एउटा भयानक समयको अन्त्यः संसारलाई बहुआयामिक क्षति दिएर विदा भयो कोरोना महामारी – Janadesh Daily | ePaper

एउटा भयानक समयको अन्त्यः संसारलाई बहुआयामिक क्षति दिएर विदा भयो कोरोना महामारी


जनादेश हेल्थ डेस्क।

पहिलोपटक सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा कोरोना भाइरसको पुष्टि भएको थियो । त्यसपछि बिस्तारै विभिन्न देशमा फैलिँदै गएको कोरोना संक्रमण नेपालमा पहिलोपटक २०७६ साल माघ १० (२०२० जनवरी २४) गते पुष्टि भएको थियो । यो बेला संक्रमित चीनबाट नेपाल फर्किएका थिए । त्यसको केही महिनापछि संक्रमण बढेको थियो । संक्रमितको संख्या बढे पनि मृत्यु भने धेरै कमको भएको थियो ।

तर, दोस्रो लहरमा कोरोना भाइरसको ‘डेल्टा’ भेरियन्ट देखियो । यो लहरमा पहिलो लहरभन्दा बढी संक्रमण फैलिएको थियो भने मानवीय क्षति पनि धेरै भएको थियो । धेरै बिरामीले अस्पताल पुगे पनि बेड तथा अक्सिजन अभावकै कारण ज्यान गुमाए । अस्पतालको संरचना कोरोना भाइरसको उपचारका लागि तयार पारिएको थिएन, यो लहरमा ।

त्यस्तै, तेस्रो लहरमा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएको थियो । पहिलोभन्दा दोस्रो लहर बढी संक्रामक देखियो भने दोस्रोभन्दा तेस्रो लहर अझ बढी संक्रामक देखियो । बढी संक्रामक भए पनि तेस्रो लहरमा दोस्रो लहरको तुलनामा मानवीय क्षति कम भयो ।

तेस्रो लहरमा नेपालमा एकै दिन ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो । यो कोरोना सुरु भएदेखि अहिलेसम्मकै उच्च हो ।

महामारीको अन्त्य किन ?

अहिले कोरोना भाइरसको चाप घटिसकेको छ । हुन त धेरै देशहरूले यसका लागि संरचनाहरू पनि बनाइसकेका छन् । अब कोरोनाका बारेमा प्राविधिक रूपमा विज्ञहरूलाई धेरै ज्ञान भइसकेको छ । योभन्दा पनि महत्त्वपूर्ण पाटो खोप रहेको छ । विज्ञहरूले एक हदसम्म प्रभावकारी भएको खोप तयार पारिसकेका छन् ।

यी सबै कुरालाई मध्यनजर गर्दै डब्लूएचओले अब विश्वव्यापी महामारीको स्थिति कायम राख्न जरुरी छैन भनेर घोषणा गरेको बताउँछन्, जनस्वास्थ्यविद् डा. शरद वन्त ।

उनी भन्छन्, ‘तर, यसको मतलब यो पटक्कै होइन कि यो रोगबाट हामीलाई डर छैन । पहिला हामी ‘प्याण्डामिक’ भन्छौँ । त्यसपछि ‘इपिडेमिक’ भन्छौँ । अहिले आएर यसलाई ‘एण्डमिक’ भन्छौँ । एण्डमिक भनेपछि अब यो रोग हाम्रो समुदायमा बसिसकेको छ । र, यो रोग हाम्रो समुदायमा बाह्रै महिना रहिरहन्छ ।’


त्यसैले रोकथामका बारेमा सतर्कता अपनाउन अझै पनि जरुरी देखिने विज्ञहरू बताउँछन् । ‘कहीँकतै हामीले कमजोरी देखायौँ । लापर्वाही भयो भने फेरि पनि महामारीको रूपमा आउन सक्छ भन्ने संकेत यसले दिन्छ’, डा. वन्त भन्छन्, ‘अरु रोगहरू जस्तै; झाडापखाला, हैजामा लापर्वाही गर्‍यौँ भने पनि यी रोगले महामारीको रूप लिन सक्छन् । हामीले यो पटकपटक देखेका छौँ, कैयौँपटक हैजाले महामारीको रूप लिएको छ ।’

उसो त गएको वर्षको कुरा गर्ने हो भने हामीले डेंगीको महामारी भागिसकेका छौँ । यस्ता रोगहरू भइरहने भएका कारण कोभिड–१९ को पनि महामारीका सम्भावनाहरू अझै पनि रहिरहने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘त्यसैले हामीले सुरक्षाका विधिहरू अपनाउन छोड्नु हुँदैन । सही तरिकाले जनस्वास्थ्यका मापदण्डको पालन गर्न जरुरी छ ।’

