निषेधाज्ञापछि जनजीवन ठप्प – Janadesh Daily | ePaper

निषेधाज्ञापछि जनजीवन ठप्प


चितवन,

भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ ।

बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म महानगरभित्र १०० जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् ।

महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यहीँ रहने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्