यस पटकको रुघाखोकी किन धेरै दिन लाग्छः यसो भन्छन्- चिकित्सक र विज्ञ – Janadesh Daily | ePaper

यस पटकको रुघाखोकी किन धेरै दिन लाग्छः यसो भन्छन्- चिकित्सक र विज्ञ


जनादेश हेल्थ डेस्क।

काठमाडौंको कान्ति बाल अस्पतालको ओपीडीमा यो सिजनमा दैनिक ३०० देखि ४०० बिरामी आउने गर्छन् । यो संख्या दुई साताअघि ह्वात्तै बढ्यो । अस्पतालमा अन्य समस्या नभइ सामान्य रुघाखोकी, ज्वरो, टन्सिलजस्ता समस्या लिएर आउने बालबालिकाको संख्या बढेको थियो । पछिल्ला दुई/चार दिनयता यस्ता बिरामीको संख्या क्रमश : घट्दै गएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरी चापागाई बताउँछन् ।

किन निको हुँदैन दुुई सातासम्म पनि रुघाखोकी ?
सामान्य रुघाखोकी पनि कडा बन्दै जानुु, घाँटी दुखाइ टन्सिलमा परिणत हुनु, अचानक १०२, १०३, डिग्री फरेनहाइटसम्म ज्वरो आउनु, लामो समयसम्म खोकी लागिरहनुु लगायतको लक्षणलाई सिजनल फ्लुको रुपमा व्याख्या गर्छन् डा. चापागाई ।

अघिल्ला वर्षहरूभन्दा यसपटक यस्ता समस्या धेरै देखिएपनि जटिलता भने ननिम्त्याएको उनी बताउँछन् । १५ वर्षमुुनिका सबै उमेर समूहका बालबालिकामा उस्तैखाले समस्या देखिएको र छ/सात दिन हुँदै १० दिनभन्दा बढी पनि लहरेखोकी, सुक्खा खोकीजस्ता समस्या निको नभएको डा. चापागाईको अनुुभव छ ।

“यसपटक अलि फरक, कडा र लामो समयसम्म बालबालिकामा यस्ता समस्या देखिएकाले कुनै नयाँ भाइरसले प्रवेश पाएको हो की भन्ने आँकलन गर्न सकिन्छ, तर यसमा अध्ययन नभएकाले यसै हो भन्नसक्ने अवस्था छैन,” उनले भने ।

यसबाहेक अहिलेको मौसम जाडोबाट गर्मीमा प्रवेश गर्दैछ यतिबेला फ्लुु गराउने धेरैखाले भाइरसहरू सक्रिय हुने हुुनाले पनि रुघाखोकी लामो समय लम्बिने गरेको डा. चापागाईको भनाइ छ ।

काठमाडौंको प्रद्रषण पनि मुख्य कारक
बालबालिकामा मात्रै नभइ अन्य व्यक्तिमा पनि यसपटक लामो समयसम्म रुघाखोकी र भाइरल ज्वरो निको नहुने समस्या देखिएको छ । विशेषगरी दुई तीन सातासम्म पनि खोकी लागिरहने समस्याले छातीमा संक्रमण समेत देखा पर्ने गरेको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

“कतिपय बिरामीमा लामो समय खोकी लागिरहँदा छातीमा संक्रमण पनि भएको पाइयो, सामान्य फ्लु पनि जमघट भएका ठाउँहरूमा सबैमा सरेको पनि देखियो, यसको अर्को कारण काठमाडौंको प्रद्रषण पनि हुनसक्छ”, डा. पुनले भने ।

सिजनल फ्लुको असर त छँदैछ उपत्यकाको धुलो धुवाँ पनि संक्रमण गराउने मुख्य कारक बनेको डा. पुनको भनाइ छ ।

कसरी जोगिने, जोगाउने ?
बालबालिकाको हकमा रुघाखोकी र फ्लुजन्य संक्रमणको मुख्य कारण चिसो नै भएको बालरोग विशेषज्ञ डा. चापागाईको दाबी छ । “बालबालिकालाई चिसो, धुलोधुवाँबाट जोगाउन सके यस्ता संक्रमणबाट जोगाउन सकिन्छ । अर्को कुरा पूर्ण खोप लगाउनु पनि यस्ता समस्याबाट जोगाउनु हो, बच्चालाई सबैखोप पूरा गर्नसके धेरै रोगहरूबाट बचाउन सकिन्छ”, उनी भन्छन् ।

ठूला व्यक्तिको हकमा पनि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, धेरै जमघटमा नबस्ने, प्रदूषणबाट सकेसम्म जोगिनेजस्ता उपाय नै संक्रमणबाट बच्ने उपाय भएको डा. पुनको सुझाव छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्