‘अक्सिजन बैंक’ स्थापना – Janadesh Daily | ePaper

‘अक्सिजन बैंक’ स्थापना


अच्युत रेग्मी

काठमाडौँ । आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो ।

स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक गर्भनर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई आत्मासात् गरेको लाइन्स क्लबमा हाल नेपालभर एक हजार ५०० भन्दा बढी क्लब रहेका छन् । देशभरका एक हजार ५०० क्लबमध्ये एक क्लब लाइन्स क्लब अफ काठमाडौँ समर्पणमा ६० सदस्य आबद्ध छन् ।

लायन्स क्लब समर्पणका अध्यक्ष वंशल गम्भीर बिरामी परेका कोरोना सङ्क्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताउनुहुन्छ । “घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैंक’ स्थापना गरेका हौँ”, उहाँ भन्नुहुन्छ । घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैंकमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ ।

अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैंकको स्थापनाले धेरै राहतको अनुभूति भएको बताइएको छ । लायन्स क्लब समर्पणले सानो ५० र ठूलो १५० सिलिन्डर बिरामीका लागि राखेको छ । सानो सिलिन्डरले चार घण्टासम्म र ठूलो सिलिन्डरले २० घण्टासम्म अक्सिजन दिन्छ ।

यस बैंकले अक्सिजन निःशुल्क प्रदान गर्ने भएकाले सिलिन्डर भने अक्सिजन सकिनेबित्तिकै अक्सिजन बैंकमा फिर्ता गर्नुपर्ने हुन्छ । माग बढ्दै जाँदा सिलिन्डरको क्षमतासमेत बढाउँदै लैजाने अध्यक्ष वंशलको भनाइ छ । आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

लाइन्स क्लब वी वानका ड्रिष्टिक गभर्नर कोरोना सङ्क्रमणका कारण देशमा समस्या परेको बेलामा सामाजिक सङ्घसंस्थाले आ–आफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउनुहुन्छ । अक्सिजन बैंकका व्यवस्थापक एवम् लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्मा औषधि किन्न नसक्ने विपन्न बिरामीलाई समेत लायन्स क्लब समपर्णले औषधि किन्नलाई पनि सहयोग गर्ने बताउनुहुन्छ ।

तीस लाख खर्च गरेर उक्त बैंक स्थापना गरिएको हो । कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौँ समर्पणले जनाएको छ ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्