१६ वटा कम्पनीका कर्तुत खुलासा गरिसकेको हिन्डेनबर्ग र मोदीको साथ पाएका गौतम अदानीको युद्ध – Janadesh Daily | ePaper

१६ वटा कम्पनीका कर्तुत खुलासा गरिसकेको हिन्डेनबर्ग र मोदीको साथ पाएका गौतम अदानीको युद्ध


जनादेश अन्तर्राष्ट्रिय वाच।
पछिल्लो साता हिन्डेनबर्ग नामक अमेरिकी कम्पनीले एउटा रिपोर्ट सार्वजनिक गर्‍यो, जसमा भारतका सबैभन्दा धनी व्यक्ति गौतम अदानी र उनको अदानी ग्रुपलाई केही गम्भीर आरोप लगाइयो। परिणाम– रिपोर्ट सार्वजनिक भएको मात्र तीन दिनमा ६५ बिलियन डलरको नोक्सान हुन पुग्यो अदानी ग्रुपलाई। अहिले यो नोक्सान ८६ बिलियन डलर पुगसिकेको छ। हिन्डेनबर्गले अदानीको लिगल टिमलाई खुलेआम चुनौती दियो– हिम्मत भए हिन्डेनबर्गविरुद्ध मुद्दा लगाऊ। हामी मुद्दा लड्न तयार छौं।

फोर्ब्स पत्रिकाको सूचीअनुसार भारतकै सबैभन्दा धनी र विश्वका धनीको शीर्ष १० सूचीमा आउने गौतम अदानीबारे धेरैलाई थाहा हुनुपर्छ। तर, हिन्डेनबर्गबारे कमैलाई मात्र थाहा छ।

 यो कम्पनीको स्थापना सन् २०१७ मा न्याथन एन्डरसनले गरेका थिए। पेशाले एन्डरसन चार्टर्ड फाइनान्सियल एनालिस्ट हुन्। हिन्डेनबर्ग रिसर्चको काम हो– फाइनान्सियल रिसर्च गर्नु। रिसर्च पनि यस्तो ठाउँमा जहाँ सूचना पाउन बहुत गाह्रो हुन्छ। यसका संस्थापक एन्डरसनले अमेरिकाको युनिभर्सिटी अफ कनेक्टिकटमा पढेका हुन्। उनको डिग्री इन्टरनेसनल बिजनेसमा हो। सुरुमा हुने इजरायलमा एम्बुलेन्स ड्राइभरको रुपमा काम गरेका थिए। त्यसपछि उनी अमेरिका फर्किए। उनले आफ्नो फाइनान्सियल करिअरको सुरुवात भने इन्भेस्टमेन्ट म्यानेजेन्ट कम्पनीमा काम गरेर सुरु गरे।

कम्पनीको नाम हिन्डेनबर्ग राख्नुको पछाडि एउटा कारण छ। यसको सम्बन्ध सन् १९३७ मा भएको एउटा दुखद् घटनासँग जोडिन्छ। त्यसबेला एउटा ठूलो हवाईजहाज थियो हिन्डेनबर्ग नामको। यो एरोप्लेन नभएर एयरशिप थियो। यो एयरशिपमा एकदिन उड्दाउड्दै आगो लाग्यो र ३५ जनाको मृत्यु भयो। यो दुर्घटना इतिहासमा निकै चर्चित छ। यसका थुप्रै तस्बिर पनि खिचिएका छन्।

हिन्डेनबर्ग रिपोर्ट आउनासथ अदानी फोर्ब्सको चौथो स्थानमा झरे अनि आठौं हुँदै शीर्ष १० को सूचीबाट पनि बाहिरिए। उनी अहिले (शनिबार) १७ औं नम्बरमा छन्। भारत र एसियाकै धनीसमेत रहेका अदानीको स्थान अब मुकेश अम्बानीले लिएका छन्।

