चीन थप आक्रमकतासहित दक्षिण एसियामा आएको बेला विश्व व्यवस्थामा नयाँ भूमिका खोज्दै भारत – Janadesh Daily | ePaper

चीन थप आक्रमकतासहित दक्षिण एसियामा आएको बेला विश्व व्यवस्थामा नयाँ भूमिका खोज्दै भारत


जनादेश अन्तर्राष्ट्रिय वाच।

कन्स्टान्टिनो जेभियर
द्रुतगतिमा बद्लिँदो एसियाली सुरक्षा सन्दर्भले असंख्य चुनौती ल्याउँछ । भारतको आँखा भने यसले ल्याउने अवसरको क्षितिज नियाल्नतिर केन्द्रित छ। भारतको यो सकारात्मक सोच समग्रमा वैश्विक अस्थिरताको समयमा यसका क्षमता र पुलको काम गर्न सक्ने शक्तिको उपयोगिता अपरिहार्य हुन्छ भन्ने बुझाइमा आधारित छ।

भारतका लागि आजका प्रणालीगत संक्रमणका जोखिम वास्तविक हुन्, तर अनिश्चिताको विद्यमान कुइरो भने चिन्ताको स्रोत हैन। आफ्ना धेरैजसो पश्चिमा सहयोगी र एसियाली समकक्षीको विपरीत नयाँ दिल्लीका निर्णयकर्ता द्रुतरूपमा विकसित भइरहेको वातावरणलाई आशावादका साथ अवसरको रूपमा बुझ्दछन् ।

नयाँ दिल्लीका हालैका केही नीतिहरूले आफ्नो सन्तुलनकारी कार्यभार कायम राख्न कसरी काम गरिरहेको छ भन्ने प्रष्ट्याउँछ । नयाँ दिल्लीले क्वाड र मध्यमार्गी शक्तिसँग संलग्न भएर आफ्नो चीन नीतिलाई पुनर्समायोजन गर्‍यो । तर, रुससँगको सम्बन्धलाई पनि निरन्तरता दियो । ‘वैश्विक दक्षिण’ सँग विकासका कारणलाई जारी राख्न महारथ हासिल गर्‍यो ।

चुनौतीहरूको निरन्तरता

भारतको रणनीतिक वातावरणमा विरलै कुनै शान्त अवधि आयो होला तर वितेका दुई वर्ष विशेषत: चुनौतीपूर्ण हुँदै छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा– सन् १९७२ को युद्धपछि दशकौंदेखि विस्तारै सम्मिलत हुँदै आएको चीनसंँगको सम्बन्ध बिग्रियो । सन् २०२२ मा हिमालयमा दुई छिमेकी राष्ट्रहरूको सैन्य तनाव ४५ वर्षयताकै घातक बन्यो र उल्टो अधोगतितिर लाग्यो।

हुन त, त्यो स्थानीय द्वन्द्व थियो, भूभागको विवादमा केन्द्रित थियो तर, त्यसले ठूलो आर्थिक र राजनीतिक प्रभाव पार्‍यो । लगभग सबै स्तरमा भारत–चीन सम्बन्ध चिसिन पुग्यो । बेइजिङ यथास्थितिमा फर्किन तथा नयाँ अतिक्रमित भूभागलाई कायमै राखेर सम्बन्ध सामान्य बनाउन इच्छुक छ, तर नयाँदिल्ली भने कठोर पुनर्याेजनका लागि अडिग छ ।

दशकौंपछि पहिलोपटक चीनलाई विश्वास गर्ने र उसँग संलग्न हुने राजनीतिक पुँजी नयाँ दिल्लीका लागि निख्रिएको छ। ठीक त्यसैगरी चीनले थप आक्रमकतासहित दक्षिण एसियामा भारतको परम्परागत प्रभाव क्षेत्र समेत अतिक्रमण गरेको छ । नेपालमा गठबन्धन सरकारको गठनमा होस् वा बंगलादेशमा सैन्य आधुनिकीकरणका लागि होस् वा श्रीलंकाको आर्थिक भविष्यका लागि चीन अब यो क्षेत्रभरि भारतीय स्वार्थको सट्टामा आफैँ गहिरो संलग्नता भएको खेलाडी हो ।

