तौल घटाउने किटो डाइट झन् खतरनाक, हृदयघात दुई गुणा र मस्तिष्काघात पाँच गुणा बढाउने – Janadesh Daily | ePaper

तौल घटाउने किटो डाइट झन् खतरनाक, हृदयघात दुई गुणा र मस्तिष्काघात पाँच गुणा बढाउने


जनादेश हेल्थ डेस्क।

शरीरको तौल घटाउनका लागि पछिल्लो समय धेरै अभ्यासमा रहेको विधि हो– किटो डाइट । तौल घटाउनका लागि प्रभावकारी सावित भए पनि पूर्णरुपमा गरिएको किटो डाइटले मुटुरोग र मस्तिष्काघातको जोखिम दुई गुणाले बढाएको पाइएको छ ।

अमेरिकन कलेज अफ कार्डियोलोजीले मार्च पहिलो साता सार्वजनिक गरेको अध्ययन रिपोर्टमा यस्तो नयाँ तथ्य फेला परेको हो । अध्ययनमा किटो डाइटले हृदयघातको जोखिम दुई गुणा र मस्तिष्काघातको पाँच गुणा जोखिम बढाउने देखिएको हो ।

के हो किटो डाइट ?
कार्बोहाइट्रेड कम गरी प्रोटिनयुक्त खानाको माध्यमबाट शरीरलाई ऊर्जा उत्पादन गर्ने डाइटिङ विधि हो किटो डाइट । विषेशगरी एसियन खानामा ५० देखि ६० प्रतिशत कार्बोहाइडेट हुन्छ । प्रोटिन र फ्याट भने कम हुन्छ । यसलाई उल्टो गर्ने कार्बोहाइट्रेड कम र फ्याट ६० प्रतिशत पुर्‍याएर तौल कम गर्न अपनाइने डाइटिङ विधि किटो डाइट हो ।

मोटोपना नियन्त्रण तथा तौल घटाउनका लागि किटो र किटो लाइक डाइटलाई प्रभावकारी उपायको रुपमा अभ्यास गरिँदै आएको छ । यसमा स्टयान्डर्ड किटो डाइट र हाइ प्रोटिन किटो डाइट गरी दुईवटा विधि हुन्छन् । स्टयान्डर्ड किटो डाइट कूल क्यालोरीको ७० प्रतिशत चिल्लो पदार्थ, २० प्रतिशत प्रोटिन र १० प्रतिशत कार्बोहाइड्रेटबाट लिइन्छ ।

त्यस्तै, हाइ प्रोटिन किटो डाइटमा कूल क्यालोरीको ३५ प्रतिशत प्रोटिन, ६० प्रतिशत चिल्लो पदार्थ र पाँच प्रतिशत कार्बोहाइड्रेटबाट लिइन्छ र त्यसैअनुसारको खानेकुरा खाइन्छ ।

के देखियो अध्ययनमा ?

यही मार्च ५ मा अमेरिकन कलेज अफ कार्डियोलोजीको वार्षिक वैज्ञानिक सत्र ‘टुगेदर विथ द वर्ल्ड कांग्रेस अफ कार्डियोलोजी’मा किटो लाइक डाइटबारे एक अध्ययन रिपोर्ट प्रस्तुत गरिएको थियो । सो अध्ययन बेलायतको बायो बंैकमा संकलित तथ्यांकहरुमाथि गरिएको थियो, जहाँ १० वर्षयता किटो डाइटमा रहेका व्यक्तिहरुलाई समेटिएको थियो ।

अध्ययनमा एक हजार २०० जना स्टयान्डर्ड र ३५० जना हाई प्रोटिन किटो डाइटमा रहेका व्यक्तिहरु सहभागी थिए । उनीहरुलाई आफूले दैनिक खाइरहेको खानाबारे प्रश्नोत्तरको माध्यमबाट तथ्यांक संकलन गरिएको थियो भने हाइ प्रोटिन किटो डाइट गर्नेहरुको रगतको परीक्षणको माध्यमबाट समेत अध्ययन गरिएको थियो ।

