मन्त्रिपरिषद् विस्तारको वार्ता आजदेखिः कांग्रेस भित्र आफ्नै लडाइँ, सजिलो हुने छैन प्रधानमन्त्रीलाई – Janadesh Daily | ePaper

मन्त्रिपरिषद् विस्तारको वार्ता आजदेखिः कांग्रेस भित्र आफ्नै लडाइँ, सजिलो हुने छैन प्रधानमन्त्रीलाई


जनादेश वाच।

सरकारलाई पूर्णता दिन आजदेखि दलहरूले छलफल सुरु गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए । “जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २–४ दिनभित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ,” उनले भनेका थिए ।

उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने बताएका थिए । नेपाली कांग्रेसले सरकारमा जाने बताइसकेको छ ।

तीतो अनुभव
पुस १० को गठबन्धनमा माओवादी केन्द्र र एमालेबीच चिसोपना आउनुको प्रस्थानबिन्दु थियो मन्त्रिपरिषद् विस्तार । तत्कालीन गठबन्धनमा प्रधानमन्त्रीले शपथ लिने दिन एमालेबाट नेतृत्व गर्ने एक जना सरकारमा सहभागी हुने र बाँकी बिस्तारै सहभागी हुने सहमति थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले चार जना मन्त्रीहरू सरकारमा पठाए । त्यसैले प्रधानमन्त्री प्रचण्ड झस्किएकाे उनले नै भनेका छन् ।

अहिले सो गठबन्धन भत्किएर नयाँ गठबन्धन बने पनि दलहरूमा मन्त्रालय भागवण्डा मिल्न गाह्रो हुने भएकाले मन्त्रिपरिषद् विस्तारमा सहज देखिँदैन । एमाले र राप्रपाले सरकार छाड्दा प्रधानमन्त्रीले १६ मन्त्रालयकाे भारी लामाे समयदेखि बाेकिरहनु परेकाे छ । २५ फागुनमा राष्ट्रपतिकाे चुनाव हुँदा नयाँ गठबन्धनले आकार लिए पनि हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेकाे छैन । त्यसमाथि राष्ट्रिय स्वन्त्र पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा निर्णय नलिँदा झन ढिलाइ भएको नेताहरू बताउँछन् ।

‘मन्त्रालय कुन दलले कति लिने भन्ने बाँकी नै छ । रास्वपा सरकारमा सहभागी हुने कि नहुने विषय छ । कति दल सहभागी हुने भन्ने अन्योलले सरकार विस्तार हुन समय लागेको हो,’ कांग्रेसका एक पदाधिकारीले भने । सोमबार प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै दुई–चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । उनले सरकारलाई पूर्णता दिन सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने बताए ।

उता सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे सरकारलाई विश्वासको मत दिएको दल रास्वपामा एकमत छैन । ‘हामीले गरेको निर्णय आजसम्म (प्रधानमन्त्रीले लिने विश्वासको मत) हो । बाँकी विषयमा पार्टीमा छलफल हुन बाँकी छ,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने । उनका अनुसार पार्टी सरकारमा सहभागी हुने/नहुने निश्चित छैन । तर, रास्वपाको अर्का सांसद भने पार्टी सरकारमा सहभागी हुने बताउँछन् । ‘निर्णय नभए पनि पार्टी सरकारमा जाने लाइनमा देखिन्छ,’ ती सांसदले भने । पार्टीले कुन मन्त्रालय लिन्छ भन्नेबारे अन्योल छ । ‘मन्त्रालय कुन भन्ने विषय पछि छलफल हुन्छ,’ ती सांसदले भने ।

रास्वपा वैशाख १० मा हुने उपनिर्वाचनपछि मात्र सरकारमा सामेल हुन सक्ने कांग्रेस नेताहरू बताउँछन् । ‘रास्वपा सभापति रवि लामिछानेको चुनावसम्म रास्वपा सरकारमा सहभागी नहुन पनि सक्छ,’ कांग्रेसका एक सांसदले भने । प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र राप्रपाले छाडेका र आफैँसँग राखेका गरी १६ मन्त्रालयको नेतृत्व सम्हाल्दै आएका छन् ।

एमालेले लिएका अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयमा एक मन्त्रालय थप गर्ने कांग्रेसको रणनीति छ । त्यसका लागि गठबन्धनमा उसले १० मन्त्रालयको दाबी गरेकाे छ । यस्तै राप्रपाले ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाएको थियो । मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राखेका थिए । यी मन्त्रालय भागवण्डा गर्न सकस पर्ने देखिन्छ ।