डा. वन्तका अनुसार हामीले विश्वव्यापी महामारीको रूपबाट पार पाइसकेका छौँ । यो सन्देश डब्लूएचओले दिएको हो ।

‘र, फेरि पनि दोहोर्‍याउन चाहन्छु– यसको अर्थ यो होइन कि हामी कोभिडबाट अब डराउनु पर्दैन,’ उनी भन्छन्, ‘यसका जोखिमहरू अझै पनि जस्ताको त्यस्तै छन् । फेरि पनि महामारीको रूपमा आउन सक्ने सम्भावना रहन्छ नै, यदि हामीले लापर्वाही गर्‍यौँ भने ।’

तर, अहिले हामीसँग अनुभव धेरै छ । धेरै ज्ञान भइसकेको छ । प्रविधि छ । संरचना छ । त्यस कारणले यसलाई विश्वव्यापी महामारीको तहमा नै राखिरहन जरुरी छैन भन्ने सन्देश डब्लूएचओले दिएको हो ।

किन गरिएको थियो महामारी घोषणा ?

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वमै पहिलोपटक देखिएको रोग थियो । यो रोगका बारेमा तथ्यहरू बाहिरिँदै गर्दा संक्रमण दिन प्रतिदिन बढ्न थालेको थियो । तर, यसका बारेमा धेरै कुरा थाहा थिएन ।

यसको उपचार र औषधिका बारेमा केही जानकारी थिएन । र, यसको खोपका बारेमा पनि विश्व अनभिज्ञ नै थियो ।सुरुका दिनहरूमा कुनै पनि चीजहरू उपलब्ध थिएनन् । त्यसैले यसलाई उचित ढंगबाट व्यवस्थापन गर्न सकिएन भने संक्रमणले ठूलो रूप लिन सक्ने भन्दै डब्लूएचओले सतर्कताको सूचक भनेर विश्वव्यापी महामारीको घोषणा गरेको थियो ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि ११ मार्च २०२० मा डब्लूएचओले कोभिडलाई महामारीको रूपमा घोषणा गरेको थियो ।

‘विश्वव्यापी महामारीको घोषणासँगै त्यसका लागि केही निर्देशिका पनि तयार गरिएको हुन्छ । त्यो रोगलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा हुन्छ,’ डा. वन्त भन्छन् ।

विश्वव्यापी महामारीको घोषणापछि त्यसको अन्त्य पनि गर्नुपर्छ । र, डब्लूएचओले त्यो गरिसकेको छ । महामारीको अन्त्य भएको घोषणा गरे पनि डब्लूएचओ कोरोनासम्बन्धी तथ्याङ्कहरू भने सार्वजनिक गरिरहन्छ ।

सधैँ रहिरहन्छ, कोरोना ?

डा. वन्त भन्छन्, ‘धेरै देशहरूमा संक्रमण भयो भने त्यसलाई हामी ‘प्यान्डामिक’ भन्छौँ । यदि कुनै रोग पहिला देखिएकै थिएन, तर केही संख्यामा उक्त रोग देखा पर्‍यो भने त्यसलाई ‘इपिडेमिक’ भनिन्छ । तर, ‘एन्डमिक’ भनेको हरेक वर्षहरूमा थोरैथोरै संख्यामा देखिइराख्नु हो ।’

जस्तो; हैजा नेपालमा देखिइरहन्छ । तर, कुनै समय यसको संक्रमणदर ह्वात्तै बढेर आयो भने त्यसलाई ‘इपिडेमिक’ अर्थात् महामारी भन्छौँ ।

उनका अनुसार अहिले कोभिड पनि ‘एन्डमिक’ भएको छ । यो भन्नुको मतलब आमरोगसरह हाम्रो समुदायमा बसिसकेको छ । बाह्रै महिना देखिन्छ । यो एन्डमिक भएको हुँदा हामीले अवसर दियौँ भने कुनै पनि बेला यसले महामारीको रूप लिन सक्छ ।

डा. वन्त भन्छन्, ‘किनभने संक्रमणको स्रोत समुदायमा बसिरहेको छ । तर, विविध कारणले हाम्रा स्रोत, हाम्रा अभ्यासले गर्दा हिजोको जस्तो महामारी छैन ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अरु रोगजस्तै कोरोना पनि हाम्रो समाजमा स्थापित भइसकेको बताउँछन् । उनी भन्छन्, ‘अरु रोगजस्तै यो निर्क्योल भइसकेको छैन । उन्मूलन भएर गएको पनि छैन । र, अहिलेको स्थितिमा महामारीको रूपमा फैलिएको पनि छैन ।’

कुनै देशमा महामारी फैलियो भने उक्त देशले त्यसको व्यवस्थापन गर्नैपर्छ । डब्लूएचओले महामारी सकियो, अब हामी सुरक्षित छौँ पनि भनेको छैन ।

