युएसएआइडीका प्रशासक पावर नेपालमा – Janadesh Daily | ePaper

युएसएआइडीका प्रशासक पावर नेपालमा


अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ ।

आफ्नो भ्रमणका क्रममा उहाँले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । प्रशासक पावरले युएसआइडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्नुहुने बताइएको छ ।

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसआइडीको प्रतिबद्धतालाई उजागर गर्नुहुनेछ । उहाँले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नुहुनेछ । साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको विकासमा युएसएआइडीले निर्वाह गरेकोे भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएआइडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

को हुन प्रशासक पावर

समान्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको हो । उहाँले विश्वको अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आउनुभएको छ ।
पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत हुनुहुन्थ्यो । सो समयमा उहाँले इबोला महामारीविरुद्ध लड्न, पेरिस जलवायु सम्झौता अनुमोदन गर्न र आइएसआइएसको वित्तीय सञ्जाल कमजोर पार्ने नयाँ अन्तर्राष्ट्रिय कानुन विकास गर्न देशहरूलाई एकजुट गर्नुभएको थियो ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो ।

उहाँले आफ्नो पेसागत जीवनको सुरुआत बोस्नियामा एक युद्ध संवाददाताका रूपमा गर्नुभएको थियो । कोसोभो, रुवान्डा, सुडान र जिम्बाब्वेलगायत स्थानबाट रिपोर्टिङ गर्नुभएकी पावर विभिन्न पुस्तककी लेखिका तथा सम्पादक हुनाका साथै गैरआख्यान विधामा सन् २००३ को पुलित्जर पुरस्कारको विजेता पनि हुनुहुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्