हाल सरकारमा उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा नारायणकाजी श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी छन् । जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री छन् ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, लोसपा, आम जनता पार्टी, जनमोर्चा र नेसपा छन् । यी दलहरूबीच २५ वटा मन्त्रालय भागवण्डा गर्नुपर्नेछ । माओवादीले ४ मन्त्रालयमा १ मन्त्रालय थप गर्न चाहेको छ । पावर शेयरिङमा उसले गृह, रक्षा र सञ्चार मन्त्रालय आफैँसँग राख्न चाहेको छ । उपप्रधानमन्त्री श्रेष्ठ भौतिक मन्त्रालय छाडेर गृहमा जान चाहन्छन् । एमालेले छाडेको मन्त्रालयम भौतिक मन्त्रालय थप गर्न कांग्रेस चाहन्छ । ‘एमालेले लिएको मन्त्रालयमा गृह माओवादीले लिएर भौतिक कांग्रेसले लिन सक्छ,’ कांग्रेस सांसद रामहरि खतिवडाले भने ।

नाउपार्टी, आम जनता र जनमत गठबन्धनमा नआउन्जेल कांग्रेस, माओवादी, जासपा, एकीकृत समाजवादी, लोसपाबीच ९–७–३–३–१–१ मन्त्रालय लिने गरी छलफल भएको थियो । तर, रास्वपा र अन्य दल पनि सरकारमा आउने भएपछि मन्त्रालय बाँटफाँटको चेपुवामा कांग्रेस पर्ने देखिन्छ ।

कसरी चपुवामा कांग्रेस ?
कांग्रेस २५ मध्ये १० मन्त्रालयको दाबी लिएर गठबन्धन बैठकमा पेस भएको छ । कांग्रेसले राष्ट्रपति, माओवादीले प्रधानमन्त्री, जसपाले उपराष्ट्रपति रोज्यो । अब सरकारमा मन्त्रालय रोज्ने पालो एकीकृत समाजवादीको रहेको सो पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे बताउँछन् । प्रधानमन्त्री प्रचण्ड त्यही कारण देखाउँदै कांग्रेसलाई ६ मन्त्रालयमा सीमित गर्न चाहन्छन् । ‘एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मागबमोजिम मन्त्रालय दिन प्रधानमन्त्रीज्यू कांग्रेसलाई ६ भन्दा बढी मन्त्रालय दिने पक्षमा हुनुहुन्न,’ माओवादीका एक नेताले भने ।

प्रचण्डनिकट एक माओवादी नेताका अनुसार प्रचण्डले एकैपटक मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् । त्यसका लागि सोमबार नै सम्भव भए सत्ता गठबन्धनको बैठक बस्ने भनिएको थियो । विश्वासको मत लिने कार्यमा ढिलाइ हुँदा बैठक मंगलबार बस्नेछ । प्रचण्डको सत्ता गठबन्धनमा भागण्डाअनुसार कांग्रेस ६ माओवादी ५, एकीकृत समाजवादी ३, जसपा २, नाउपार्टी २, जनमत २, रास्वपा २, लोसपा १, आम जनता पार्टी १ मन्त्रालय छ । सहमति हुँदा कांग्रेसले ८ मन्त्रालय पाउन सक्ने ती नेताले बताए ।

गृहमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी छ । ठूलो दलको हैसियतले र नेतृत्व गर्ने व्यक्तिको पोर्टफोलियो मिलाउन कांग्रेसले गृहमा दाबी गरेको छ । सरकारको नेतृत्व गरेकाले गृहमा माओवादीको दाबी छ । ‘संक्रमणकालीन न्याय टुंगो लगाउन पनि माओवादीले गृह छाड्ने स्थिति छैन,’ माओवादीका एक नेताले भने । गठबन्धनका अन्य दलले रोजेको पद पाएकाले मन्त्री छान्ने पालो एकीकृत समाजवादीको रहेको सो दलको दाबी छ । ‘राजकाज चलाउने र विकास गर्नेसम्मको रोज्जा तीन मन्त्रालय हाम्रो पार्टीले लिन्छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने । मन्त्रिपरिषद् विस्तारको समयमा कांग्रेस र माओवादीबीच मन्त्रालय साटफेर हुन सक्ने माओवादीका नेताहरू बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्