हिन्डेनबर्गका संस्थापक एन्डरसन स्टक मार्केटलाई त्यही दुर्घटनासँग तुलना गर्छन्। उनको दाबी छ– स्टक मार्केट पनि त्यस्तै हो। जुनसुकै बेला क्र्यास हुन्छ। उनको कम्पनीको उद्देश्य नै हिन्डेनबर्गजस्तो दुर्घटना रोक्नु हो। कम्पनीले संसारको भलाइका लागि काम गर्ने उसको दाबी छ।

अब फर्कौं अदानी ग्रुपलाई हिन्डेनबर्गले लगाएको आरोपमा।

अदानी ग्रुपअन्तर्गत सातवटा ठूला कम्पनी छन् स्टक मार्केटमा सूचीकृत भएका। अदानी ग्रिन इनर्जी, अदानी इन्टरप्राइजेज, अदानी ट्रान्समिसन, अदानी ग्यास, अदानी पावर, अदानी पोर्टस र अदानी विल्मर। केही वर्ष अघिसम्म अदानी ग्रुप गुजरातमा मात्रै सीमित थियो। केही वर्षमै अदानीको ग्रोथ नाटकीय रुपमा हुन पुग्यो। ग्रोथ यतिसम्म कि एक समय त गौतम अदानी विश्वका तेस्रो धनी हुन पुगे। उनीभन्दा अगाडि दोस्रोमा जेफ बेजोस र पहिलोमा इलोन मस्कमात्र थिए। उनको नेटवर्थ (कुल सम्पत्ति) १२० बिलियन डलर पुग्यो। यसमध्ये १०० बिलियन पछिल्लो तीन वर्षमा मात्र थपिएको थियो।

हिन्डेनबर्ग रिपोर्ट आउनासथ अदानी फोर्ब्सको चौथो स्थानमा झरे अनि आठौं हुँदै शीर्ष १० को सूचीबाट पनि बाहिरिए। उनी अहिले (शुक्रबार) १७ औं नम्बरमा छन्। भारत र एसियाकै धनीसमेत रहेका अदानीको स्थान अब मुकेश अम्बानीले लिएका छन्।

के छ रिपोर्टमा?
१०६ पेजको हिन्डेनबर्ग रिपोर्टअनुसार अदानी ग्रुपले कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो धोकाधडी (फ्रड) गरेको छ। कम्पनीले यो रिसर्च गर्न दुई वर्षभन्दा बढी समय लागेको दाबी गरेको छ। कम्पनीले अदानी ग्रुपलाई सम्पत्ती शुद्धीकरण, स्टक म्यानिपुलेसन, अकाउन्टिङ फ्रड, भ्रष्टाचार, करदाता कोषको रकम अपचलन आदि आरोप लगाएको छ। रिपोर्टले गौतमका भाइ राजेश अदानीविरुद्ध पनि आरोपहरु लगाएको छ। फर्जी र करछलीमा राजेश यसअघि दुईपटक पक्राउ परिसकेका छन्। उनी अदानी ग्रुपका प्रबन्ध निर्देशक हुन्।

रिपोर्टमा गौतमका साला समीर भोरा पनि आएका छन्। उनी अदानी ग्रुपको अस्ट्रेलियाका कन्ट्री डाइरेक्टर हुन्। गौतमका दाइ विनोद अदानी पनि यसमा मुछिएका छन्। उनले विभिन्न देशमा अदानी ग्रुपको सम्पत्ति शुद्धीकरण गराएको आरोप छ। यसका लागि ३८ वटा अफशोर कम्पनी खडा गरिएको रिपोर्टमा उल्लेख छ। केही समयअघि पनामा पेपर्समा पनि यसको खुलासा गरिएको थियो। यस्ता थुप्रै उदाहरण छन् रिपोर्टमा अदानी ग्रुपले गरेका बदमासीका बारेमा।

