टर्कीमा साढे ७ रेक्टर माथिका दुई शक्तिशाली भूकम्प, उद्धारकर्मी रातभर सक्रिय, ३५ सयको मृत्यु – Janadesh Daily | ePaper

टर्कीमा साढे ७ रेक्टर माथिका दुई शक्तिशाली भूकम्प, उद्धारकर्मी रातभर सक्रिय, ३५ सयको मृत्यु


जनादेश वाच।

टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ।

दुवै भूकम्पका कारण ३,५०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्मीहरूले रातभर सक्रिय रूपमा काम गरिरहेका छन्। टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए। उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ।

द्वन्द्व प्रभावित उत्तरी सिरियामा मात्रै हालसम्म १४०० जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो। टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

अन्तर्राष्ट्रिय सहयोगको आह्वान
राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ।”

उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए। टर्कीको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेपछि विभिन्न देशले सहयोगको वाचा गरेका छन्। कतिपय देशहरूबाट खोज उद्धार र राहतका लागि सहयोग परिचालन गरिएको विवरण प्राप्त भएको छ। भूकम्प गएको स्थान दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ।

क्षतिको विवरण आउने क्रम जारी
भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ। कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्। भूकम्पपछि परकम्पहरू पनि महसुस गरिएका विवरण आएका छन्।

भूकम्पको केन्द्रबिन्दु रहेको गाजीयान्टेपमा रहेको दुई हजार वर्षभन्दा पुरानो गाजीयान्टेप कासलका अधिकांश हिस्सामा क्षति पुगेको छ। दियारबाकरस्थित संवाददाताका अनुसार त्यहाँ एउटा सपिङ मल भत्किएको छ।

गाजा स्ट्रिपमा रहेका रुश्दी अबुअलौफले आफू बसेको घर करिब ४५ सेकेन्ड हल्लिएको बताए। टर्कीका भूकम्पविद्ले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो। सन् १९९९ मा देशको उत्तर-पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए। यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिएका छन्।

युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ। द नेदरल्यान्ड्स र रुमेनियाका खोजी तथा उद्धारकर्ताहरू उद्धारकार्यमा सघाउन निस्किसकेका छन्।
फ्रान्स र जर्मनीसहितका देशले सहयोग गर्ने जनाएका छन्।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्