पश्चिमतिर सन् २०२१ को युद्धविरामपछि पाकिस्तानसँगको पर्दापछाडिका वार्ताले कुनै प्रगति हासिल गरेको छैन । पाकिस्तानको नागरिक–सैन्य तनावको चक्र, बिग्रँदो आर्थिक स्थिति र चीनतिरको बढ्दो निर्भरताप्रति भारत एक चिन्तित र निरिह रमिते मात्र बनेको छ ।

काबुल हात पारेको तालिबान र पाकिस्तानले फर्जी युद्धका लागि उक्साएका आतंकवादी समूहहरूको समिश्रणले भारतको क्षेत्रीय सुरक्षा वातावरणलाई धक्का लागेको छ। विश्वस्तरमा रुसको युक्रेनमाथिको आक्रमणले भारतका लागि एक कठिन परीक्षा निम्त्यायो । रुसले आफ्नो अपरिहार्य संरचनात्मक पतनलाई आफैँ उल्ट्याउँछ भन्ने भ्रममा अब कुनै पनि भारतीय नीति-निर्माता छैनन् ।

तर, मस्को अझै पनि एउटा त्यस्तो शक्तिकेन्द्र हो, जसलाई भारतले बेवास्ता वा विचलित गर्न सक्दैन । त्यही कारण हो कि भारतले युक्रेन आक्रमणप्रति नम्र प्रतिक्रिया जनायो र संयुक्त राष्ट्र संघीय मतदानमा अनुपस्थित रह्यो । अमेरिका र युरोपेली दबाबका बाबजुद भारत दुईवटा फरक-फरक कारणले आफ्नो अडानमा दृढ छ।

देखिनेगरी, ठोस रणनीतिक कारण र चासोहरूलाई पर्गेल्दा भारतको रक्षा साझेदारका रूपमा रुसको प्रमुख र भरपर्दो भूमिका, ऊर्जाको स्रोत राष्ट्र र मस्कोसँग भएको संयुक्त राष्ट्र संघको भिटो अधिकार हो । थप अमूर्त रणनीति र सांकेतिक चासोलाई पर्गेल्दा चीनमाथि रुसको बढ्दो निर्भरता कम गर्ने भारतको प्रयास र कुटनीतिक रूपमा एक स्वतन्त्र नयाँ खेलाडीका रूपमा आफूलाई विश्वस्तरमा प्रस्तुत गर्ने नयाँ दिल्लीको मनसाय देख्न सकिन्छ ।

यसबाट भारतले अमेरिकाको दबाब सामना गर्न र पक्ष लिन अस्वीकार गर्न सक्ने सक्षमता भएको, एसियाली र अफ्रिकी देशहरूको मौन बहुमतजस्तो बनेको तेस्रो ध्रुवको नेतृत्व गर्ने मनसाय प्रकट हुन्छ ।

अवसरहरूको खोजी

भारतका लागि यी सबै चुनौती र जोखिम वास्तविक हुन् । तर, प्रणालीगत संरचनाको विद्यमान कुहिरो रणनीतिक खतरा वा चिन्ताको स्रोत भने हैन । बरु भारतीय प्रतिक्रियाले बढ्दो अव्यवस्थाबीच उत्सुकतापूर्ण र सकारात्मक दृष्टिकोणको संकेत गरिरहेको हुन्छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्नो एक किताबमा अन्तर्राष्ट्रिय राजनीतिमा भारतले लिनुपर्ने बाटोको वर्णन गर्दै त्यसलाई ‘अनिश्चित संसारका रणनीति’ भन्ने नाम दिएका छन् । त्यसले तात्कालीन भारतीय नीतिका ४ वटा पक्षको संकेत गर्दछ ।

पहिलो– नयाँ दिल्लीको आँखाबाट हेर्दा चीनको बढ्दो केन्द्रीकरण र प्रभावले विरोधाभाषपूर्णं तबरले यस क्षेत्रभित्र र बाहिरका राज्यद्वारा नयाँ सन्तुलनकारी व्यवहारलाई सुरुवात गरिएको छ । उदाहरणका लागि रोड एन्ड बेल्ट इनिसिएटिभप्रति प्रारम्भमा जुन उत्साह थियो, तर, त्यसको लगानी भने अहिले सुकेको छ ।

