अग्नि सापकोटाको कमब्याकः माओवादी केन्द्रको पदाधिकारीमा इन्ट्री, सँगै पम्फा भुसालको बढुवा – Janadesh Daily | ePaper

अग्नि सापकोटाको कमब्याकः माओवादी केन्द्रको पदाधिकारीमा इन्ट्री, सँगै पम्फा भुसालको बढुवा


जनादेश वाच।

पूर्वसभामुख अग्नि सापकोटा सक्रिय राजनीतिमा कमब्याक गरेका छन्। नेकपा माओवादी केन्द्रको पदाधिकारीमा नेता सापकोटाको इन्ट्री भएको छ । संघीय संसदको अघिल्लो कार्यकालमा सभामुख चयन भएपछि पार्टी राजनीतिमा नरहेका उनी कार्यकाल सकिएसँगै उपाध्यक्ष चयन भएका हुन् ।

पार्टीको माघ २१ गते सम्पन्न स्थायी समिटीको बैठकको निर्णयअनुसार उनलाई उपाध्यक्षमा चयन गरिएको हो । माओवादी केन्द्रका एक नेताले सापकोटालाई उपाध्यक्ष महरापछिको बरियता रहनेगरी उपाध्यक्ष चयन गरिएको जानकारी दिए ।

ती नेताका अनुसार यसअघि उपमहासचिवको जिम्मेवारीमा रहेकी नेतृ पम्फा भुसालको पनि बढुवा भएको छ । उनलाई सापकोटासँगै उपाध्यक्षमा चयन गरिएको ती नेताको भनाइ छ ।

उनका अनुसार २२ सदस्यीय पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।

यसैगरी उपाध्यक्षमा महरा, सापकोटा र भुसाल चयन हुँदा महासचिवमा यसअघि नै देव गुरुङ चयन भइसकेका छन् । यस्तै उपमहासचिव ६ जनामा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोलप्रसाद गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका प्रसाद यादव रहेका छन् भने सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराज आचार्य र सुरेन्द्र कुमार कार्की रहेका छन् । यस्तै कोषाध्यक्षमा श्रीमान ढकाल रहेका छन् ।

माओवादी स्थायी कमिटीको बैठकअनुसार १३ बुँदे सर्कुलर पनि पठाइएको ती नेताको भनाइ छ ।

असाधारण सक्रियताको तयारी
अबको राजनीतिमा फेरि सक्रिय हुने अग्नि सापकोटाको तयारी छ। एक मिडिया अन्तरवार्तामा अग्नि सापकोटाले भनेका थिए, “अहिले यति भनौँकि राजनीतिमा म असाधारण रूपले त्रियाशील हुनेछु । मैले निर्णय लिने बेलामा अध्यक्ष कमरेडसँग धेरै कुराकानी भएका छन् । अझै ती कुरालाई निस्कर्षमा पुर्‍याउनको लागि छलफल गर्न बाँकी छ । पार्टीले जुनसुकै पोजिशन दिए पनि भूमिकालाई गुणात्मकता दिन्छु । मैले आफैँले धेरै चिन्तन गरेर निर्णय लिएको हुनाले हिजोभन्दा बढ्ता राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता पनि हुन्छ ।”

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्