नउम्रिँदै तीन पात भएको पार्टीलाई पदको लोभले तहसनहस पार्दै रविः बैठकमै फुट्ने चर्चा पनि – Janadesh Daily | ePaper

नउम्रिँदै तीन पात भएको पार्टीलाई पदको लोभले तहसनहस पार्दै रविः बैठकमै फुट्ने चर्चा पनि


जनादेश वाच।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रका हुँदा १३ जुन २०२१ मा केरे…केरे…केरे… अदालतको आदेश मान्दिन रे !!?? तिम्रो ‘‘बा’’ को शासन हो र ?? भन्दै ट्विट गरेका थिए।

८ अक्टुबर २०२१ मा रविले अर्को ट्विटमा भनेका थिए, ‘जे ठा न ठान.. गैरसांसद मन्त्री भै छाडे। विधि, पद्धति, आदेश, परमादेश, फ्लोर क्रस र यो लिमिट क्रस… उफ् !!!!’

पूर्वपत्रकारका रुपमा लामिछानेले सामाजिक सञ्जालमा लेखेका यिनै कुरा अहिले निकै चर्चित बनिरहेका छन्। यसको कारण नागरिकता विवादमा सर्वोच्च अदालतले सुनाएको फैसलालाई हेर्नुपर्ने हुन्छ।

राजनीतिमा प्रवेश गरेसँगै रविको विवाद चरम चुलीमा छ। नागरिकता विवाद, राहदानी विवाद, विवादित व्यक्तिलाई श्रम तथा रोजगार मन्त्रीका रुपमा पठाएको विवाद, स्वास्थ्य राज्यमन्त्रीले अस्पताल पुगेर बिरामी भेट््दा स्वास्थ्य मापदण्डको पालना नगरेको विवाद। यी र यस्ता थुप्रै विवादमा रवि र उनको पार्टी मुछिएको छ। पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने तर अहिले सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट उनको आलोचना भइरहेको हो।

उनले हिजो पत्रकार हुँदा टेलिभिजनको पर्दामा गैरसांसद मन्त्री बन्ने भन्दै चोर औंला उठाउँदै प्रश्न तेर्स्याएका थिए। अहिले त्यो औंला उनीतर्फ सोझिएको छ। उनी गैरसांसदका रुपमा पुनः गृहमन्त्री बन्ने कसरतमा छन्। सर्वोच्च अदालतले गत शुक्रबार रविलाई अनागरिक घोषणा गरिदिएपछि आइतबार नागरिकता लिएका थिए। अनागरिक भएसँगै चितवन–२ बाट निर्वाचन लडेका रविको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो। तर, रवि नागरिकता लिएकै दिन पुनः पार्टी सभापतिमा नियुक्त भएका थिए।

नागरिकता लिएसँगै नेपाली नागरिक बनेका रवि यतिबेला पुनः गैरसांसदका रुपमा गृहमन्त्री बन्ने दौडमा छन्। उनले पत्रकार हुँदा विधि, पद्धति मिचे भन्दै टेलिभिजनको पर्दामा कराउँदै लामो सुस्केरा सुसेलेको भुलिसकेका छन्।

रविप्रति जनतामा मात्रै होइन, पार्टीभित्रै पनि निराशा र असन्तुष्टि बढ्न थालेको छ। त्यसको संकेत हो, रास्वपाका चितवन सभापति धर्मेन्द्र सापकोटाको राजीनामा। रविलाई चितवन क्षेत्र २ बाट सांसद जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सापकोटाको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसलाई रास्वपाप्रति अविश्वास तथा निराशाको सुरुवातका रुपमा लिइएको छ। सापकोटाले केही व्यक्तिको मनोमानी चलेकाले आफू पार्टीमा बसिरहन नसकेको बताएका छन्। उनले नेपाल समयसँग कुरा गर्दै धेरै ठूलो इस्यू नभए पनि पार्टीभित्रको समस्याकै कारण परित्यागको निर्णमा पुगेको बताए।

बैठकमै पार्टी फुटको चर्चा
बिहीबार दिउँसो फेसबुकमा रवि लामिछानेले आफू‘अभिमन्यु’ नबन्ने चेतावनी दिएका थिए। संयुक्त बैठकमा पार्टी सभापति रविले सुरुमा संक्षिप्त बोले, ‘आज तपाईंहरुको कुरा सुन्छु । अरु बेलाजस्तो दुई मिनेटमा बोलिसक्नुपर्ने नियम आज छैन । तर सकभर छोटोमा राख्नुहोस् ।’

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केही दिनयता भएका भेटघाट तथा कुराकानीको फेहरिस्त सुनाउँदै आफ्नो दललाई नियोजित रुपमा कर्नर गर्न खोजिएकाले रणनीतिक कदम चाल्न आवश्यक भएको बताएका थिए । उनले गृहमन्त्री नपाउने अवस्थामा सरकार छाड्दा नै उचित हुने भन्दै भिन्न कोणबाट बाहिर टिप्पणी नगर्न अरुलाई आग्रह पनि गरे । उनले मिडियामा को–को कसरी बोलिरहेको छ भन्ने कुरालाई आफूले नियालिरहेको भन्दै घुमाउरो भाषामा चेतावनी पनि दिए ।

आफ्नो बोल्ने पालोमा सांसद तथा केन्द्रीय सदस्य सोविता गौतमले आफूले बाहिरी चर्चाहरुमा पार्टी फुट्दैछ भनेर सुनेको भन्दै असन्तुष्टि जनाइन् । ‘रास्वपा फुट्दैछ भनेर हल्ला चलाइएको छ, तर पार्टी फुट्ने आधार छ कि छैन भनेर कसैले केलाएर हेरेको छ ?’ उनले प्रश्न सोध्दै व्याख्या गरिन्, ‘राजनीतिक दलसम्बन्धी ऐनको धारा ३३ को दफा २ र ३ हेर्नुहोस् । दफा २ ले फुट्न सक्ने आधार दिएको छ । तर दफा ३ ले पार्टी दर्ता भएको ५ वर्ष पुगेपछि मात्रै फुट्न सम्भव हुन्छ ।’

प्रचण्ड र ओलीको फोनले मत्थर भएका रवि
एकातिर पार्टी सभापति रवि लामिछानेको अभिमन्यु नबन्ने, मौनता तोड्ने घोषणा, अर्कातिर सांसदहरुका फरक–फरक विचार । राष्ट्रिय स्वतन्त्र पार्टी दोधारै दोधारमा सरकार छाड्ने डिलमा उभिएको थियो । बिहीबार अपरान्ह रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको थियो । पहिले एमाले अध्यक्ष केपी ओलीले फोन गरे । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक ओलीले रविलाई केही बेर आफ्नै शैलीमा सम्झाए ।

ओलीको फोनवार्ता सकिएको केहीबेरमै रविलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि फोन गरे । रविले उनीसँग छोटो कुराकानी मात्रै गरेका थिए । प्रचण्डले सरकार छाड्ने निर्णय गर्दा राष्ट्रिय राजनीतिमै अस्थिरता आउन सक्ने भन्दै त्यसो नगर्न सम्झाएका थिए । रविले उनलाई बैठकबाटै भनेका थिए, ‘सहमतिको पालना भयो भने हामी कहीँ जाँदैनौं । तर गृहमन्त्री छाड्दैनौं ।’

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्