काठमाडौंमा घातक प्रदूषणः छालामा पनि पर्न सक्छ गम्भीर असर, यसरी जोगिनुस् – Janadesh Daily | ePaper

काठमाडौंमा घातक प्रदूषणः छालामा पनि पर्न सक्छ गम्भीर असर, यसरी जोगिनुस्


जनादेश हेल्थ डेस्क।
पछिल्लो साता काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । प्रदूषणको मात्रा २०८ यूएस एक्यूआई पुगेसँगै आइतबार काठमाडौं विश्वका ६० प्रदूषित सहरमध्ये एक नम्बरमा सूचीकृत भएको थियो । यसको असर श्वासप्रश्वास, मुटु र छाला स्वास्थ्यमा पनि परेको देखिन्छ । इन्धनजन्य सवारी साधनबाट निस्कने कार्बन मनोअक्साइडसहित वायु प्रदूषण गराउने सल्फरडाइअक्साइड, नाइट्रोजन र हावामा भएको धुलोको कणले पनि छालामा विभिन्न समस्या बढाइरहेको छ ।

त्यस्तै, वायु प्रदूषणको असरस्वरुप ओजन तह पातलिँदै जाँदा त्यसबाट आउने पराबैजनी किरणले छालामा क्यान्सरसम्मको समस्या निम्त्याइरहेको पाटन अस्पतालका छालारोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् । पछिल्लो समय घरबाहिर हिँड्ने र बाहिरी वातावरणमा काम गर्ने व्यक्तिहरु उमेरभन्दा चाँडै चाउरीपना, छालामा दाग, धब्बा, पोतोजस्ता समस्या लिएर आउने गरेको डा. पौडेलको अनुभव छ । उनका अनुसार वायु प्रदूषणका कारण मानिसको छालामा पसिना निस्कने ग्रन्थी बन्द गर्नाले छाला ‘ओइली’ हुने र विभिन्न समस्याहरु देखिने गरेका छन् । त्यस्तै, प्रदूषणले बाहिरी छालामात्र नभएर छालाको तीनवटै तहलाई असर पुर्‍याइरहेको छ ।

घरेलु धुवाँले पनि छालामा समस्या निम्त्याउँछ
दाउरा बाल्दा, फोहोर जलाउँदा वा चुरोटबाट निस्कने बिषाक्त धुवाँले छाला, कपाल र नङ समेतलाई असर पुर्‍याइरहेको डा. पौडेल बताउँछन् । घरेलु धुवाँले ‘डार्क सर्कल’ बढाउँदै लैजाने, कपाल सुख्खा हुने, नङ, छालाको बाथरोग, बाहिर देखिने अंगहरुमा दाग, धब्बा र छालाको एलर्जी गराउँछ । वायु प्रदूषणको असरले सेतो छाला भएका व्यक्तिहरुलाई छिटो र बढी असर पुर्‍याउने अध्ययनहरुले देखाएका छन् ।

कसरी जोगाउने छाला ?
वायु प्रदूषण कम गर्नु नै स्वस्थ रहने सबैभन्दा प्रभावकारी उपाय हो । विशेषगरी छालालाई जोगाउन सकेसम्म घरबाहिर ननिस्कने र निस्कनैपरे सुरक्षा कवच अपनाउन डा. पौडेल सुझाव दिन्छन् । दिउँसोको समयमा परावैजनी किरण बढी हावी हुने भएकाले बिहान र बेलुका घरबाहिरको काम गर्न सकिन्छ । त्यस्तै, घरबाहिर निस्कँदा पूरा बाउला भएको कपडा, क्याप, चस्मा, लगाउने, एसपीएफ ३० भन्दा बढी भएको सन्सक्रिम लगाउने र हाई ३० भन्दा बढी एसपीएफ लगाउने र सन्तुलित खानपानमा ध्यान दिन उनको सुझाव छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्