिएर दशकौँसम्म ठगी गरेको आरोप लगाएको छ। त्यसयता केही दिनमै अदानीका कम्पनीले १०० अर्ब डलरभन्दा ज्यादा सम्पत्ति गुमाइसकेका छन्।

तर, मंगलबारसम्म पनि अदानी हिन्डेनबर्गसँग भिड्न तयार देखिन्थे। त्यसैले उनले प्रमुख कम्पनी अदानी एन्टरप्राइजेजको २.५ अर्ब डलर बराबरको सेयर अफरिङ अघि बढाए। उनको त्यति सेयर बिक्री पनि भयो। तर, उनका कम्पनीहरुको सेयर मूल्यमा आइरहेको भयंकर गिरावटका कारण अदानी पछि हट्न बाध्य भए। र, सो एफपीओ रद्द गर्दै लगानीकर्ता पैसा फिर्ता गर्ने उनले बताए।

यो अदानीको दुर्लभ पराजय थियो। किनभने पछिल्लो दशक, खासगरी हालैका वर्षहरुमा उनी अपराजेय देखिँदै आएका थिए। पश्चिम भारतको गुजरात राज्यका अदानी आफैँले व्यापारिक साम्राज्य खडा गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी पनि सोही राज्यका हुन्। लामो समयदेखि मोदी र अदानीको सम्बन्ध विपक्षीको निसाना बन्दै आएको छ। हुन पनि मोदीकै निकटतामा अदानीको आश्चर्यजनक प्रगति भइरहेको थियो।

गत सातासम्म अदानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति थिए। उनको कुल सम्पत्ति १२७ अर्ब डलर थियो। उनी बर्ना आर्नो र इलोन मस्कको पछाडि थिए। तर, बिहीबार उनको कम्पनीले १०० अर्ब गुमाउँदा उनी धनीहरुको सूचीमा चिप्लेर १६ औँ स्थानमा आइपुगेका छन्। अब उनका प्रतिस्पर्धी मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्।

दन्त चिकित्सक प्रीति अदानीसँग विवाह गरेका उनका दुई छोरा छन्ः करन र जीत। दुवै व्यवसायमा संलग्न छन्। कपडा उत्पादन गर्ने मध्यमवर्गीय परिवारका सन्तान हुन् अदानी। रातारात एसियाकै धनी भए पनि यी ६० वर्षीय व्यापारी भारतमा अरु अर्बपतिहरु जति चर्चित छैनन्। किनभने अन्य अर्बपतिले प्रायः आफ्नो सम्पत्ति विरासतमा पाएका हुन्।

व्यावसायिक निर्णयहरुमा उनी आफैँ प्रत्यक्ष संलग्न हुने गरेको बताइन्छ। उनको साम्राज्य बढ्दै जाँदा अदानीका सेयर बजारमा सूचीकृत सात कम्पनीहरुको सेयर मूल्य पनि आकासियो। गएको तीन वर्षमा कतिपय सेयरको मूल्य त १५ सय प्रतिशतभन्दा ज्यादा पनि वृद्धि भयो।

मोदीको निकटताको फाइदा उठाएको आरोपको उनले खण्डन गर्दै आएका छन्। हालैका वर्षहरुमा २२० अर्ब डलरको अदानी ग्रुप साम्राज्यले विदेशी लगानी समेत आकर्षित गर्न थालेको थियो। गत वर्ष फ्रान्सको टोटल इनर्जीले विश्वकै सबैभन्दा ठूलो ग्रिन हाइड्रोजन इकोसिस्टम बनाउन अदानीसँग साझेदारी गरेको थियो। पछिल्लो समय अदानी आफ्नो छवि सुधार्न सक्रिय देखिएका थिए। उनले स्थानीय र विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता पनि दिन थालेका थिए।

गतमहिना जनताकी अदालत नामक टेलिभिजन शोमा देखिएका अदानीले कडा प्रश्नहरुको जवाफ दिएका थिए। त्यसबेला उनले आफूलाई लजालु व्यक्तिका रुपमा चित्रित गरेका थिए। आफू चर्चित हुनुमा विपक्षीहरुको आक्रमण जिम्मेवार रहेको उनको तर्क थियो।

हिन्डेनबर्गसँगको लडाइँ
अदानीमाथि अफसोर कम्पनीहरु राखेर करमा अनुचित लाभ उठाएको र ऋणको मात्रा अत्यधिक रहेको आरोप हिन्डेनबर्गले लगायो। उनको ऋण २३ अर्ब डलरभन्दा ज्यादा रहेको बताइन्छ। सो आरोपपछि अदानी ग्रुपले ४१३ पृष्ठको जवाफ दिँदै आफ्नो प्रतिरक्षा गर्यो। हिन्डेनबर्गको रिपोर्ट भारतमाथि सोचीविचारी गरिएको आक्रमण भएको उसको भनाइ दियो। कम्पनीका एक कार्यकारीले यसलाई जलियावाला बाग नरसंहारसँग तुलना गरे। कतिपय भारतीयहरु सामाजिक सञ्जालमा अदानीको पक्षमा उभिए।

सेयरबजारको घाटा चुलिए पनि अदानी निर्धक्क देखिए। उनले इजरायल पुगेका हाइफा बन्दरगाहको स्वामित्व लिए। र, इजरायलमा थप लगानी गर्ने बाचा पनि गरे। तर, अन्त्यमा उनले पराजय स्वीकार्दै एफपीओ रद्द गराए। उसो त अदानी विवादबाट कहिल्यै टाढा छैनन्। हालै केरला राज्यमा उनले ९० करोड डलर लगानी गरेर बनाउन लागेको बन्दरगाहविरुद्ध मछुवाहरुले महिनौँ आन्दोलन गरेका थिए। त्यसविरुद्ध उनले राज्य सरकार र मछुवाहरुका अगुवालाई मुद्दा हालेका थिए। अस्ट्रेलियामा पनि उनले सञ्चालन गरिरहेको कोइलाखानी विरुद्ध अभियन्ताहरुले आन्दोलन गरिरहेका छन्। अदानीको सेयर मूल्यमा आएको गिरावटले भारतको वित्तीय प्रणालीमा पार्ने प्रभावबारे सरकार चिन्तित देखिएको छ। भारतको केन्द्रीय बैंकले स्थानीय बैंकहरुलाई अदानी ग्रुपलाई कति ऋण दिएका छौ भनेर सोधपुछ गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्