फलतः धेरै दक्षिण र दक्षिणपूर्वी एसियाली देशले त्यसको विकल्पमा भारतको सानिध्यता खोज्दै रणनीतिक विविधीकरणको नीति पछ्याइरहेका छन् चाहे व्यापारिक सम्बन्धलाई प्रगाढ बनाएर होस् वा रक्षा सहयोगका लागि जोड दिएर।

भारतीय नौसेनासँग संयुक्त सैन्य अभ्यास गर्ने माग निकै उच्च छ । र चीनको बढ्दो केन्द्रीयतालाई न्यूनीकरण गर्न आरसीईपीमा भारत संलग्न हुने आशा धेरै एसियाली देशले छोडेका छैनन् ।चीनमा बढ्दो रणनीतिक निर्भरता कम गर्न खोज्ने देशका मागलाई रेस्पोन्स गर्न क्वाड भारतका लागि एक राम्रो हतियार भएको छ । चीनको मुखर विमतिका बाबजुद सन् २०१७ देखि भारत क्वाडलाई जीवन्त राख्न अमेरिका, जापान र अस्ट्रेलियासँगसँगै नेतृत्वदायी भूमिका गरिरहेको छ।

चीन क्वाडसँग डराएको भनेकै भारतको सहभागिताले गर्दा हो । अन्यथा यसलाई अमेरिकी नेतृत्वको सुरक्षा सम्झौता ‘एसियन नेटो’ का रूपमा भाष्यकरण गर्न चीनलाई सजिलो हुन्थ्यो । चीनका चासो त्यतिखेर प्रष्ट भए जब ढाकामा केही कुटनीतिज्ञले बंगलादेशलाई कुनै हालतमा क्वाडमा संलग्न गर्नु नहुने चेतावनी दिए ।

त्यस्ता भनाइ र दबाबलाई बेवास्ता गर्दै भारतले क्वाडमा सैन्य र रक्षा उपकरणजस्तो संलग्नतालाई मध्यस्थता गर्दै अधिक नागरिक रूपमा पुनर्प्रक्षेपित गर्न महत्त्वपूर्ण भूमिका गर्दै आएको छ। नयाँ दिल्लीले सार्वजनिक वस्तुको समन्वयित प्रावधानका लागि क्वाडको एजेन्डामा खोप उत्पादन र वितरण, लचिलो आपूर्ति श्रृंखला, खुल्ला दूरसञ्चार संयन्त्रिकी, सामुद्रिक क्षेत्रको सजकता, पूर्वाधार वित्त व्यवस्थालाई समावेश गर्न सक्रिय योगदान गरिरहेको छ।

दोस्रो– भारतले एसियाका अन्य मध्यशक्तिहरूसँग त्रिपक्षीय संलग्नताको अवसर खोज्दै आएको छ। यस अन्तर्गत हिन्द–प्रशान्त क्षेत्रको रणनीतिक मुटु बंगालको खाडीमा जापानसँग यातायात सहकार्य बढाइरहेको छ। नयाँ दिल्ली र टोकियोले खुल्ला र स्वतन्त्र हिन्द–प्रशान्त क्षेत्रका लागि बढ्दो भू–आर्थिक सवालका साथसाथै समुन्द्री सञ्चारदेखि प्रतिरक्षा साझेदारीसम्म सामुन्द्रिक सुरक्षा सम्मिलनलाई उच्च प्राथमिकतामा राखेका छन् ।

सीमित र परम्परागत विकल्पहरूको सूचीबाट बाहिर निस्केर सोच्न फ्रान्स–भारत–अस्ट्रेलिया त्रिपक्षीयता नयाँ दिल्लीको आशावादको अर्को उदाहरण हो । यी तीन देशहरू अहिले हिन्द महासागरीय तटीय क्षेत्र र ससाना टापु राज्यहरूका लागि समन्वयित नौसैनिक गस्ती र क्षमता निर्माणका क्षेत्रमा कार्यविभाजनसहित काम गरिरहेका छन्

