टर्कीको भयावह भूकम्पः ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, कस्तो छ अवस्था के भन्छन् नेपाली – Janadesh Daily | ePaper

टर्कीको भयावह भूकम्पः ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, कस्तो छ अवस्था के भन्छन् नेपाली


जनादेश अन्तर्राष्ट्रिय वाच।
टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।

यसैगरी सिरियामा कम्तीमा एक हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्याङ्ग्रिँदो जाडोको सामना गरिरहेका छन् ।

धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ ।

चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भने, ‘टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य शुरू गर्नेछ ।’

उद्धार कार्य कति प्रभावकारी?
केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन्। टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएका छन्। तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास “अपर्याप्त” भएको जनाइरहेका छन्। धेरैले ट्विटरमार्फत मद्दतको आग्रह गरेका छन्। उनीहरूले आफ्ना आफन्तहरू भग्नावशेषमुनि रहेको र भूकम्प गएदेखि सहायता नपाएको बताएका छन्।

नेपालको बारा जिल्ला घर भई हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बीबीसीसँग बताएका छन्। उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गरेका छन्। यद्यपि, अहिले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पनि बढाइएको बताइएको छ। यूके, अमेरिका, चीन र रुसलगायत धेरै देशले खोज र उद्धार विज्ञहरू सहित सहायता प्रदान गरिरहेका छन्।

महत्त्वपूर्ण पूर्वाधारमा क्षति
भूकम्पका कारण टर्कीको इस्केन्दरुन बन्दरगाहमा आगलागी भएको थियो। अहिले आगो निभाइएको अधिकारीहरूले बताएका छन्। त्यहाँ रहेका कयौँ ढुवानी गर्ने कन्टेनरमा आगो लागेको थियो। आगलागी नियन्त्रणका लागि विमान तथा हेलिकप्टर प्रयोग गरिएको थियो। प्रमुख ढुवानी कम्पनीहरूले त्यस क्षेत्र नजिकका अन्य बन्दरगाहहरूमा जहाज डाइभर्ट गर्न थालेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्