के भन्छ अदानी ग्रुप?
२७ जनवरीमा पहिलोपटक अदानी ग्रुपले हिन्डेनबर्ग रिपोर्टको बारेमा प्रतिक्रिया सार्वजनिक गर्‍यो। अदानी ग्रुपको क्रेडिट रेटिङ राम्रो रहेको, सम्पूर्ण ऐनकानुन पालना गरेको आदि तर्क पेश गरियो। त्यसको दुई दिनअघि २५ जनवरीमा अदानी ग्रुपका सीएफओ जगसिन्दर सिंहले रिपोर्ट सार्वजनिक हुने समयले गलत नियतको गन्ध आएको बताएका थिए। अदानी ग्रुपले ल्याउन लागेको एफपीओलाई प्रभावित पार्ने नियतले रिपोर्ट आएको दाबी उनले गरे। २६ जनवरीमा अदानी ग्रुपका लिगल हेडले हिन्डेनबर्गविरुद्ध मुद्दा हाल्ने चेतावनी दिए। हिन्डेनबर्गले तुरुन्त भन्यो– जे गर्नु छ गर।

यहाँ लाग्न सक्छ– हिन्डेनवर्गसँग यत्रो आत्मविश्वास कहाँबाट आयो? हिन्डेनबर्गले यसअघि पनि थुप्रै कम्पनीको बारेमा रिसर्च गरेर सफलता हासिल गरिसकेको छ। १६ वटा कम्पनीलाई हिन्डेनबर्गले अदानीलाई जस्तै आरोप लगाइसकेको छ र प्रमाणित पनि गरेको छ।

२९ जनवरीमा अदानीको तर्फबाट अर्को एउटा रेस्पोन्स आयो ४१३ पेजको (हिन्डेनबर्ग रिपोर्ट १०६ पेजको छ)। अदानीले भने– यो भारतविरुद्धको आक्रमण हो। जवाफमा हिन्डेनबर्गले भन्यो– कुनै पनि प्रश्नको चित्तबुझ्दो जवाफ आएन। हामी आफ्नो रिपोर्टमा अडिग छौं। लागेकै थियो- अदानीले धम्कीको बाटो रोज्छन्, रोजे। अदानीले दुई वर्ष लगाएर बनाइएको हाम्रो रिपोर्टलाई बिना अनुसन्धानको भने। उनले हामीविरूद्ध अमेरिकी र भारतीय कानुनअनुसार कारबाही गर्ने तयारी गरेको पनि बताए। जहाँसम्म कम्पनीले हामीलाई कारबाही गर्ने धम्की दिएको छ, हामी त्यसको स्वागत गर्छौं, किनभने हामी आफ्नो रिपोर्टमा अडिग छौं। अदानी पनि गम्भीर छन् भने उनले अमेरिकामा मुद्दा दायर गर्नुपर्छ। हामीसँग दस्तावेजहरूको लामो सूची छ। कानुनी प्रक्रियाका क्रममा हामी उनीसँग जवाफ माग गर्नेछौं।

६० वर्षीय गौतम अदानी र अदानी ग्रुपलाई अझै मुस्किल हुने देखिएको छ। फोर्ब्सले पनि अदानीलाई एउटा आरोप लगाएको छ। उसको भनाइ छ– अदानी ग्रुपले आफ्नो सेयर आफैं खरिद गरेको छ सेयर मूल्य बढाउनका लागि। त्यसैगरी स्वीसको क्रेडिट स्वीस बैंकले भनेको छ– अब उसले अदानी ग्रुपको बन्डलाई धितोको रुपमा स्वीकार गर्दैन।

यसबीचमा अदानी ग्रुपले जारी गर्न लागेको एफपीओ रद्द गरेको छ। कारण– सेयर मूल्य यति घट्यो कि कम्पनीलाई नै लाजमर्दो भयो।

के होला परिणाम? थाहा भएकै कुरा हो– रिपोर्ट सत्य साबित भए सम्पूर्ण फाइदा हिन्डेनबर्गलाई हुनेछ। उसले गर्न खोजेको सर्ट सेलिङ (कुनै पनि कम्पनीको सेयर मूल्य गिराएर फाइदा लिने काम) मा सफल हुनेछ। अदानी ग्रुपलाई अपूरणीय क्षति हुनेछ। अनि आरोप पुष्टि नभए नोक्सान हिन्डेनबर्गलाई अनि अदानीलाई फाइदैफाइदा।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्