जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली – Janadesh Daily | ePaper

जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली


जनादेश, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ। उहाँले हाम्रो शिक्षा ‘प्रमाणपत्र’का लागि मात्र भएकाले अबको शिक्षा पद्धतिमा आमूल परिवर्तन र व्यवहारिक बनाउन जरुरी रहेको भन्दै यस्तो बताउनुभएको हो।

blog

शुक्रबार झापाको दमक बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले ७० प्रतिशत प्राविधिक शिक्षा र बाँकी ३० प्रतिशत अन्य शिक्षा बनाउनुपर्ने कुार आफूले बारम्बार बताउँदै आएको उल्लेख गर्नुभयो। उहाँले जीवन उपयोगी शिक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ।

‘‘दैनिक जीवनसँग, पेशासँग, कामसँग र उत्पादनसँग नजोडिएको ज्ञानमात्र हुन्छ। त्यसैले त्यसको अर्थ छैन’’, ओलीले भन्नुभयो। सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानको आवश्यकता रहेको उहाँले बताउनुभयो। ‘‘रोजगारीको अवसर दिलाउन, जीवनमा रुपान्तरण र परिवर्तन ल्याउन जीवन उपयोगी प्राविधिक शिक्षा आवश्यक छ’’, उहाँले भन्नुभयो।

‘‘प्रत्यक्ष रुपमा जीवन र जीविकासँग जोडिएको शिक्षामा प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सीटीईभीटी)ले खेलेको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष ओलीले बताउनुभयो। बेरोजगार उत्पादन गर्ने शिक्षामा हामी धेरै अल्झेकाले अब देशलाई प्राविधिक शिक्षातर्फ लैजानुपर्छ र त्यसका लागि सीटीईभीटीले खेलेको भूमिका महत्वपूर्ण छ’’, अध्यक्ष ओलीले भन्नुभयो।

अहिलेको पढाइ व्यवहारिक नभएको भन्दै पढ्न र लेख्न जान्नेमात्र भएर रोजगार सिर्जना नहुने उहाँले बताउनुभयो। ‘‘भात पकाउन आउँदैन, कपाल काट्न आउँदैन, लुगा धुन आउँदैन अर्थात् पढ्न र लेख्नबाहेक केही पनि आउँदैन भन्नेको जमात धेरै छ’’, अध्यक्ष ओलीले भन्नुभयो। यसको अर्थ हाम्रो शिक्षा अव्यवहारिक र जीवनसँग नजोडिएको उहाँको भनाइ छ।

प्राविधिक शिक्षा तथा सीटीईभीटीले दमक नगरपालिका  वडा नम्बर ४ मा सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको हो। सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले स्थानीय आवश्यकताका आधारमा प्राविधिक विषय यहाँ पढाइ हुने बताउनुभयो। प्राविधिक शिक्षा विस्तारमा  आफूहरु लागेको उहाँको भनाइ छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्