हाई प्रोटिन किटो डाइट गरिरहेका व्यक्तिहरुमा हृदयघात र मुटुरोगको जोखिम अन्य व्यक्तिभन्दा दुई गुणा बढी भएको अध्ययनले देखाएको थियो । हाई प्रोटिन किटो डाइटमा रहेका ९.८ प्रतिशतले मुटुसम्बन्धी नयाँ रोगहरुको अनुभव गरेको अध्ययनमा देखिएको थियो, जुन स्टयान्डर्ड किटो डाइटमा रहेकाहरुको भन्दा दु्ई गुणाले बढी हो ।

कम कार्बोहाइट्रेड र बढी फ्याटकै कारण खराब कोलेस्ट्रोलको मात्रा बढ्न गएर मस्तिष्कको रक्तनलीमा कोलेस्ट्रोल जमेर मस्तिष्काघातको जोखिम पनि दु्ई गुणाले बढाएको अध्ययनमा देखिएको छ । स्टयान्डर्ड किटो डाइट गर्नेहरुभन्दा हाई प्रोटिन किटो डाइट गर्नेहरुमा कोलेस्ट्रोलको मात्रा अति उच्च हुनपुगि हृदयघातको सम्भावना पनि पाँचगुणा बढी भएको अध्ययनको रिपोर्ट छ ।

किटो डाइट सबै व्यक्तिहरुका लागि फाइदाजनक नहुने अध्ययनको निष्कर्ष छ । औसतमा किटो डाइटले व्यक्तिको कोलेस्ट्रोलको स्तर बढाउँछ । तर, केही व्यक्तिमा उस्तै रहनसक्छ भने केहीमा कम पनि हुनसक्छ । समग्रमा यसले सबै व्यक्तिमा उस्तै परिणाम निम्त्याउँछ भन्ने छैन, अध्ययनको निष्कर्षमा भनिएको छ ।

प्राकृतिक विधि होइन किटो डाइट
नेपालमा पनि किटो डाइटमा रहेका व्यक्तिहरु सबैलाई यसले फाइदा नगरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूूर्ति अनिल बताउँछन् । साविकमा एकसयभन्दा कम कोलेस्ट्रोल भएका व्यक्तिहरुमा किटो डाइट गरेपछि ब्याड कोलेस्ट्रोलको मात्रा ३०० सम्म पुगेको डा.अनिलको अनुभव छ । सुरु सुरुमा राम्रो परिणाम देखाए पनि बिस्तारै यसका केही नकारात्मक परिणामहरु पनि देखिएको उनी बताउँछन् ।

यसो भन्दैमा किटो डाइट आफैँमा नराम्रो उपाय भने नभएको उनको भनाइ छ । साधारण तरिकाले तौल घटाउन नसकेकालाई किटो डाइट प्रभावकारी उपाय रहेको तर यो सुरु गर्नुअघि आफ्नो शरीरको राम्रोसँग परीक्षण गरेर मात्रै सुरु गर्न उनको सुझाव छ ।

“मानिसलाई किटो डाइट सुरु गरेपछि बीपी, सुगर, कोलेस्ट्रोल सबै भाग्छ र स्वस्थ हुन्छु भन्ने भ्रम छ, त्यस्तो होइन । जीवनशैली र डाइट फिक्स गर्न सकेन भने यसको प्रभावकारिता रहँदैन,” उनी भन्छन्, “सबैभन्दा राम्रो स्वस्थ रहनका लागि शरीरलाई फाइदा हुने खानाको मात्रा बढाउने र फाइदा नहुने खाना घटाउने गर्नुपर्छ । र, जीवनशैली बिस्तारै परिवर्तन गर्दै लैजानुपर्छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्