पत्रकार सम्मेलनमा विप्लव समूहले गरेको संकेतः पार्टी एकीकरण प्रस्तावमा प्रचण्डसँग कति नजिक – Janadesh Daily | ePaper

पत्रकार सम्मेलनमा विप्लव समूहले गरेको संकेतः पार्टी एकीकरण प्रस्तावमा प्रचण्डसँग कति नजिक


जनादेश वाच।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताको नीति पारित गरेसँगै पूर्वमाओवादीहरूबीच एकीकरणको चर्चा बढेको हो।

हालै बसेको उक्त पार्टीको बैठकले पारित गरेको निर्णयमा भनिएको छ, “क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई पार्टीले कार्यान्वयन गर्ने छ।”

 उक्त निर्णय बुधवार सार्वजनिक गर्नुअघि विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेटेर छलफल गरिसकेका छन्। विप्लवले अन्य दलका नेताहरूसँग पनि भेट्दै छन्।

प्रचण्डको प्रस्ताव: ‘पार्टी एकता गरौँ’
विप्लवको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार आइतवार भएको भेटमा प्रचण्डले पार्टी एकताको प्रस्तावनै राखेका थिए। उनका अनुसार देशमा प्रचण्डले सङ्कट बढेको र पहिलेका माओवादीहरूले नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याएका थिए।

विश्वकर्माले भने, “अहिलेको देशको संवेदनशील अवस्था र कम्युनिस्ट आन्दोलनका विरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा षड्यन्त्र भइरहेका बेला संसद्‌वादी कम्युनिस्टहरूलाई नयाँ ढङ्गले सोच्नै पर्ने भयो भन्ने चेतना आएको छ।”

पार्टी एकताको कुरा आफूहरूले सैद्धान्तिक र वैचारिक विषय बनाएको उनले बताए। प्रचण्डहरू संसदीय अभ्यासमा गएको र आफूहरू क्रान्तिकारी प्रक्रियामा रहेको उल्लेख गर्दै उनले आफूहरूबीच भिन्नता रहेको बुझाइ प्रस्तुत गरे। आफूहरूले दिएको जबाफबारे उनले भने, “क्रान्तिकारी कोणबाट सोच्नुपर्‍यो, त्यसको निम्ति बहस र छलफल जरुरी छ। समझदारी बनाएर त्यसतर्फ प्रवेश गरौँ न त भन्यौँ।”

“माओवादीले आफूलाई बढी रूपान्तरण गर्नुपर्ने देखिन्छ।”

एकता र एकीकरण कोसँग?
माओवादी केन्द्रले माधवकुमार नेपाल र उपेन्द्र यादवको पार्टीलाई समेत एकतामा ल्याउने प्रयास गरिरहेको समयमा पूर्वमाओवादीहरू पनि एकीकरणको प्रयास जारी छ। माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले विप्लवसँग भेट गरेर केही महिनादेखि एकीकरणको प्रयास गरिरहेको समाचार आइरहेका छन्।

तर विप्लवले आफ्नो दलबाट विभाजित भएर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा बनेको नेकपा (बहुमत) र आफू छुट्टिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सँग समेत एकताको पहल गरेका छैनन्। पत्रकार सम्मेलनमा नेता बास्तोलाको समूह बाहिरिनुको कारणबारे सोध्दा विप्लवको जबाफ थियो, “पार्टी मासिएको हेर्न चाहनेहरूलाई जोगिएको मन परेन। त्यस कारण झरेर जाने पातका कुरा नगरौँ, पालुवा पलाइ सक्यो अब नयाँलाई मलजल गरेर जानुपर्छ।”

उनको दलले अहिले संयुक्त मोर्चामा रहेका आहुति र ऋषि कट्टेल लगायतका दलहरूसँग एकीकरणको निम्ति छलफल गरिरहेको जनाएको छ। नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले पनि माओवादी केन्द्र र नेकपासँग उनको दलले एकीकरणको निम्ति कुनै छलफल नभएको जानकारी दिए। उनका भनाइमा बरु नेकपा (बहुमत) लगायतका अन्य साना वाम दलसँग एकीकरणको वार्ता भइरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्