प्रधानमन्त्री प्रचण्डलाई रिझाउन सबै सूत्र लगाउँदै कांग्रेसः माओवादीले जहाँ उम्मेद्ववारी दिए पनि समर्थन – Janadesh Daily | ePaper

प्रधानमन्त्री प्रचण्डलाई रिझाउन सबै सूत्र लगाउँदै कांग्रेसः माओवादीले जहाँ उम्मेद्ववारी दिए पनि समर्थन


जनादेश वाच।
आइतबार राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी नेतृ उर्मिला अर्याल निर्विरोध चयन हुने निश्चित छ। अन्तिम समयसम्म उनको मात्रै उम्मेदवारी परेको छ। आज निर्वाचन गर्ने भनिए पनि एकल उम्मेदवारी परेका कारण उनलाई नै निर्विरोध निर्वाचित भएको घोषणा हुन मात्रै बाँकी छ। उनी निर्विरोध हुनुमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएर सघाएको देखिन्छ। कांग्रेस सभापति शेरबादुर देउवाको निवासमा आइतबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिएर माओवादीलाई सघाउने निर्णय गरेको थियो।

देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकमा कांग्रेस नेता तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टीले माओवादीको उम्मेदवारलाई सघाउने निर्णय गरेको बताएका थिए। लेखकले सर्वसम्मत होस् भन्ने उदेश्यले आफूहरुले माओवादीबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएकी अर्याललाई सघाउने निर्णय गरेको बताएका थिए।

रोचक त के छ भने कांग्रेसले प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवारविरुद्ध हार्ने देखिँदा देखिँदै पनि उम्मेदवारी दिएको थियो। गत माघ ५ मा भएको प्रतिनिधि सभा सभामुखको निर्वाचनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। घिमिरेलाई वर्तमान सत्तागठबन्धनले उम्मेदवार बनाउँदा नेपाली कांग्रेसले केही साना दलहरुको साथ लिएर ईश्वरी न्यौपानेलाई अगाडि सार्यो। सभामुखमा सत्तागठबन्धनको बहुमत हुँदा हुँदै किन उम्मेदवारी दिएको भन्दै त्यतिबेला कांग्रेस प्रमुख सचेतक लेखकलाई पनि संचारकर्मीहरुले प्रश्न गरेका थिए।

तर, लेखकले सभामुख जस्तो पदमा सर्वसम्मत नहोस् भन्ने उद्देश्यका साथ आफूहरु उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताएका थिए। त्यसैगरी उप–सभामुख निर्वाचनमा पनि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्दिरा राना मगरविरुद्ध पनि उम्मेदवारी दिएको थियो। मगरविरुद्ध कांग्रेसले मुक्ता यादवलाई अघि सारेको थियो। यसअघि ०७४ को निर्वाचनपछि पनि तत्कालीन वाम गठबन्धनको प्रष्ट बहुमत हुँदा सभामुखमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महराविरुद्ध पनि उम्मेदवारी दिएन। त्यसबेला भने कांग्रेसले सभामुखजस्तो महत्त्वपूर्ण पदमा सर्वसम्मत होस् भन्ने हेतुले महराविरुद्ध उम्मेदवारी नदिएको बताएको थियो। तर त्यही कांग्रेस हो जसले यसपटक एमालेको उम्मेदवारको हकमा सर्वसम्मतिको कुरा लागू गर्न। अहिले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा पनि माओवादीको उम्मेदवार भएकाले कांग्रेसले विरुद्धमा उम्मेदवारी दिएन।

हुन त १० पुषमा आफ्नो नेतृत्वको गठबन्धन त्यागेर एमालेसँग मिलेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेदेखे नै कांग्रेसले माओवादीप्रति उदारता देखाउँदै आएको छ। २६ पुषमा प्रधानमन्त्रीले विश्वासको मत लिँदैगर्दा कांग्रेसले पार्टीभित्रको फरक मतलाई थाती राख्दै विश्वासको मत दियो। सार्वजनिक रुपमासमेत चर्को आलोचना खेपे पनि कांग्रेस त्यसयता लागातार माओवादीप्रति ‘अपत्यारिलो’ ढ्रगले उदारता देखाउँदै आएको छ। जसलाई धेरैले वर्तमान सत्तागठबन्धनभित्र फाटो ल्याउने रणनीतिको रुपमा व्याख्या गर्ने गरेका छन्।

निशानामा राष्ट्रपति
सभामुखमा आफनो उम्मेदवार हारेपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै सभामुखमा आफूहरु पराजित भए पनि राष्ट्रपतिमा कांग्रेसले नै सिफारिस गरेको उम्मेदवार विजयी हुने ठोकुवा गरे। कांग्रेस महामन्त्री शर्माले त्यसयता पनि पटक पटक त्यो कुरा दोहोर्या उँदै आएका छन्। राजनीतिक जानकारहरु यतिबेला कांग्रेस माओवादीलाई जसरी पनि एमालेसँग टाढा पारेर फेरि कांग्रेससहितको विगतको गठबन्धन बनाउने उद्देश्यका साथ अघि बढेको दाबी गरिरहेका छन्।

यो दाबी गर्नेमा कांग्रेसकै नेताहरु पनि छन्। तर उनीहरु औपचारिक रुपमा यो कुरा बोल्न तयार छैनन्। यता कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीलाई आफूतिर तान्नसक्ने आकलन गर्दै एमाले त्रसित छ। आइतबार मात्रै प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले कांग्रेसमाथि तथानाम आरोप लगाउँदै गठबन्धन भत्काउने सपना नदेख्न चेतावनी दिएका छन्।

हुन त २६ पुषमै कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैगर्दा ओलीले ‘माछा पर्छ कि भनेर जाल नफयाक्न’ कांग्रेसलाईसचेत गराएका थिए। यद्यपि, कांग्रेसले माओवादीलाई आफूतिर तान्ने जाल फ्याँक्न छाडेको छैन। सातवटै प्रदेशमा सरकार बन्दा माओवादीका भागमा परेका सरकारलाई कांग्रेसले सर्मथन गरेको छ भने माओवादीले पाएको सभामुखविरुद्ध उम्मेदवारी दिएन। तर, एमालेले पाएको मुख्यमन्त्रीहरुको ठाउँमा न त कांग्रेसले सर्मथन गरेको न त उसको सभामुखहलाई निर्विरोध नै हुन दियो। यसरी हेर्दा माओवादीलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा कांग्रेस देखिन्छ। कांग्रेस नेताहरु भने आफूहरुले माओवादीप्रति देखाइरहेको उद्धारतको ऋण माआवादीले राष्ट्रपति निर्वाचनमा तिर्ने बताइरहेका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले त राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क रहेकोसमेत दाबी गरेका छन्। उनले माओवादीसँग त्यस विषयमा अनौपचारिक स्तरमा कुराकानी चलिरहेको पनि खुलाए। यद्यपि, कांग्रेस र माओवादीबीच कसरी कुराकानी अगाडि बढिरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड पुष २५ गते बेलुका कांग्रेस सभापति देउवा निवास नै पुगेका थिए। त्यहाँ उनले कांग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालाईसमेत राखेर कुरा गरेका थिए। त्यसपछि कांग्रेस माओवादीप्रति नतमस्तक देखिएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्