रामचन्द्र पौडेलको गैरराजनीतिक इनिङः कसरी सुरुवात गर्दैछन् शितल निवासको राजकाज – Janadesh Daily | ePaper

रामचन्द्र पौडेलको गैरराजनीतिक इनिङः कसरी सुरुवात गर्दैछन् शितल निवासको राजकाज


जनादेश वाच।
१४ औं महाधिवेशनमा कतै नखुलेका रामचन्द्र पौडेल बिरक्तिएर राजनीतिबाट सन्यास लिन लागेका थिए। आफ्नो समूहबाट सभापतिको उम्मेदवार बन्न नपाएपछि विरक्तिएका पौडेल बीचमा निश्क्रिय बने। तर सभापति शेरबहादुर देउवाले ‘देशलाई तपाईंको आवश्यकता छ’ भनेपछि देउवा समूहमा खुलेका पौडेल कांग्रेस संसदीय दलको चुनावमा देउवाको प्रस्तावक नै बसे। देउवा सभापति निर्वाचित पनि भए।

निर्वाचनपछि सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएपछि खिन्न भएका पौडेल प्रधानमन्त्री प्रचण्ड फेरि पुरानै गठबन्धन ब्युँताउन सहमत हुँदै कांग्रेससँग सहकार्य गर्न आइपुगे पछि पौडेल राष्ट्रपति बन्ने बाटो खुल्यो। र, फागुन २५ गते पौडेल नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए। राष्ट्रपति संवैधानिक पद भएका कारण शितल निवासमा बस्ने, सरकारले गरेका निर्णयलाई सदर गर्ने, राजदूत नियुक्त गर्ने तथा ओहोदाको प्रमाणपत्र बुझ्ने मुख्य काम राष्ट्रपति हो। त्यसबाहेक देवी देवताको दर्शन गर्न जाने र राष्ट्र प्रमुखको हैसियतले गरिने सांस्कृतिक गतिविधि बाहेक अन्य उल्लेख्य काम हुँदैन।

शितल निवासको दैनिकी
फागुन २५ मा राष्ट्रपतिमा निर्वाचन भएका पौडेलले फागुन २९ गते सपथ लिएर शितल निवास प्रवेश गरेका हुन्। उनी शितल निवास प्रवेश गरेको एक महिना पनि भएको छैन।

आफू राष्ट्रपतिमा निर्वाचित भएपछि प्रदेश र संसदीय सांसदलाई दिवा भोज दिएका थिए। पौडेल राष्ट्रपति निर्वाचित भएपछि कुनै राजदूत नियुक्त भएका छैनन् भने कुनै पनि विदेशी राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छैनन्। आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपति नाथको दर्शन, वीपी संग्राहलयको भ्रमण, जीवित कुमारीको दर्शन तथा गोरखा पुगेर गोरखकाली मन्दिरमा दर्शन गरेका छन्। दुई दिन अघि पौडेल नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा सहभागी भएका थिए।

कांग्रेसको राजनीतिमा हुँदा सक्रिय रहेका पौडेलको दिनचर्या हिजोआज बद्लिएको छ। उनको दैनिक कार्यतालिका अनुसार विहान नौ बजेदेखि १२ बजेसम्म भेटघाट गर्ने, १२ बजे खाना खाने, त्यसपछि एकघण्टा आराम गर्ने र तीन बजेदेखि पाँच बजेसम्म भेटघाट गर्ने गर्छन्।

‘विभिन्न संघ संस्थाका प्रतिनिधि भेटघाटमा आउनुहुन्छ,’ राष्ट्रपति पौडेलको सचिवालय भन्छ, ‘धेरैले अहिले पनि भेटेर बधाइ दिने, कार्यक्रममा सहाभागिताका लागि निमन्त्रणा दिने गर्नुहन्छ।’ राष्ट्रपति पौडेल नियन्त्रणा आएका सबै कार्यक्रममा सहभागी हुँदैनन्।

सुधारको सुरुवात
यसअघिका राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै आलोचना भइरहेका बेला पौडेलले भने केही सुधार गरेका छन्। राष्ट्रप्रमुखको हैसियतमा जीवित देवी कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगराइ विना कारगेट वसन्तुपुर पुगेर आएका थिए। त्यसपछि पनि राष्ट्रपति पौडेलले आफू कुनै कार्यक्रमाम सहभागी हुन जाँदा सडक खाली नगराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनको यो सुरुवातको स्वागत भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्