एसिडिटीबाट बच्ने उपायहरु- डा.मोहन खड्का – Janadesh Daily | ePaper

एसिडिटीबाट बच्ने उपायहरु- डा.मोहन खड्का


 डा. मोहन खड्का

पेटमा एसिडको मात्रा बढी हुने समस्या एसिडिटी हो । धेरै खानेकुरा अपच हुनेगरी खाँदा वा धेरैबेर पेट खाली राख्दा पेटमा एसिडिटीको समस्या बढ्छ । एसिडको मात्रा बढ्दा मुखबाट अमिलो पानी आउँछ ।

अमिलो, पिरो, तारेको, पोलेको खानेकुरा पनि एसिडटीका कारण हुन् । चुरोट खाने, चिया र कफी बढी खाने, बासी खाना खाने, खाना खानासाथ सुत्नेहरुमा एसिडिटीको समस्या बढी देखिन्छ ।

एसिडिटीले निम्त्याउने जटिलता

एसिडिटी हुँदा पेट पोल्ने, पेट ढुस्स हुने, थोरै खाए पनि अघाएको जस्तो हुने, पेटको माथिल्लो भाग दुख्ने हुन्छ । पेट, छाती र घाँटीमा जलन हुने, अमिलो डकार आउने, बान्ता हुने जस्ता समस्या पनि एसिडिटीकै कारण हुने गर्छ ।

साथै मुखमा अमिलो र तीतो पानी आउनु, अपच हुने, कब्जियत वा पखाला लाग्ने, भोक कम लाग्नु वा बढी लाग्नु, टाउको–जीउ दुख्नु, हातखुट्टा पोल्नु, थकाइ लागिरहनु, निद्रा नलाग्नु यसका अरु लक्षण हुन् ।

एसिडिटीको समयमै उपचार नगरेमा दिसामा रगत देखिने, कालो दिसा आउने, मलद्वारबाट रगत बग्ने जस्ता समस्या बढ्दै गएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।

एसिडिटी भएकाले मासु र दूधजन्य खानेकुरा खान हुन्छ ?

एसिडिटी भएका व्यक्तिले मासुका परिकार नखानु उपयुक्त हुन्छ । मासुका परिकार पचाउन समय लाग्ने र पेटमा पनि धेरैबेरसम्म रहने भएकाले यसले फ्याट र एसिड बढाउँछ । खानैपरेमा सन्तुलन मिलाएर मात्रै खानुपर्छ ।

यसैगरी दूधभन्दा दही खानु राम्रो हुन्छ । दहीमा ल्याक्टो ब्याक्टेरिया हुन्छ, जसले अमिलोलाई काट्न मद्दत गर्छ । एसिडिटी भएको व्यक्तिले दही, दूध, भात खान मिल्छ तर दूधको चिया भने खान मिल्दैन । दूधको चियामा चिल्लोको मात्रा बढी हुने भएकाले यसको सट्टा कालो चिया, ग्रिन टी खानु राम्रो हुन्छ ।

यी कुरा खानुहुँदैन

एसिडिटीको समस्या भएकाले दूधको चिया, जंकफुड, बिस्कुट, चाउचाउ, चिप्स, तारेको, भुटेको, पोलेको खानेकुरा खानुहुँदैन । यसैगरी मसालेदार खानेकुरा, चिसो पेय, सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन । साथै मासु वा बोसोजन्य खानेकुरा कम सेवन गर्ने गर्दा एसिडिटीबाट जोगिन सकिन्छ । मासुजन्य खानेकुरा खानै परे पनि सन्तुलित मात्रामा उसिनेर मात्र खाँदा प्रभावकारी हुन्छ ।

अर्गानिक सागसब्जी, गेडागुडी, फलफूल, वनस्पति तेल एसिडिटी नियन्त्रणका लागि लाभदायक हुन्छन् ।

एसिडिटी हुनै नदिन के गर्ने ?

एकैचोटि भरपेट खाना नखाई थोरै-थोरै गरेर खाने, पेट खाली नराख्ने, पानी बढी पिउने, तनावबाट टाढा रहने, समयमा सुत्ने र समयमा उठ्ने, बिहान चिया खानुअघि पानी खाने गरे एसिडिटीको समस्या आउँदैन ।

(डा. खड्का पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । उनी विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन् । खड्कासँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित) अनलाइन खबरबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्