राष्ट्रपति चुनावले सत्ता समीकरण फेरिने सम्भावना कतिः यस्तो छ माओवादी र एमालेको बुझाई – Janadesh Daily | ePaper

राष्ट्रपति चुनावले सत्ता समीकरण फेरिने सम्भावना कतिः यस्तो छ माओवादी र एमालेको बुझाई


जनादेश वाच।
आइतबार राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी नेता उर्मिला अर्याल निर्विरोध निर्वाचित भएसँगै अब सबैको ध्यान फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ। महत्त्वपूर्ण संवैधानिक पदमध्ये अब राष्ट्रपति र उपराष्ट्रपतिको मात्र निर्वाचन हुन बाँकी छ। उपराष्ट्रपति निर्वाचन भने राष्ट्रपति निर्वाचनको एक सातापछि हुने छ।

धेरैको आकलन राष्ट्रपति निर्वाचनमा केही न केही ‘आश्चर्य’ हुन्छ भन्ने छ। त्यो ‘आश्चर्य’ भनेको वर्तमान सत्ता गठबन्धनभित्र भएको ‘भागबन्डा’अनुसार नेकपा एमालेको भागमा परेको राष्ट्रपति पद एमालेबाट फुत्किएर अरूकै अर्थात् सम्भवतः नेपाली कांग्रेसको हातमा पुग्छ भन्ने हो। अबका एक महिनामा विकसित हुने घटनाक्रममा यो आकलन निर्भर हुने छ। तर, सोमबारसम्मका घटनाक्रमले त्यसका केही अर्थपूर्ण संकेत भने गरेका छन्।

सबैभन्दा पहिले सोमबारकै घटनाक्रम हेरौँ। राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी अर्याल निर्विरोध निर्वाचित हुनुको कारण उनको मात्र उम्मेदवारी पर्नु थियो। किनभने कांग्रेसले पनि अर्याललाई सघाउन उम्मेदवारी नदिने निर्णय गरेको थियो। आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिएर माओवादीलाई सघाउने निर्णय गरेको थियो। यसअघि सभामुख र उपसभामुखमा उम्मेदवारी दिएको कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षका लागि भएको निर्वाचनमा भने माओवादीलाई सघाउने निर्णय गर्नुका पछाडि उसले महत्त्वपूर्ण घडीमा माओवादीको साथ लिन खोजेको देखिन्छ। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिँदा पनि कांग्रेसले उनलाई विश्वासको मत दिएको थियो।

कांग्रेसले यी दुवै निर्णयमार्फत अब हुने राष्ट्रपति निर्वाचनलाई ‘निशाना’ बनाएको देखिन्छ। माओवादीले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति खोज्नुपर्ने’ बताइरहेकै छ। त्यसमाथि कांग्रेसको यस्तो ‘मूभ’कै कारण कतिपयले राष्ट्रपति निर्वाचनसँगै वर्तमान सत्ता समीकरणसमेत फेरिन सक्ने लख काट्न थालेका छन्। सतहमा देखा परेका केही घटनाक्रम र नेपथ्यमा समेत भइरहेका कतिपय ‘चलखेल’लाई आधार बनाएर यस्तो चर्चा हुन थालेको छ। के राष्ट्रपति निर्वाचनसँगै समीकरणमै फेरबदल आउन सक्छ?

गठबन्धन टुटाउन प्रयत्नरत कांग्रेस, जोगाउन खोजिरहेको एमाले
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको भनाइले पनि यसबारे प्रष्ट संकेत गर्छ। महतले परिस्थितिलाई ध्यानमा राखेर राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिइएको बताए। “हामीले राष्ट्रपतिको निर्वाचनलाई ध्यानमा राखेर निर्णय लिएका हौँ। राष्ट्रपतिमा हामी संविधान, लोकतन्त्रको रक्षा गर्ने उम्मेदवार दिन्छौँ भनिरहेका छौँ,” उनले भने, “यस विषयमा सरकारमा रहेका दल र बाहिर रहेका सबै दलसँग संवाद गरिरहेका छौँ।”

गत पुस १० गते आफ्नो नेतृत्वमा रहेको गठबन्धनबाट बाहिरिएर, एमालेसहितका दलको गठबन्धनबाट दाहाल प्रधानमन्त्री बनेपछि कांग्रेसले माओवादीप्रति अनौठो ‘उदारभाव’ देखाइरहेको छ। तर, यो अहिले मात्र देखिएको होइन। २०७४ को निर्वाचनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयनका क्रममा पनि कांग्रेसले माओवादीको तर्फबाट उम्मेदवार बनेकाविरुद्ध उम्मेदवारी दिएको थिएन। तर, यसपालि चाहिँ कांग्रेस वर्तमान सत्ता गठबन्धन भत्काएर राष्ट्रपतिको निर्वाचनसम्म राजनीतिक समीकरण नै फेर्न चाहिरहेको देखिन्छ। कांग्रेसका नेताहरू यसका लागि गरिएका प्रयत्नबारे हाकाहाकी बताउन थालेका छन्।

गत मंसिर ४ मा को निर्वाचनबाट प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेस अहिले संघ र प्रदेश सबैतिर प्रतिपक्षमा छ। महत्त्वपूर्ण राजकीय पदहरू पनि गुमाइरहँदा कांग्रेसले राष्ट्रपतिमा आफूले खडा गरेको उम्मेदवारलाई जसरी पनि जिताउने लक्ष्य राखेको देखिन्छ। यहीकारण पनि सत्तागठबन्धनका नेताहरू कांग्रेसले गठबन्धन टुटाएर राष्ट्रपतिमा लाभ लिन खोजेको बताउँछन्।