‘विश्वव्यापी रूपमा भएको महामारीबाट हामीले मुक्ति पायौँ मात्रै भन्न खोजेको हो’, डा. वन्तले थपे, ‘अहिले विश्वव्यापी रूपमा महामारी छैन । तर, रोग बाँकी छ । यो उन्मूलन भएको होइन । विश्वव्यापी रूपमा रहेक व्यक्ति, समुदाय, देशले आ–आफ्नो तर्फबाट जसरी सरुवा रोगको व्यवस्थापन गर्नुपर्छ, त्यसरी नै कोरोनाको पनि व्यवस्थापन गरिरहनुपर्छ ।’

डा. वन्त भन्छन्, ‘त्यस कारण डब्लूएचओले महामारी सकियो भनेर घोषणा गरे पनि लापर्वाही गर्नु हुन्न, कुनै पनि बेला महामारीको रूपमा फैलिन सक्छ भनेर सचेत गराएकै छ । तर, हिजोको जस्तो हामीले विश्वव्यापी रूपमै बन्दाबन्दी नै गरेर बस्नुपर्ने अवस्था भने छैन । यही सन्देश डब्लूएचओले दिएको छ ।’

नेपालमा अहिलेको स्थिति

नेपालमा अहिले संक्रमण दर शून्य भइसकेको छैन । केही संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेकै छ । डब्लूएचओले विश्वव्यापी महामारी अन्त्यको घोषणा गर्दैगर्दा नेपालले अन्त्यको घोषणा गर्न नपर्ने सहप्रवक्ता डा. अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘हामीले नेपालमा आपत्कालीन अवस्था घोषणा गरेका छैनौँ । जनस्वास्थ्य आपत्काल घोषणा गर्ने भनेका थियौँ, तर गरेनौँ । त्यसैले हामीले केही पनि गर्नुपर्दैन । डब्लूएचओले विश्वव्यापी महामारी घोषण गरेको थियो । त्यसैले उसैले महामारीको अन्त्य भएको पनि घोषणा गर्‍यो ।’

कोभिडको संक्रमण व्यापक रूपमा फैलिँदै गर्दा सरकारले आपत्कालीन घोषणा गर्ने योजना बनाएको थियो । त्यसलाई लागू भने गरिएन । सरकारले नेपालमा कोभिडका लागि छुट्टै केही पनि घोषणा नगरेका कारण सामान्य रूपमा अगाडि बढ्ने अधिकारी बताउँछन् । तर, सरकारले लामो समयसम्म लकडाउन भने गरेको थियो ।

डा. अधिकारी भन्छन्, ‘अहिले हामीले छुट्टै केही गर्नु पर्दैन । हामीकहाँ भइरहेका निगरानी, तथ्याङ्क नियमित रूपमै सार्वजनिक गर्छौं । उपचार व्यवस्थापन नियमित रूपमै चल्छ । तर, पहिलाजस्तो उपचार शुल्क निलिने भन्ने नियम बनाएको थियो, अहिले यो बन्द भइसकेको छ ।’

पछिल्लो समय मन्त्रालयले संक्रमणका केसहरूलाई नजिकबाट नियालिरहेको उनले बताए ।

कोभिडको उपचार सेवा नियमित

संक्रमण बढ्दै गर्दा कोरोनाकै लागि भनेर छुट्टै अस्पताल, छुट्टै शय्या बनाइएको थियो । अब सोही ठाउँबाट नियमित सेवा सञ्चालन गरिने डा. अधिकारीले बताए ।

उनले भने, ‘कोभिडकै लागि भनेर छुट्टै डेडिकेटेड अस्पताल बनाइएको हकमा त्यस्ता अस्पताललाई नियमित अन्य सरुवा रोग अस्पतालसँग जोडिएर सेवा प्रवाह गर्ने गरी योजना अगाडि बढाइएको छ । कोभिडको सिकाइसँगसँगै हरेक स्थानीय तहमा अस्पताल बनाउने भन्ने छ । अब बन्ने आधारभूत अस्पतालहरूका रूपमा ती अस्पतालहरू प्रयोग हुने गरी योजना अगाडि बढ्छ ।’


कोरोनाको उपचारका लागि तोकिएका अस्पतालहरूले नियमित रूपमा अरु स्वास्थ्य सेवा पनि प्रवाह गर्ने भनेर काम सुरु भइसकेको उनी बताउँछन् ।

त्यस्तै, देशभर रहेका होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर कोभिडको सिकाइसँगै भविष्यमा क्वारेन्टाइन, आइसोलेसनजस्ता ठूला सार्वजनिकस्थलहरू चाहिन सक्ने भएकाले त्यही योजनाअनुसार बनाइएको डा. अधिकारीले जानकारी गराए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्