माधव नेपालले यसपटक कसलाई बनाउँदैछन् मन्त्रीः यस्तो छ सम्भावित नेताहरूको नामावली – Janadesh Daily | ePaper

माधव नेपालले यसपटक कसलाई बनाउँदैछन् मन्त्रीः यस्तो छ सम्भावित नेताहरूको नामावली


जनादेश वाच।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गरेसँगै सत्ता गठबन्धनमा रहेका दलहरुले सरकार विस्तारबारे आन्तरिक छलफल सुरु गरेका छन् । गठबन्धनको तेस्रो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले (विश्वासको मत दिएको तेस्रो ठूलो दल रास्वपा सत्तासाझेदार दलको बैठकमा उपस्थित नभएकाले) केन्द्र र प्रदेश सरकारबारे छलफल थालेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेका छन् ।

पार्टी उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार कार्यदलले प्रदेश र केन्द्र सरकारबारे विभिन्न पक्षसँग छलफल गरी प्रस्ताव केन्द्रीय सचिवालयमा ल्याउने छ । “प्रदेश र केन्द्रको सरकारहरुबारे छलफल गरी निर्णयमा पुग्नका लागि प्रस्ताव तयार गरी केन्द्र सचिवालयमा ल्याउन कार्यदल बनाइएको हो,” बैठकपछि खतिवडाले भने । कार्यदलले पार्टीले कति मन्त्रालय पाउने ? कुन–कुन मन्त्रालयमा माग दाबी गर्ने, गठबन्धन दलका बीचमा सहमति कायम गर्ने र सरकारमा जाने नीति कार्यक्रम बनाउने कार्यादेश पाएको छ ।

“सरकारमा कसरी जाने ? के नीति कार्यक्रमका साथ जाने ? हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ ?,” सम्मानित नेता झलनाथ खनालले भने, “यी सबै कुराको बारेमा टुंगो लागेपछि टुंगोमा पुग्छौं । त्यसको लागि अध्यक्षज्युको नेतृत्वको टोलीले कुराकानी गर्छ । त्यो प्याकेजमै निर्णय गर्छौं ।”

सोमबार संसदबाट दोस्रोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्रीले चैत १० गतेभित्रै सरकार विस्तार गर्ने बताएका थिए । हालसम्म सत्ता गठबन्धनमा आवद्ध दलले कति मन्त्रालय पाउने भन्ने औपचारिक छलफल भइसकेको छैन । त्यसबारे छलफलका लागि छिट्टै गठबन्धनको बैठक बस्ने तयारी भएको नेताहरु बताउँछन् । एकीकृत समाजवादीले गठबन्धनमा तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्ने तयारी गरेको छ । तर, गठबन्धनमा भागबण्डा हुँदा सरकारमा सामेल हुने दलहरुले पाउने मन्त्रालयअनुसारको समझदारीले संख्या निर्धारण गर्नेछ ।

आजको सचिवालय बैठकमा सरकारमा जाँदा जनतासँग जोडिएर काम गर्ने खालका सुझाव आएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार त्यस्ता मन्त्रालयहरुमा कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

“अहिले जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएको छ,” एकीकृत समाजवादीका ती पदाधिकारीले भने, “पावरफुल मन्त्रालयहित त्यसरी काम गर्नका लागि कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय हुनसक्छन् भन्ने सुझाव आएको छ ।”

महत्वपूर्ण मन्त्रालय मात्रै दाबी गरेर नपुग्ने, त्यसका लागि सोहीअनुसारको लबिइङ गनुपर्ने अर्का पदाधिकारीले बताए । “पावरफुल मन्त्रालय मागेर मात्रै हुँदैन । त्यसका लागि सोहीअनुसारको लबिइङ गर्नुपर्छ । अध्यक्षसहितको कार्यदल भएपछि मन्त्रालयबारे सोहीअनुसारको निष्कर्ष आउला,” ती पदाधिकारी भन्छन् ।

सचिवालयमै चार दाबेदार
एकीकृत समाजवादीको १९ सदस्यीय सचिवालयमा अध्यक्ष नेपालसहित पाँच सांसद रहेका छन् । जसमा अध्यक्ष नेपालबाहेकका चारै सांसद पार्टीको तर्फबाट नेतृत्व गरी सरकारमा जान आकांक्षी देखिएका छन् । उपाध्यक्षत्रय राजेन्द्र पाण्डे, बेदुराम भुसाल, जयन्ती राई र उपमहासचिव प्रकाश ज्वाला मन्त्रीको आकांक्षी देखिएका छन् । पाण्डे र ज्वाला प्रतिनिधिसभा तथा भुसाल र राई राष्ट्रियसभाका सांसद हुन् ।

एकीकृत समाजवादीका प्रतिनिधिसभामा १० सांसद छन् । सचिवालयकै चार नेताको आकंक्षा देखिएपछि मन्त्रीबारे टुंगो लगाउन सकस पर्ने एक सचिवालय सदस्यले बताए । मापदण्ड बनाएर आलोपालो रुपमा सरकारमा पठाउने गरी सहमति बनाइने उनको भनाइ छ ।

“थोरैमा धेरै विवाद हुँदो रहेछ । सचिवालयकै चार नेता मन्त्री बन्ने होडमा देखिनुभयो । अरु निर्वाचित सांसदले पनि दाबी गर्ने कुरा भइहाल्यो । त्यसैले मन्त्री बन्ने मापदण्ड बनाउँछौँ । गठबन्धन सरकार पाँच वर्ष जाने सहमति भएको छ । सरकारमा आलोपालो गरेर सांसदहरुको भागबण्डा पुर्याउने गरी सहमतिमा पुग्छौँ,” ती नेता भन्छन् ।

सचिवालयका चार नेता आकांक्षी देखिए पनि भुसाल, पाण्डे वा ज्वालामध्ये एकजनाले नेतृत्व गर्न पाउनेछन् । एकीकृत समाजवादीले पाउने मन्त्रालयको संख्या टुंगिएपछि कसले नेतृत्व गर्ने भन्ने टुंगो लाग्नेछ । त्यसमा भर्खरै महासचिवबाट उपाध्यक्ष बनेका भुसालले यसपटक नेतृत्व गर्न पाउने सम्भावना बलियो रहेको एक नेताले बताए ।

त्यस्तै, तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका सांसदहरु कृष्णकुमार श्रेष्ठ, प्रेम आले, मेटमणि चौधरी र शेरबहादुर कुँवर अहिले मन्त्री बन्न पाउने सम्भावना कम रहेको बताइन्छ । यसपटक बझाङबाट निर्वाचित भानुभक्त जोशी, दैलेख १ बाट निर्वाचित अमरबहादुर थापा वा डोल्पाबाट निर्वाचित धनबहादुर बुढामध्ये एक मन्त्री बन्न सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् । त्यसमा पनि पूर्वमन्त्रीसमेत रहेका जोशी मन्त्री बन्ने सम्भावना प्रबल रहेको एक नेताले बताए । गठबन्धनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्