“कांग्रेसलाई त सकेसम्म यो गठबन्धन टुटाउन पाए हुन्थ्यो भन्ने नै छ। त्यसका लागि नै उसले जतिसक्दो प्रयास गरिरहेको छ”, एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, “तर, त्यसको कुनै अर्थ छैन। वर्तमान गठबन्धन यताउता हुँदैन, पूर्वसहमतिअनुसार नै अघि बढ्छ।”

यहीबीचमा विकसित अर्को घटनाले समीकरण फेरिन सक्ने आशंकालाई बल पुर्‍याएको छ। त्यो हो, सत्तागठबन्धनको एक महत्त्वपूर्ण घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिनु। गठबन्धनभित्र भएको भागबन्डाका क्रममा आफ्नो भागमा परेको गृह मन्त्रालय दिन प्रधानमन्त्री दाहाल तयार नदेखिएपछि रास्वपा सरकारबाट बाहिरिएको हो। सर्वोच्च अदालतको फैसलाबाट रास्वपा सभापति रवि लामिछाने गृहमन्त्रीबाट पदमुक्त भएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले आफूसँगै राखेका छन्।

यसै पनि दाहाललाई प्रधानमन्त्री बन्न सघाएका जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट थिए। असन्तुष्टिकै कारण उनीहरू सरकारमा सहभागी भएका छैनन्। राष्ट्रपतिमा ‘सहमति खोज्नुपर्ने’ माओवादीको धारणाले गठबन्धनको प्रमुख घटक एमाले पनि दाहालसँग असन्तुष्ट बनेको छ, भलै त्यसलाई प्रकट गरिरहेको छैन। रास्वपाले सरकारलाई दिएको समर्थन तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। तर, उसको आगामी कदम धेरै हदसम्म एमालेमा निर्भर हुने आकलन गरिएको छ।

एकातिर गठबन्धनभित्र विकसित भएका र हुँदै गरेका यस्ता घटनाक्रम, अर्कोतर्फ यो गठबन्धन भत्काउन कांग्रेसले चलेको चालका कारण पनि यो समीकरण धेरै लामो जाँदैन भन्ने अड्कलबाजी भइरहेको छ। विश्लेषक झलक सुवेदी वर्तमान सत्तागठबन्धनको भविष्य अन्योलपूर्ण बनेको बताउँछन्। “गठबन्धनको राजनीतिक नेतृत्व प्रचण्डलाई दिएको भए उनले व्यवस्थापन गरेर जान सक्थे। गठबन्धन पनि अघि बढ्न सक्थ्यो । तर, राप्रपा र रास्वपालाई गठबन्धनमा ल्याएर ओली नेता हुन पुगे,” उनले भने, “शुरूआतमा नै शंकाको सुविधासहित बन्न पुगेको गठबन्धन अहिले संकटमा छ। मूल नीतिगत कुरामा बाहेक अन्य कुरामा प्रधानमन्त्रीलाई खुला छाडेमा यो अघि बढ्न सक्छ, नत्र संकट आउन सक्छ।”

माओवादी केन्द्रका सचिव राम कार्कीले यही गठबन्धन निरन्तर रहने र कुनै पनि विषयले समस्या नआउने दाबी गरे। “अहिले गठबन्धनमा कुनै संकट आएको छैन। खतरा पनि छैन। राष्ट्रपतिको विषयले पनि समस्या आउँदैन,” कार्कीले भने, “हामीले त राष्ट्रपतिको हकमा सकेसम्म साझा उम्मेदवार बनाउने भनेर पहल गरिरहेका हौँ। यसमा एमाले पनि सकारात्मक नै बन्छ।”

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु र राष्ट्रियसभा उपाध्यक्षमा माओवादी उम्मेदवारविरुद्ध उम्मेदवारी नदिनुले राष्ट्रपति निर्वाचनमा माओवादीले धोका दिने हो कि भन्ने आशंका एमालेमा बढ्दो छ। गठबन्धनमा संकट आउन नदिन र ‘कांग्रेस रणनीति’ सफल हुन नदिन एमालेले गठबन्धनका दलहरूसँग निरन्तर संवाद पनि गरिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको विषयमै प्रधानमन्त्री दाहालसँग पटक–पटक संवाद गरेका छन्। माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल भने राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धनमा तलमाथि नहुने र शंका गर्नुपर्ने कुनै कारण नरहेको बताउँछन्।

एमाले उपाध्यक्ष ज्ञवाली पनि राष्ट्रपतिको विषयलाई लिएर वा अन्य कुनै कारणले वर्तमान गठबन्धन भत्किने र सरकार ढल्ने अवस्था नरहेको बताउँछन्। “राष्ट्रिय सहमति गर्ने माओवादीको प्रयत्न हो। त्यो भएन भने गठबन्धन बन्दा जुन सहमति भएको छ त्यसैअनुसार नै अघि बढ्छ। राष्ट्रपतिका लागि सहमतिको प्रयास गरौँ भन्ने प्रयाससम्म उहाँहरूको होला,” उनले भने, “नयाँ समीकरण बन्न लागेको हो कि भनेर अनुमान गर्नु उचित हुँदैन। जे सहमति भएको छ, त्यसैअनुसार अघि बढ्छ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्