सुदूरपश्चिम सरकार संकटमाः आज विश्वासको मत नपाए ढल्ने, चम्किन सक्छ कांग्रेसको भाग्य – Janadesh Daily | ePaper

सुदूरपश्चिम सरकार संकटमाः आज विश्वासको मत नपाए ढल्ने, चम्किन सक्छ कांग्रेसको भाग्य


जनादेश वाच।

अन्तिम समयमा आएर हिजो स्थगित हुन पुगेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत आज लिँदैछन्। सुदूरपश्चिम संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन्।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो ११ र पुन: १ बजे बोलाइएको प्रदेश सभा बैठक अन्तिम अवस्थामा आएर स्थगित हुन पुगेको थियो। गत २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आजसम्म मात्र म्याद रहेको छ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदुरपचिक प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित नागरिक उन्मुक्तिको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए। तर विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ। सो पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुँदै आएको छ।

बन्दीहरुको रिहाई, झुटा मुद्धा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाइ छ। नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन्। नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ।

चम्किएला त कांग्रेसको भाग्य
आजको बैठकमा पनि नाउपाका सात सांसद सहभागी हुने/नहुने निश्चित छैन । नाउपाका सबै सांसद अहिले काठमाडौंमा छन् । नाउपाले आफ्ना माग पूरा नभएको भन्दै सरकारलाई विश्वासको मत दिन नसकिने अडान लिएको छ ।

नाउपाले विश्वासकाे मत नदिए रावल नेतृत्वकाे सरकार एक महिनामै ढल्नेछ । मुख्यमन्त्रीकाे नियुक्ति बुझेकाे ३० दिनभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिइसक्नुपर्छ । रावलले मुख्यमन्त्रीले नियुक्ति बुझेकाे आज ३० दिन पूरा हुँदैछ ।

सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ । यस्तै १ जना स्वतन्त्र सांसद पनि विपक्षमा छन् ।​ नागरिक उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा पर्नेछन् । रावल सरकार ढले संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुनेछ । जसअनुसार सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्