सुँड काटिएको चञ्चलकलीले दाना खान थाल्यो – Janadesh Daily | ePaper

सुँड काटिएको चञ्चलकलीले दाना खान थाल्यो


पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए ।
सुँड काटिएको एक महिनापछि पानी आफँै खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिकहरुले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उहाँले भन्नुभयो, “हात्तीलाई काममा फर्काउन सकिने प्राविधिकको सल्लाह भए पनि अझै केही दिन आराम गराउने योजनामा छु ।”
हात्तीले अहिले पानीले आफैँ नुहाउने, आफ्नो शरीरलाई चाहिने बालुवा आफँै छर्कने, जङ्गलमा गएर हाँगा लुछ्ने, पात टिप्ने लगायतका काम गर्न थालेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र माउतेको अथक प्रयासले हात्ती अहिलेको अवस्थामा आउन सकेको हो । उहाँले भन्नुभयो, “हात्तीको सुँडले पैसाको सिक्का टिप्न भने अहिले पनि सकेको छैन ।”
हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजालसहितको टोली खटिएको छ । हात्तीलाई आक्रमण गर्ने पक्राउ पर्न सकेका छैनन् । हात्तीलाई यो ढङ्गको आक्रमण पहिलो पटक भएको हो । रातको समयमा अज्ञात व्यक्तिले हात्तीको सुँड काटेर भागेको बताइएको छ । सुँड काट्नेको खोजी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरिरहेको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्