चिनियाँ राष्ट्रपति सीले अघि सारेको शान्ति वार्ता प्रस्तावमा पुटिन सकारात्मक, अमेरिका निराश – Janadesh Daily | ePaper

चिनियाँ राष्ट्रपति सीले अघि सारेको शान्ति वार्ता प्रस्तावमा पुटिन सकारात्मक, अमेरिका निराश


जनादेश अन्तर्राष्ट्रिय वाच।
चीनले अघि सारेको शन्ति योजना युक्रेनको द्वन्द्व अन्त्य गर्ने आधार हुनसक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। तीन दिने औपचारिक भ्रमणमा मस्को पुगेका सी र पुटिनबीच मंगलबार औपचारिक वार्ता भएको थियो। उनीहरुले दुई वटा संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन्। एउटामा आर्थिक सहकार्यको विवरण छ भने अर्कोमा रुस–चीन साझेदारीको योजना।

‘चिनियाँ शान्ति योजनाका थुप्रै प्रावधानहरुलाई युक्रेनमा द्वन्द्व समाधान गर्ने आधारका रुपमा लिन सकिन्छ। जब पश्चिम र किभ यसका लागि तयार हुन्छन्,’ संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने। चीनले गत महिना युक्रेनमा शान्तिका लागि १२ बुँदे प्रस्ताव अघि सारेको थियो।

सीले पनि आफूहरु शान्ति र संवादको पक्षमा रहेको भन्दै चीनका नीति राष्ट्रसंघको घोषणा पत्र र तटस्थताद्वारा निर्देशित भएको बताए। चीन इतिहासको सही पक्षमा रहेको भन्दै उनले घुमाउरो तरिकाले युक्रेनलाई हतियार दिने पश्चिमा शक्तिको आलोचना पनि गरे।

सीले पुटिनलाई बेइजिङ भ्रमणको निम्ता दिएका छन्। उनले यो वर्षको बेल्ट एन्ड रोड फोरममा पुटिनलाई निम्त्याएका हुन्। सोमबारको अनौपचारिक भेटमा सीले २०२४ को चुनावमा पनि पुटिन विजयी हुने अपेक्षा व्यक्त गरेका थिए।

अहिले अन्तर्राष्ट्रिय प्रणाली विश्वयुद्धकै स्तरमा संकटको चरणमा छ । लगभग एक दशकअघि पश्चिमको समर्थनमा किएभमा युरोमैदान कूसँगै यस संकटको आरम्भ भएको हो । त्यतिखेर रुसले क्राइमिया नियन्त्रणमा लिएर पश्चिमलाई जवाफ फर्काएको थियो । त्यस घटनाले अमेरिका र रुसबीचको लामो द्वन्द्वलाई प्रेरित गरेको थियो ।

त्यसको तीन वर्षपछि अमेरिकाले चीनका विषयमा बनाएको सम्पर्क बढाउने नीतिलाई अचानक परिवर्तन गर्दै व्यापार र प्रविधि युद्ध शुरू गरेको थियो । फलस्वरूप, वाशिङटन र बेइजिङबीच भिडन्तको स्थिति आयो ।

अमेरिकी प्रभुत्वलाई मस्को र बेइजिङ दुवैले अस्वीकार गरेका छन् । विगत केही वर्षयता अमेरिकाले अहिलेको स्थितिलाई प्रमुख शक्ति प्रतिस्पर्धाका रूपमा व्याख्या गर्दै आएको छ । बीसौं शताब्दीमा भएका दुवै विश्वयुद्धका पछाडि यही प्रतिस्पर्धा कारण थियो ।

रुसी र चिनियाँहरूले सन् १९९० को दशकदेखि नै अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट बहुध्रुवीय विश्व व्यवस्थातर्फ जानुपर्ने विषयमा पैरवी गरिरहेका छन् । उनीहरूको यस अडानलाई एसिया, मध्यपूर्व, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूलाई समर्थन प्राप्त हुन थालेको छ । त्यसको नतिजाका रूपमा प्रणालीगत परिवर्तनको प्रक्रिया आरम्भ भइसकेको छ ।

यसको प्रतिक्रियाका रूपमा अमेरिकाले जस्तोसुकै मूल्य चुकाउनुपर्ने भए पनि विश्वव्यापी नियन्त्रणको प्रतिरक्षा गरिरहने रणनीति अंगीकार गरेको छ । अमेरिकीहरूका लागि चीनको उदय, सोभियत पतनबाट रुसको अनपेक्षित पुनरुत्थान अनि इरानको क्षेत्रीय तथा आणविक महत्त्वाकांक्षाका रूपमा तेर्सिएका चुनौतीहरू असह्य छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्