भारतले माल्दिभ्ससँग रक्षा सम्झौता र अन्दमान तथा निकोबार दीप समूहमा आफ्नै सैन्य प्रतिष्ठानहरू स्तरवृद्धि गरी नयाँ विमान परिवहनसहित क्षेत्रबाहिरको शक्ति प्रक्षेपण क्षमतालाई विस्तार गरिरहेको छ।

तेस्रो–युरोपियन युनियनको हिन्द–प्रशान्त क्षेत्रमा पुन: अभिमुखीकरणलाई गति दिन पनि भारतले अग्रसरता लिएको छ । रुस– युक्रेन युद्धको कारण धेरैजसो युरोपले आफ्नो ध्यान केही समयका लागि एसियाबाट हटाएको छ। तर, भारतले भविष्यमा एसियामा हुन सक्ने शक्ति सन्तुलनका लागि ब्रसेल्स, बर्लिन र अन्य युरोपेली राजधानीहरूलाई संगठित गर्न चुपचाप तर महत्त्वपूर्ण भूमिका गरिरहेको छ।

नयाँ दिल्लीले चीनको प्रभुत्ववादी शक्तिलाई साझा स्वार्थको शक्ति बन्न नदिन मध्यशक्तिको समन्वयमा ‘नक्षत्र अभिनेता’ को भूमिका खेल्न खोजिरहेको छ।

र अन्तिम कुरा– भारतले संयुक्त राष्ट्र संघमा नीतिगत पक्षघात र संस्थागत असमानताको निरन्तरताप्रति चिन्तित हुँदै बहुुपक्षीयता र सहकार्यलाई प्रवर्द्धन गर्न वैकल्पिक एजेन्डाहरू अघि सार्ने सकारात्मक पाटो अवलम्बन गरेको छ । हालैका दिनमा यसका दुई संस्थागत उदाहरण अन्तर्राष्ट्रिय सौर्य गठबन्धन र विपत उपयोगी पूर्वाधार गठबन्धन हुन्।

अमेरिका, जापान र बंगलादेश यी दुवैका सदस्य छन् । तर, चीन भने संदिग्ध तबरले अनुपस्थित छ । भारतलाई जी–२० को अध्यक्षता दिइनु समावेशी आर्थिक, स्वास्थ्य, डिजिटल र जलवायु प्रशासन समाधानमा भारतको थप सन्तुलित भूमिकाको अपेक्षा गर्नु हो ।

भविष्य सन्तुलनलाई आकारित गर्दै

एक ढुलमुले शक्ति वा संरचनात्मक सेतुका रूपमा भारतको विचारलाई नीतिगत बहिष्करण वा तटस्थतासँग तुलना गर्नु हुँदैन, नत अनाडि ठान्न र विचारधारात्मक दृष्टिकोणका रूपमा भ्रमित हुन जरुरी छ ।

सिंगापुरका एक पूर्व कुटनीतिज्ञ विलाहरि कौशिसनले भरखरै भनेझैँ भारतले निस्क्रियताको निस्क्रिय मुद्रा अपनाए पनि यो आफ्नो सम्पूर्ण अस्तित्वका कारणले महादीपका बाँकी भागका लागि महत्त्वपूर्ण नै रहन्छ ।

यद्यपि, आशावादिता सबल नीतिको प्रतिस्थापन हैन, तर यसले द्रुतगतिमा बदलिँदो यसको सुरक्षा वातावरणबारे भारतीय दृष्टिकोणलाई प्रष्ट पार्दछ र विद्यमान अनिश्चिताबाट उत्पन्न भविष्यको व्यवस्थालाई आकारित गर्न सक्ने अवसरहरूको खोजीका लागि देशको अग्रसर मुद्राको व्याख्या गर्दछ ।

नयाँ दिल्लीले महत्त्वपूर्ण चुनौतीहरू सामना गरिरहेको छ, तर विभिन्न खेलाडी बीच नयाँ सन्तुलन कायम गर्न अरूलाई जोडन सक्ने यसको शक्ति प्रयोग गर्न यो उपयुक्त समय हो भन्ने पनि राम्ररी बुझ्दछ ।

जेभियरको आलेख आरएसआईएबाट साभार गरिएको हो – सम्पादक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्